विज्ञान, प्रविधिको उन्नत समाजमा समेत महिला, लैंगिक अल्पसंख्यकले विभेदको सामना गरिरहनुपरेको बताउँछन्, ‘जेन्डर स्टडिज’ मा स्नातकोत्तर गरिरहेका करुणा, सुस्मिता र सन्जोग । भन्छन्, ‘विभेदकारी सोचमा परिवर्तन ल्याउन सैद्धान्तिक र व्यावहारिक ज्ञान आवश्यक छ ।’
काठमाडौँ — ‘पोथी बासेको राम्रो हुँदैन’, ‘छोरीका भाग्य भान्सामै’, ‘छोराका लागि सम्पत्ति जोड्नू, छोरीका लागि दाइजो’ । बोलीचालीमा प्रचलित यस्ता उखान–टुक्काले समाजमा गहिरो रूपमा रहेको लैंगिक विभेदलाई उजागर गर्छ । यस्ता भनाइले महिलालाई परम्परागत भूमिकामा सीमित गर्ने र पुरुषप्रधान सोचलाई बलियो बनाउने काम गर्छ । यद्यपि, नयाँ पुस्ताले यी सोच–व्यवहारलाई चुनौती दिन थालेका छन् ।
त्रिभुवन विद्यालयबाट ‘जेन्डर स्टडिज’मा स्नातकोत्तर गरिरहेकी करुणा अधिकारीले बाल्यकालदेखि नै लैंगिक विभेद अनुभव गरेकी थिइन् । ‘मलाई बास्केटबल खेल्न मन पर्थ्यो तर नाच्न बाध्य बनाइन्थ्यो । समाजले महिलालाई परम्परागत भूमिकामै सीमित गर्न खोज्छ । मेरो बाबाआमा दुवै अफिस जानुहुन्थ्यो, तर घर आएपछि बाबा आराम गर्नुहुन्थ्यो, आमा घरधन्दामा लाग्नुहुन्थ्यो,’ उनी थप्छिन्, ‘धर्ममा समेत विभेदले जरा गाडेर बसेको छ । स्वस्थानी व्रत कथामा महिलालाई गौण र पुरुषलाई शक्तिशाली देखाइएको छ । यस्तो शिक्षा परिवर्तन गर्न पाठ्यक्रममै सुधार गर्नु आवश्यक छ ।’
त्रिविबाटै ‘जेन्डर स्टडिज’मा स्नातकोत्तर गरिरहेकी सुस्मितालाई पनि धर्म, संस्कृति र बोलीचालीमा लैंगिक विभेद गहिरो रूपमा जरा गाडेर बसेको लाग्छ । भन्छिन्, ‘यस्ता उखान–टुक्काले महिलाको निर्णय क्षमता र अधिकारमाथि प्रश्न उठाउँछ ।’ उनले पेसागत जीवनमा लैंगिक विभेद झनै गहिरो रूपमा अनुभव गरेको बताइन् ।
‘म माथिल्लो पदमा भए पनि मेरो काम र तलबमा ठूलो असमानता थियो । पुरुष सहकर्मीले समान कामका लागि मभन्दा धेरै तलब पाउँथे । त्यसबारेमा प्रश्न गर्दा मेरो अनुभवको अभाव देखाइयो,’ उनले भनिन् ।
त्रिविबाट ‘जेन्डर स्टडिज’मा स्नातकोत्तर तहमा अध्ययनरत अर्का सन्जोग ठकुरी थप्छन्, ‘सबै धर्मको मुख्य देवता पुरुष नै छन् । पुरुषलाई यतिधेरै शक्तिशाली मान्ने त्यो बेलाको समाज कस्तो थियो होला भन्ने कुराले मलाई सोच्न बाध्य बनाउँछ । महिला देवी भने गोरो, सुन्दर र मेकअपमा सजिएका हुनुपर्ने धारणा छ । एउटै देवी कालीको छवि मात्र फरक छ, तर उनलाई पनि भूत–प्रेतसँग जोडेर हेर्ने गरिन्छ ।’ सन्जोग नवनियुक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैको एक अभिव्यक्तिबाट प्रभावित छन् ।
‘नवनियुक्त अमेरिकी राष्ट्रपतिले अमेरिकामा राष्ट्रपति महिला वा पुरुष मात्र हुन्छन् भन्ने अभिव्यक्ति दिएपछि सबैले ताली पिटिरहेको देख्दा मलाई बच्चा बेलाको सम्झना आयो,’ उनी थप्छन्, ‘हामीलाई पढेर पैसा कमाउनुपर्छ भनेर सिकाइयो । तर पैसा कमाउनु र ज्ञान बढाउनु फरक कुरा हुन् । पढाइले ज्ञानको दायरा फराकिलो पार्छ र चेतनाको स्तर बढाउँछ । राष्ट्रपतिको यस्तो अभिव्यक्तिले नेपालमा पनि असर पार्न सक्छ, विशेषगरी फन्डिङका मामिलामा ।’ उनका अनुसार, यस्तो विचारले समाजमा सिंगो सोचको परिवर्तन आवश्यक रहेको देखाउँछ ।
करुणाले यो ट्रम्पको अभिव्यक्तिलाई गम्भीर समस्याका रूपमा लिएकी छन् । ‘उक्त अभिव्यक्तिले एलजीबीटीक्यूप्लस समुदायलाई पूर्ण रूपमा बेवास्ता गरेको छ । यो स्तरको व्यक्तिबाट यस्तो अभिव्यक्ति आउनु निकै विडम्बना हो । जब नीति निर्माणमा यस्तो सोच समावेश हुन्छ, यसको असर नेपालजस्ता देशहरूमा पनि पर्छ,’ उनले भनिन् । उनी महिला र पुरुष मात्र हुने समाजको परिभाषा झूटो भएको तर्क गर्छिन् । यस्ता अभिव्यक्तिले समाजका अन्य समुदायहरूको अस्तित्व र पहिचानलाई नकार्ने प्रयास गरेको भन्दै उनी यसको विश्वव्यापी प्रभाव हुन सक्ने मान्छिन् ।
सुस्मिताले पनि ट्रम्पको उक्त अभिव्यक्तिप्रति गहिरो असन्तुष्टि व्यक्त गरिन् । ‘अमेरिकी राष्ट्रपतिको भनाइले व्यक्तिगत रूपमा धेरैलाई प्रभावित गरेको छ । तर अझै अचम्मको कुरा त के भने, यस्तो विभेदकारी अभिव्यक्ति सुनेर उपस्थित सबैले ताली पिटिरहेका थिए । यो स्थितिले के भइरहेको छ भनेर सोच्न बाध्य बनाउँछ,’ उनले भनिन् । उनले यस्तो विचारले विश्वव्यापी रूपमा असर पार्ने बताइन् । ‘एलजीबीटीक्यू समुदायमाथि मात्र होइन, विश्वभरका समाजमा विभेदकारी प्रभाव पार्छ । नेपालजस्ता देशहरूमा समेत यो सोचले विभेदकारी प्रवृत्तिलाई मलजल गर्छ,’ सुस्मिताले भनिन् ।
करुणाका अनुसार हाम्रो पाठ्यक्रममा ‘बाबा अफिसबाट आउनुभयो, ममी खाना पकाउँदै हुनुहुन्छ’ भन्ने जस्ता उदाहरण अझै छन् । यसलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उनलाई लागिरहन्छ । शिक्षण पद्धतिमा नै लैंगिक समानताको चेतना समावेश गर्नुपर्ने जिकिर गर्दै उनी भन्छिन्, ‘लैंगिक विभेदविरुद्ध शिक्षा दिनुपर्छ भनेर पाठ्यक्रममा उल्लेख छ, तर व्यवहारमा यो देखिँदैन । शिक्षकहरू स्वयं यो विषयमा सचेत देखिँदैनन् ।’ पाठ्यक्रममा के पढाउने भन्ने कुरा मात्रै पर्याप्त नभई कसरी पढाउने र व्यवहारमा लागू गर्ने भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण रहेको करुणा जिकिर गर्छिन् ।
महिला आरक्षणले अवसरको ढोका खोल्न सक्छ तर दीर्घकालीन परिवर्तनका लागि महिलालाई सक्षम बनाउनुपर्ने आवश्यकता छ । करुणा भन्छिन्, ‘अधिकांश महिलालाई पढ्न र अघि बढ्नका लागि धेरै कठिनाइ छ । कोटा प्रणालीले यी महिलालाई अवसर प्रदान गरेको छ ।’ उनी आरक्षणले केही महिलालाई अवसर दिलाए पनि यो स्थायी समाधान भने नभएको टिप्पणी गर्छिन् ।
‘पहिले त मलाई महिलाका लागि आरक्षण छुट्याइएको कुराले रिस उठ्थ्यो,’ सन्जोग भन्छन्, ‘तर पछि विस्तारै यसको सामाजिक, लैंगिक महत्त्व बुझ्न थालें । यदि सार्वजनिक यातायातदेखि सरकारी कार्यालयसम्ममा महिला आरक्षण नछुट्याइने हो भने वा वडास्तरीय चुनावमा पाँचमध्ये दुई जना महिला अनिवार्य हुनुपर्ने जस्ता प्रावधान नराखिएको भए महिलाहरू यी ठाउँमा सहजै पुग्नै नसक्ने रहेछन् ।’
नयाँ पुस्ताले लैंगिक विभेदविरुद्ध चेतना फैलाउन र परम्परागत सोच बदल्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । तर यसमा पाठ्यक्रम सुधार, सामाजिक चेतना र धार्मिक परम्पराहरूमा समावेशिताको आवश्यकता रहेको उनीहरू महसुस गर्छन् । समाजमा गहिरो परिवर्तन ल्याउन सैद्धान्तिक ज्ञान र व्यावहारिक कार्यान्वयन दुवै आवश्यक रहेको ‘जेन्डर स्टडिज’ का यी प्रतिनिधि पात्रहरू बताउँछन् ।
