तारागाउँ नेक्स्टका ग्यालरीका भित्तामा नारी आन्दोलनका हस्तक्षेपकारी विचार कलाका माध्यमबाट लिपिएका छन्, जसले आँखालाई शीतलता दिइरहँदा मनमस्तिष्कमा भने एउटा आगोको झिल्को सल्काइदिन्छ, साउथ एसियाका दस कलाकारका कला अनेक माध्यममा त्यहाँ देख्न पाइन्छ
काठमाडौँ — एउटा सेतो बिछ्यौना छ, खुट्टा लागे पनि दाग बस्लाजस्तो । अनि सुनौला ऐना, सुनौला सन्दुक र सुनौला भाँडाकुँडा । मानौं, त्यो कुनै दिव्यस्थल हो । एकैछिनमा आउँछिन् एउटी स्त्री, ढाकाको पछ्यौरी अनि ढाकाकै चौबन्दीमा । पक्कै नेपाली नारी हुनुपर्छ ।
कतै तपाईं, ऊ, म या हामी नै त होइन ? खैर, उनलाई ल्याइन्छ र बिछ्यौनामा बसालिन्छ । सुनौला वस्तुहरू अब उनका हातैमा थमाइन्छ । उनले जसै समाउँछिन् ती सुनौला सन्दुकहरूलाई सुनौलो सिलिङ र भित्ताहरूले मानौं उनलाई निलिदिन्छ । उनी अब एउटा गिफ्ट बक्समा मानौं प्याक भइसकिन् ।
तर, वास्तविकता बेग्लै छ । उनी खासमा त्यो गिफ्ट बक्सभित्र प्याकप्याक भइसकिन् । तर, खुसीको कुरा बडो संघर्ष गरेर उनी त्यस बन्धनबाट बाहिर निस्किन्छिन् । अघि भर्खर थमाइएका सुनौला चिजबिजप्रति अब उनलाई कुनै मोह छैन । र, जसै मोह भंग हुन्छ उनी मुक्त हुन्छिन् ।
उनी अब स्वतन्त्र हुन्छिन्, स्वाधीन हुन्छिन् । अब भित्ताभित्र कैद होइन उनी क्षितिजपारिदेखि बत्तिँदै आएको हावासँग खेल्छिन्, सिलिङले अब उनलाई थिच्दैन, खुला आकाशमुनि खाली खुट्टा मनमौजी हिँड्छिन् ।
काठमाडौंको बौद्धस्थित तारागाउँ नेक्स्टमा अश्मिना रञ्जितको पफर्मेन्स आर्टका दृश्य हुन् यी । साउथ एसियाका दस कलाकारका कला अनेक माध्यममा त्यहाँ देख्न पाइन्छ । माध्यम फरक भए पनि, सन्देश उही– परिवर्तनका लागि नारी विद्रोह । तारागाउँ सांस्कृतिक केन्द्रले सराफ फाउन्डेसनको सहकार्यमा बृहत् कला प्रदर्शनी आयोजना गरेको हो । शनिबार सुरु भएको प्रदर्शनी दुई दिनसम्म चल्नेछ ।
ग्यालरीको एउटा हलमा झन्डै तपाईं जत्रै एउटा ठूलो हुप्सियो छ । त्यस हुप्सियोमा उनिएका छन् अन्य अलि साना हुप्सियो । यस्तो लाग्छ ती हुप्सियोहरू वास्तवमा हुप्सियो होइनन् बरु आमाहरू हुन्, छोरीहरू हुन् । दिदी हुन्, बहिनीहरू हुन् । तायबा बेगम लिपिको यस इन्स्टलेसन आर्टले दर्शकलाई सोच्न बाध्य गराउँछ ।
ठूलो हुप्सियोले अब साना हुप्सियोहरूलाई मुक्त गर्ने बेला भएको त होइन ? उनकै गार्ल्यान्ड अफ वेड्डिङ शीर्षकको एउटा सुन्दर गहनाले विवाहदेखि एउटा डर पैदा गराइदिन्छ विवाह, सौन्दर्य र डरको सम्बन्ध के हो ? मान्छे गम नखाइरहन सक्दैन ।
मिथु सेनका आँसुका फुटेजहरू हेरिरहँदा तपाईंलाई आफू बलियो हुँदै गइरहेको महसुस हुन सक्छ । श्रीलंकाकी कलाकार अनोली पेरेराको खुला केशका तस्बिरहरूबाट एउटा आन्दोलनको आवाज सुनिन्छ । भारतकी अनिता दुवेका आँखाहरूले प्रश्न गर्छन् ।
ईश्वरका आँखाहरू पूजा कोठामै मात्र किन टाँस्नुपर्ने ? विधाता केसीका राता भित्ताहरूले लैंगिक समानताका पक्षमा वकालत गर्छन् । जे होस्, तारागाउँ नेक्स्टका ग्यालरीका भित्ताहरूहरूमा नारी आन्दोलनका हस्तक्षेपकारी विचारहरू कलाका माध्यमबाट लिपिएका छन्, जसले आँखालाई शीतलता दिइरहँदा मनमस्तिष्कमा भने एउटा आगोको झिल्को सल्काइदिन्छ ।
