२०७५ मा सगरमाथाको सफल आरोहण गरेका प्रकाशले २०८० जेठमा युरोपको माउन्ट एलब्रस र कात्तिक १४ मा अफ्रिकाको किलिमन्जारो चढे, सातै महादेशका सातै अग्ला हिमाल चढ्ने अभियानमा लागेका उनी यतिबेला दक्षिण अमेरिकाको हिमाल अकोन्कागुआ आरोहणको तयारीमा जुटेका छन्
काठमाडौँ — विश्वमा बढ्दै गइरहेको तापक्रम र जलवायु परिवर्तनको नारा बोकेर आरोही प्रकाशराज पाण्डे सात महादेशका सातै अग्ला हिमाल चुम्ने अभियानमा छन् ।
सोही क्रममा ३४ वर्षीय आरोही पाण्डे दक्षिण अमेरिकाको सबैभन्दा अग्लो हिमाल अकोन्कागुआ आरोहणका लागि मंगलबार त्यसतर्फ प्रस्थान गर्दै छन् । ‘अहिले जलवायु परिवर्तनको ठूलो असर छ, त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर स्वअध्ययनमा छु,’ हिमाल आरोहण गर्नुको कारण खुलाउँदै उनले भने, ‘जलवायु परिवर्तनलाई पूर्ण रूपमा रोक्न नसकिएला तर कसरी नियन्त्रण गर्न सकिन्छ भनेर पुराना आरोहीसँग पनि सोधखोज गरिरहेको छु । यही नारा बोकेर हिमाल आरोहणमा छु ।’ उनी आगामी माघ २२ मा ६९६२ मिटर उचाइको अकोन्कागुआको शिखर चुम्ने लक्ष्यसहित अघि बढेका छन् । यो उनको ‘सेभेन समिट’ को चौथो आरोहण हुनेछ ।
रामेछापमा जन्मिएका पाण्डेले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । ललितपुरमा बस्ने उनको परिवारमा आमा, बुबा, पाँच दाजुभाइ र एक बहिनी छन् । उनी साइँलो हुन् । पाण्डेलाई सानैदेखि केही फरक गर्ने हुटहुटी भइरहन्थ्यो । भन्छन्, ‘परिवारको चाहना सेनामा भर्ती होस् भन्ने थियो । तर मलाई बच्चैदेखि केही फरक गर्ने सपना थियो, अहिले त्यही पूरा गर्दै छु ।’ ललितपुरको पुल्चोकस्थित डाँफे इंग्लिस स्कुलमा कक्षा ६ मा पढ्दा उनी स्काउटसँग जोडिएका थिए । स्काउटले साहसिक काम गर्छ भन्ने छाप उनमा त्यतिबेलै पर्यो ।
२०७२ को विनाशकारी भूकम्पपछि उनी हिमाल चढ्न लाङटाङ पुगेका थिए । त्यो क्रममा उनले लाङटाङमा उनले बाटोमा भूकम्पले पुर्याएको क्षति र दुर्घटनाहरू देखे । त्यो देख्दा उनलाई मृत्यु निश्चित भएकाले जीवनमा धेरै काम गर्न बाँकी रहेको गहिरोसँग अनुभव गरेको बताए । ‘लाङटाङको हिमाल चढ्दा धेरै दुःख र पीडा देखेको छु । पूरै तहसनहस भएको देखें,’ त्यो क्षण सम्झिँदै उनले भने, ‘केही घरबाहेक बाँकी थिएन । कसैले परिवार गुमाएको, कसैले छोराछोरी र श्रीमान् गुमाएको अवस्था थियो । त्यो अवस्था हेर्दाखेरि हामीले जीवन जसरी पनि जिउन सकिने रहेछ भन्ने भयो ।’
२०७३ असार १२ मा उनले पहिलो आरोहण बेडेन पावेल हिमालबाट गरे । ‘त्यो बेलासम्म पनि मलाई हिमाल चढ्दा जुत्ता कस्तो लगाउँछ, चस्मा कस्तो हुन्छ भन्नेसम्म थाहा थिएन,’ आरोहण अनुभव सुनाउँदै उनले भने, ‘चुनौतीहरू आउँछन् तर त्यसलाई कसरी सामना गर्ने भन्ने कुरा आरोहणकै क्रममा सिकें ।’ आरोहणका क्रममा बाटोमा दुर्घटनामा परेर बालबाल बाँचेका थिए । ‘माथिबाट अचानक हिउँको ढिस्को खस्यो । धन्न एक जना दाइले बचाउनुभयो,’ उनी भन्छन् । तर पनि उनको हिमाल आरोहणको यात्रा रोकिएन । २०७३ कात्तिक ६ मा सोलुखुम्बुको आइल्यान्ड शिखर अर्थात् इम्जा त्से हिमालको आरोहण गरे । ‘त्यस बेला आरोहणको पहिलो दिनमै मेरो जुत्ता फाट्यो । फालिएको एउटा जुत्ता भेटें र त्यसैले काम चलाएँ,’ उनी भन्छन्, ‘कसैले फालेको जुत्ताले मेरो ज्यान बच्यो ।’ २०७४ मा उनले बेडेन पावेल हिमाल फेरि चढे ।
२०७५ जेठ २ मा पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरे । सगरमाथा आरोहणका क्रममा भने उनले ११ जनाको टोलीको नेतृत्व गर्ने भइसकेका थिए । सगरमाथा आरोहण गर्दा पनि उनले मृत्युलाई नजिकबाट अनुभव गरे । जति बेला उनीहरू करिब ७ हजार मिटर उचाइमा रहेको क्याम्प–३ बाट क्याम्प–४ तर्फ जाँदै थिए । बाटैमा हिउँ आँधीले छोप्यो । वरिपरि केही देख्ने अवस्था थिएन । उनीहरू बीचबाटै क्याम्प–३ मा नै फर्किए । ‘त्यहाँ हामीले हिउँ पहिरोदेखि मृत्युसम्मलाई सामना गर्नुपर्यो,’ भन्छन्, ‘ठूलो हावाहुरी चलेर सबै टेन्ट उडायो । त्यो हाम्रो नियन्त्रणभन्दा बाहिर थियो ।’ त्यसको भोलिपल्टै उनी शिखरमा पुगे ।
त्यसपछि २०७५ कात्तिक २२ मा उनले ६८१२ मिटर अग्लो खुम्बुको अमा दब्लम र २०७६ असोज ९ मा ८१६३ मिटर अग्लो मनास्लु हिमाल चढे । झन्डै चार वर्षको अन्तरालपछि पाण्डेले २०८० जेठ २५ मा युरोपको अग्लो हिमाल माउन्ट एलब्रसको आरोहण गरे । ‘पूर्व र पश्चिम गरेर तीन पटक माउन्ट एलब्रस चढें,’ उनले भने । सोही वर्षको कात्तिक १४ मा अफ्रिकाको किलिमन्जारो चढे । ‘अब सेभेन समिटका रूपमा दक्षिण अमेरिकाको अग्लो हिमाल अकोन्कागुआ मेरो चौथो आरोहण हुनेछ,’ प्रकाश आफ्नो योजना सुनाउँछन्, ‘अबको एक वर्षमा सात महादेशका सातै अग्ला हिमाल चढिसकेपछि सगरमाथा पुनः एकचोटि चढेर मेरो यो अभियान समापन हुनेछ ।’ हिमाल चढ्न गाह्रो भए पनि आफ्नो तयारीले सहज हुने उनको भनाइ छ । ‘हिमाल चढेर जो बाँचेर झर्छ, ऊ सफल हो, सफलता त्यही हो,’ उनले भने । तर उनी हिमाल चढ्नमा भन्दा बढी यसका लागि खर्च जुटाउन गाह्रो हुने सुनाउँछन् ।
हिमाल चढ्न मानसिक र शारीरिक दुवै रूपले तयारी हुनुपर्ने पाण्डेको अनुभवले भन्छ । हाल अकोन्कागुआ हिमाल आरोहणको तयारीमा लागिरहेका उनले भने, ‘अहिले म शारीरिक व्यायाम र खानपानमा ध्यान दिइरहेको छु । समयले भ्याएसम्म पौडिने गर्छु,’ उनी भन्छन्, ‘मेरो हिमाल आरोहणको सन्देश भनेको युवाहरू कुलत र दुर्व्यसनीमा नलागून् भन्ने पनि हो ।’ सोही क्रममा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सफल आरोहणको शुभकामनासमेत प्रदान गरेका छन् । यसले आफूलाई अझ धेरै हौसला मिलेको पाण्डेले सुनाए ।
