थारू संगीतमा चलेकी लक्ष्मी

‘अब आफ्नै समुदायको गीत–संगीतलाई सिँगार्छु, यसमै रमाउँछु’

माघ ६, २०८१

भवानी भट्ट

Lakshmi played in Tharu music

कञ्चनपुर — टिकटकलगायतका ‘भिडियो क्लिप्स’ मा आधारित सामाजिक सञ्जालको व्यापकतासँगै ‘भाइरल’ बन्ने चक्करमा पछिल्लो पुस्ताका अधिकांश संगीतकर्मी लागिपरेको देखिन्छ । यस्तोमा आफ्ना समुदाय वा क्षेत्रका गीत, संगीतको जगेर्नामा लाग्ने सर्जक अल्पमतमा पर्दै गइरहेका छन् ।

 कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरकी२२ वर्षीया लक्ष्मी राना भने यतिबेला आफ्नै थारू समुदायका गीत/संगीतमा रमेकी छन् । 

सानैदेखि आफ्नो समुदायमा गाइने गीतहरू गुनगुनाउँदै हुर्किएकी उनले एसएलसी दिए लगत्तै गीत/संगीतको तीनमहिने प्रशिक्षण लिइन् । उच्च शिक्षाका लागि धनगढी झरेपछि पढ्दै, संगीत सिक्दै गीत गाउन पनि थालिन् ।

‘त्यतिबेला संगीत मेरा लागि कमाइभन्दा पनि सौख थियो, त्यही सौखले गीत गाउन मात्रै पाए पनि हुन्थ्यो भन्ने लाग्थ्यो,’ लक्ष्मी भन्छिन्, ‘गीत गाउनकै लागि रानाथारू बस्तीमा हुने हरेक कार्यक्रममा पुग्थें, आफूलाई गाउन दिन आग्रह पनि गर्थें ।’

यसरी गीत–संगीतमा लागेकी लक्ष्मी अहिले आफ्नो थारू समुदायमा युवा पुस्ताकी चल्तीकी गायक बनेकी छन् । यति मात्रै होइन, म्युजिक अध्ययन गर्ने उनी आफ्नो समुदायकी एक्ली हुन् । ‘हाम्रो समुदायमा नयाँ पुस्तामा गीत गाउने निकै कम छन्, फेरि पढेरै गीत गाउने त कोही छैनन्,’ उनले भनिन्, ‘नयाँ गायकहरू निकै कम छन्, अझ रेकर्ड नै गराउने त विरलै भेटिन्छन् ।’

जब लक्ष्मी म्युजिक कन्सर्टहरूमा गाउन थालिन्, त्यसपछि उनले गायक नै बन्ने योजना बनाइन् । धनगढीमा हुने हरेक कन्सर्टमा उनी गीत गाउँथिन् । उनकी मामा घरकी बज्यै पनि गायक नै थिइन् । अलि–अलि आमा पनि गीत नै गाउने गर्थिन् । ‘तर उहाँहरूले गाएका गीत कतै रेकर्ड छैनन्,’ उनी परिवारको सांगीतिक माहोलकै कारण आफू पनि गीत–संगीतमै तानिएको थप्छिन् । 

अलि–अलि गीत गाउन थालेपछि लक्ष्मीले ग्रामीण भेगमा पुगेर रानाथारूका परम्परागत भाकाहरू खोज्न थालिन् । विभिन्न चाडपर्व र मेलापातमा गाइने गीतका भाकाहरू संकलन गरिन् । ‘तीजमा गाउने गीत के हो ? होलीमा गाइने भाका कुन हो, यी सबै सिकें,’ उनले भनिन्, ‘विभिन्न पूजादेखि गाईभैंसी चराउन जाँदादेखि धान रोपाइँका बेला गाउने गीतहरू पनि संकलन गरें, कोठामा गाइने गीतहरू समुदायमा गाउन थालें ।’

लक्ष्मीले पद्मकन्या क्याम्पसबाट संगीतमा हालै स्नातक गरेकी छन् । त्यसअघि नै उनले काठमाडौंमै बसेर विभिन्न किसिमका गीतहरू रेकर्ड गरिसकेकी थिइन् । उनले हालसम्म रेकर्ड गरेका गीतहरू आफ्नै समुदायका छन् । उनले पछिल्लो पटक गाएको गीत ‘जवानीकी दोष’ ले निकै राम्रो प्रतिक्रिया पाइरहेको छ ।

यसले झनै हौसिएकी उनले हालसम्म रानाथारू समुदायका दुई दर्जनभन्दा बढी गीतहरू रेकर्ड गराइसकेकी छन् । माघीको मौसम भएकाले पनि यति बेला उनलाई विभिन्न कार्यक्रममा भ्याइनभ्याई छ । तर मेला, महोत्सवमा भने आफ्नो उपस्थिति निकै कम हुने उनी बताउँछिन् । थारू समुदायबाहेक अन्य समुदायले बाहिरबाटै कलाकार मगाउने तर स्थानीय कलाकारलाई वास्ता नगर्ने उनको गुनासो छ । 

दुई साताअघि मात्रै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको लोकगायन प्रतियोगितामा लक्ष्मी प्रथम भइन् । उनले २० हजार पुरस्कार पनि जितिन् । यसअघि ‘भ्वाइस अफ नेपाल सिजन २’ मा पनि उनी सहभागी भएकी थिइन् । गीत गाउनकै लागि देशका विभिन्न स्थानमा पुगिसकेकी छन् । मेला, महोत्सवमा अन्य गीतहरू गाए पनि रेकर्ड भने रानाथारू गीत मात्रै गराएकी छन् । ‘तेरी याद सतावे’ उनले ७ वर्षअघि रेकर्ड गरेको यही नै पहिलो गीत हो । 

अहिले उनी काठमाडौंका विभिन्न स्कुलमा म्युजिक नै पढाइरहेकी छन् । पढेर गीत गाउनु र नपढेर गाउनुमा धेरै फरक हुने उनको अनुभव छ । भन्छिन्, ‘अब आफ्नै समुदायको गीत–संगीतलाई सिँगार्छु, यसमै रमाउँछु ।’ तीन भाइबहिनीमध्ये उनी कान्छी हुन् । 

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully