बालगृहको जीवन रमाइलो र अवसर

खानेकुरा टन्न खान पाइने, साथीहरू पनि धेरै, केयर गिभरले एकदमै माया गर्ने, कपाल कोरिदिने, खाना खुवाइदिने, कपडा धोइदिने

माघ ५, २०८१

सुजाता मुखिया

Kindergarten life is fun and opportunity

काठमाडौँ — कालीकोटको दुर्गम गाउँमा जन्मेकी जेनीकुमारी शाह (२३) साढे ६ वर्षको हुँदा बालगृहमा आइपुगेकी थिइन् । त्यतिबेला उनी कक्षा ३ मा पढ्दै थिइन् । भिनाजुहरूले काठमाडौं जाने भनेपछि उनी मक्ख परेकी थिइन् । त्यतिबेला उनले काठमाडौंको नाम मात्र सुनेकी थिइन् ।

 ‘म दुर्गममा जन्मेको, काठमाडौं भनेपछि कहिले जाउँ जस्तो भयो’ उनी सुनाउँछिन्, ‘गाउँमा चाहेजस्तो खाना–खाजा पाइँदैनथ्यो । चाउचाउ, बिस्कुट खानु सपना जस्तै थियो । बालगृह आएपछि खानेकुरा टन्न खान पाइने । साथीहरू पनि धेरै थिए । केयर गिभरले एकदमै माया गर्ने । कपाल कोरिदिने, खाना खुवाइदिने, कपडा धोइदिने । बिहान उठेपछि प्रार्थना गर्ने, इन्डोर र आउटडोर गेम खेल्न पाइने ।’ बालगृहमा बिताएका दिनहरू जीवनको मोडमा महत्त्वपूर्ण भएको जेनी बताउँछिन् । 

राईकोशा शाही (२५) बालगृहमा बिताएका दिनहरूलाई आफ्नो जीवनका सम्झनालायक पलका रूपमा वर्णन गर्छिन् । ‘त्यहाँ रहँदा मैले धेरै अवसर पाएँ,’ बाल्यकाल स्मरण गर्दै उनले भनिन्, ‘सन् २०१४ मा साउथ एसियामा फरक क्षमताका व्यक्तिहरूको आवाज उठाउन देशभरबाट छनोट भएर श्रीलंका जान पाएकी थिएँ ।’ बालगृहमा रहँदा उनका दिन रमाइलो र अवसरले भरिपूर्ण रहे । 

बालगृहमा बिताएको समय सेलिना तामाङ (२४) का लागि शिक्षा, सीप सिक्न र आत्मविश्वास बढाउन सहयोगी बन्यो । ‘मैले बालगृहमा शिक्षा मात्र होइन, समय व्यवस्थापन र आत्मस्वीकृति पनि सिकें । त्यहाँ सिकेका सीपले मेरो जीवनलाई नयाँ दिशा दियो,’ उनी भन्छिन् ।

बालगृहबाट निस्किएपछि राईकोशा होस्टलमा एक्लै बस्न थालिन् । बालगृहमा साथीहरूसँग बिताएका दिनहरूको झझल्को उनलाई बारम्बार आउँथ्यो । ‘मैले एक्लै बस्ने निर्णय गरेकी थिएँ । किनभने कुनै न कुनै दिन मैले आफैं गर्नुपर्छ भन्ने थियो । बालगृहको माहोल एकदमै मिस गर्थें,’ उनी भन्छिन् । समय बित्दै जाँदा उनले एक्लै बस्नुपर्ने आवश्यकतालाई नयाँ चुनौतीका रूपमा स्वीकार गरिन् । 

एभरेस्ट इन्जिनियरिङ कलेजबाट स्नातक चौथो वर्षमा अध्ययनरत जेनी बालगृहमा बिताएका दिनहरूलाई एक ढाँचाबद्ध जीवनको रूपमा व्याख्या गर्छिन् । ‘बालगृहमा रहँदा कहिल्यै बाहिर निस्कन पाइन्नथ्यो । मन परेको खानेकुरा खान र आफूले चाहेअनुसार गर्न पाइँदैनथ्यो ।’ त्यसैले उनलाई जहिल्यै बालगृहबाट कहिले बाहिर निस्कन पाइएला भन्ने लाग्थ्यो ।

Kindergarten life is fun and opportunity

‘कलेज छुट्टी हुने समयबाट बालगृह नपुग्दासम्म वार्डेनले घडी हेरेर बस्नुहुन्थ्यो । कहींकतै घुम्न जान पाइँदैनथ्यो । एक त पैसा पनि कम हुन्थ्यो’, उनी सुनाउँछिन्, ‘बालगृहबाट निस्केपछि न त हामीलाई सरकारले हेर्छ, न त केयर होमले । यतिबेला एकदमै गाह्रो हुन्छ । होस्टलमा बस्दा बुली गरिन्थ्यो । आफू को हुँ भनेर भन्न सक्दिनथें । त्यो बेला मलाई एन्जाइटी नै भयो,’ उनी सम्झन्छिन् ।

बालगृहमा बस्दा निश्चित दिनचर्यामा बानी परेकी सेलिनालाई बाहिरी समाजमा घुलमिल हुन सुरुमा निकै कठिन भयो । ‘सबै कुरा नयाँ लाग्थ्यो, संसार चिनेको छैन जस्तो अनुभव हुन्थ्यो । तर, समयसँगै आत्मनिर्भर हुन सिक्दै गएँ’ सेन्ट जेभियर्स कलेजबाट स्नातक तेस्रो वर्षमा अध्ययनरत उनी भन्छिन्, ‘आफ्नै खुट्टामा उभिनु एकदमै गाह्रो थियो, तर मैले चुनौतीलाई स्वीकार गरें ।’

जेनीलाई शिक्षाको महत्त्व सुरुमा थाहा थिएन । ‘पढ्नुपर्छ भन्ने नै थाहा थिएन, म औसत विद्यार्थी थिएँ,’ उनी भन्छिन् । बालगृहमा रहँदा आफू र अन्य बालबालिकालाई समाजले कसरी हेर्छ भन्ने कुरा उनलाई गहिरोसँग महसुस हुन्थ्यो । ‘हामी सरकारको दायित्व हौं । हामीमाथि दया गरेर होइन, जिम्मेवारी बोधले व्यवहार गरिनुपर्छ भन्ने लाग्छ,’ उनी भन्छिन् । जेनीका अनुसार बालगृहका बालबालिकालाई ‘अरूको दया र सहयोगले चलिरहेको’ भन्ने सोच बदल्न आवश्यक छ । ‘हामीलाई आत्मनिर्भर बनाउनेतर्फ मार्गदर्शन गर्नुपर्छ’ उनी थप्छिन् ।

बालगृहमा शिक्षा मात्र नभई सीप विकासलाई पनि समान महत्त्व दिनुपर्ने आवश्यकता औंल्याउँछिन्, जेनी । ‘त्यहाँ पढाइमा मात्रै जोड दिइन्छ । तर कोही नाच्न, गाउन वा फरक सीपमा पनि सक्षम हुन सक्छन्,’ उनी भन्छिन् । उनको अनुभवमा, बालगृहमा जीवनयापनका लागि आवश्यक जीवन कौशल र व्यावसायिक तालिमको अभाव रह्यो । ‘बालगृहबाट निस्किएपछि, यदि सीप सिक्न सकिएको भए, बेरोजगार बस्नुपर्ने थिएन । बालबालिकालाई शिक्षा र सीप दुवै दिन सकियो भने उनीहरू समाजमा सजिलै आत्मनिर्भर बन्न सक्छन्’ उनी थप्छिन् । 

बालगृहमा हुर्किरहेका बालबालिकाहरूको समग्र विकासका लागि शिक्षा र सीप दुवै महत्त्वपूर्ण मान्छन्, उनीहरू । बालबालिकालाई केवल शैक्षिक उपलब्धिमा सीमित नराखी, उनीहरूको रुचि र क्षमताअनुसार विविध क्षेत्रमा करियर बनाउने अवसर उपलब्ध गराउन बालगृहले ध्यान दिन आवश्यक रहेको राईकोशालाई लाग्छ ।

बालगृहमा बस्ने बालबालिकालाई बाहिरी समाजसँग घुलमिल हुन कठिनाइ हुने यी तीन युवतीका अनुभवले पनि प्रस्ट्याउँछ । बालगृहले उनीहरूलाई शिक्षा र आत्मनिर्भरताको आधार प्रदान गरे पनि बाहिरको समाजसँग जुध्न उनीहरूलाई अतिरिक्त परामर्श र मार्गदर्शनको आवश्यकता पर्दछ । समाज र राज्यले बालबालिकाको यो संक्रमणकालीन चरणलाई थप सहज बनाउने प्रयास गर्नु जरुरी देख्छन्, उनीहरू ।

सुजाता मुखिया मुखिया कान्तिपुरको नारी मासिकमा कार्यरत पत्रकार हुन् ।

Link copied successfully