साहसिक दौडमा निरन्तर निक्की

१० वर्षअघि ‘धरान रन’ बाट दौडिन थालेकी निक्कीले देशविदेशमा डुआथलन, ट्रेल रेस र क्रस कन्ट्रीका दर्जनौं प्रतियोगिता जितिसकेकी छन्

माघ ४, २०८१

लक्ष्मी गौतम

Continuous Nikki on Adventure Run

पाँचथर — खेलकुदसँग इन्द्रकला नेम्वाङ (निक्की) लाई बाल्यकालदेखि नै रुचि थियो । पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ कोप्चेमा जन्मिएकी निक्कीको पढाइ भने धरानमा भयो । शिक्षा निकेतन मावि धरानमा पढ्दा निक्की फुटबल खेल्न रुचाउँथिन् तर गतिलो मैदान थिएन । अनि खेलकुद गतिविधि पनि सीमित मात्रै हुन्थे ।

त्यहीबीच धरानमा एउटा दौड प्रतियोगिता हुने भयो । ‘धरान रन’ नाम दिइएको उक्त प्रतियोगितामा १५ वर्षीय निक्कीले पनि नाम लेखाइन् । पहिलो सहभागितामै उनलाई सफलता मिल्यो ।

८ किलोमिटर दूरीको उक्त प्रतियोगितामा अन्डर–१६ विधातर्फ ३ हजारभन्दा धेरै सहभागीलाई उछिनेर उनी पहिलो भइन् र उपाधिसहित ५ हजार रुपैयाँ पुरस्कारसमेत प्राप्त गरिन् । ‘आफ्नै स्वास्थ्यका लागि मात्रै ‘धरान रन’ मा जोइन भएकी थिएँ, पहिलो नै भएपछि त संसार जितेजस्तै लाग्यो,’ उनले भनिन् । 

१० वर्षअघि ८ किलोमिटर दूरीको म्याराथनबाट सुरु भएको उनको सफलताको यात्रा अविराम जारी छ । यसबीचमा उनले देशविदेशमा गरी दर्जनौं प्रतियोगिता जितिसकेकी छन् । सन् २०१९ मा जोमसोममा रनिङ, साइक्लिङ र रक क्लाइम्बिङ विधामा आयोजित हाई अल्टिच्युड ट्राई एड्भेन्चरमा ५ सय प्रतियोगीलाई पछाडि पार्दै प्रथम भइन् ।

सोही वर्ष पोखरामा आयोजना भएको साउथ एसियन डुआथलनमा नेपालको प्रतिनिधित्व गर्दै चौथो, २०२१ मा सिक्किममा आयोजना भएको साइकल रेससहित विभिन्न विधाका प्रतियोगितामा निरन्तर चार पटक प्रथम स्थान हासिल गर्न सफल भइन् । 

त्यसअघि सन् २०१९ मा पोखरामा आयोजना भएको ४० किलोमिटर लामो साइकल रेसमा पनि एक सय प्रतियोगीलाई उछिन्दै उनी प्रथम भएकी थिइन् । २०१९ मै चीनको कुन्मिङमा आयोजित ५० किलोमिटर एसियास्तरीय ट्रेल रेस ५ सय प्रतियोगीसँग दौडिएर पाँचौं भइन् ।

कोराना महामारीका कारण प्रतियोगिताहरूमा सहभागिता जनाउने क्रम रोकिए पनि अभ्यास भने जारी राखिनन् । २०२१ मा ५० किलोमिटर लामो भोजपुर ट्रेलरेस प्रतियोगितामा भाग लिएर प्रथम स्थान सुरक्षित गरिन्, २०२३ मा पोखरामा आयोजित ५० किलोमिटर दूरीको क्रस कन्ट्री दौडमा प्रथम र २०२३ मै पोखरामा आयोजित एसियन च्याम्पियनसिपमा डुआथलनतर्फ नेपाल प्रथम र सोही वर्ष पोखरामै सम्पन्न ९औं राष्ट्रिय खेलकुद प्रतियोगितामा डुआथलन विधातर्फ स्वर्ण पदक जितिन् ।

निक्कीले यीबाहेक ६० किलोमिटर दूरीको सिन्धुपाल्चोक ट्रेलरेस, भारतको सिक्किममा आयोजित एकता दिवस ४० किलोमिटर दौड, सिक्किममै आयोजित एमटीबी साइकल रेसलगायत दर्जनौं प्रतियोगितामा पहिलो स्थान सुरक्षित गरेकी छन् । उनी कोरियामा आयोजित लेजर रनमा समेत सहभागी भइसकेकी छन् ।

Continuous Nikki on Adventure Run

त्योबेला नेपाल आर्मी टिमबाट सहभागी भएकी निक्की आगामी फागुनमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा भने कोशी प्रदेशबाटै सहभागी हुने तयारीमा छिन् । ‘पहिले धेरै चुनौती थिए, राम्रो गेयर भएका जुत्ता लाउने अवस्था थिएन, यद्यपि खेलकुदप्रतिको मोह अचाक्ली थियो,’ उनी भन्छिन्, ‘विद्यार्थी कालमा आर्मी बन्ने सपना थियो, दौडन थालेपछि खेलमा पनि भविष्य छ भन्ने लाग्यो, यसैलाई निरन्तरता दिएँ, विस्तारै खेल प्रशिक्षणतर्फ पाइला चाल्ने योजना छ ।’ 

लामो दूरीका प्रतियोगितामा दौडने क्रममा केही जोखिम भए पनि मानसिक रूपमा स्फूर्त भएमा उपाधि जित्न कठिन नहुने उनले बताइन् । ‘प्रायः प्रतियोगितामा पुरस्कार पाउने टप फोरसम्मले हो, एक/दुई पटक असफल हुँदैमा प्रतियोगितामा भाग लिनै छोड्ने हो भने कहिल्यै सफल भइन्न,’ खेल विधाका नवआगन्तुकलाई उनको सुझाव छ । बाहिर मात्रै नभएर देशभित्रै आयोजना हुने ठुल्ठूला प्रतियोगितामा भाग लिन जाँदा महिला भएका कारण विभेद नभए पनि सुरक्षा चुनौती भने खेप्नुपरेको उनको अनुभव छ । पाँचथरमा एथलेटिक्स संघ सक्रिय नहुँदा जिल्लाका खेलाडीलाई सहयोग गर्न नसकेको उनको गुनासो छ । 

अहिले उनको प्रमुख लक्ष्य भनेको १०औं राष्ट्रिय खेलकुदमा पद जित्ने छ । विभागीय क्लबहरूबाट खेल्नका लागि प्रस्ताव पनि आएको छ । ‘१०औं राष्ट्रिय खेलकुदमा नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट खेल्न प्रस्ताव आइरहेका छन् । तर, यस पटक कोशी प्रदेशबाटै भाग लिएर पदक जित्ने लक्ष्य छ,’ उनले भनिन् ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully