मेसी युगपछि ब्युँझिएको बार्सा

अहिले बार्सिलोना टिम एक प्रकारले लेवनडोस्कीले हाँकिरहेका छन् भन्दा हुन्छ, स्पेनी ला लिगामा तेस्रो स्थानमा रहेको बार्साले सोमबार ‘एल क्लासिको’ मा रियल म्याड्रिडलाई हराउँदै सुपर कप जितेको छ

माघ १, २०८१

हिमेश

Barca woke up after the Messi era

काठमाडौँ — एउटा यही कारणका लागि स्पेनी ला लिगालाई मज्जा नमान्नेहरू पनि छन् । हुन् पनि सन् २००४–२००५ को सिजनयता दुई दशकमा स्पेनी लिग फुटबलमा कोही च्याम्पियन हुन्छ भने त्यो कि त रियल म्याड्रिड हो, होइन भने बार्सिलोना । बीचमा दुईपल्ट एउटा टिमले उनीहरूको एकलौटीमा क्रमभंग गरेको छ र त्यो हो, एटलेटिको म्याड्रिड ।

के यसपल्टको सिजनको विशेषता पनि त्यस्तै हुने त होइन ? साँच्चै अहिले एटलेटिकोले गज्जब नै खेलिरहेको छ ।

यो सिजनको अंक तालिकामा एक नजर लगाउने हो भने एटलेटिको नै अगाडि छ । लिगले ठ्याक्कै आधा बाटो तय गर्दा एटलेटिको ४४ अंकमा शीर्ष स्थानमा छ भने उसको पछाडि रियल छ, ४३ अंकसहित । बार्सिलोना अझ पछाडि ३८ अंकमा छ । यस्तोमा एटलेटिको र बार्सिलोनाबीच ६ अंकको अन्तर छ । एटलेटिकोले आफ्नो पछिल्लो खेलमा ओसासुनालाई १–० ले हरायो । यही जितसँगै एटलेटिको अंक तालिकाको शीर्षमा उक्लेको हो ।

जति बेला एटलेटिकोले यही उपलब्धिको खुसियाली मनाइरहेको थियो, त्योभन्दा बढी खुसी बार्सिलोना पनि भयो । भौगोलिक रूपमा धेरै टाढा बार्सिलोनाले आत्मसात् गरेको खुसी हो, स्पेनी सुपरकपको उपाधि । साउदी अरेबियातिर फुटबलका दुई ठूला देशको सुपरकप हुन्छ । त्यसमा एउटा इटाली रह्यो, अर्को स्पेन । स्पेनी सुपरकपमा भने चार टिम थिए । फाइनलमा बार्सिलोना र रियल नै पुगेका थिए । यस्तोमा जेद्दामा भएको फाइनल यो सिजनको दोस्रो ‘एल क्लासिको’ रह्यो ।

उक्त खेलमा बार्सिलोनाको प्रदर्शन धेरै हदसम्म उच्च रह्यो । रियलले सुरुमै अग्रता लिएर पनि बार्सिलोनाले यो खेल ५–२ ले जित्यो । बार्सिलोनाले यो सफलता के चुम्यो, अब भन्न सुरु भएको छ, बार्सिलोना ब्युँझिएको छ । नयाँ वर्ष र क्रिसमसको अर्को छेउ बार्सिलोनाको प्रदर्शन खराब नै रह्यो । सिजनको सुरुआत त बार्सिलोनाको भव्य नै रह्यो । लामो समय जितेको जित्यै थियो । त्यसैले अंक तालिकाको शीर्षमा पनि लामै समय रह्यो ।

तर एकपल्ट हार्न थालेपछि बार्सिलोनाको दशा हारेको हार्‍यै पनि भयो । तर बीचको मध्यान्तरले बार्सिलोनालाई फाइदै फाइदा भएको छ । यही फाइनलमा पनि रियलले केयलिन एमबापेको गोलले अग्रता लिएको थियो । त्यसपछि लामिन यामलले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । झन् त्यसपछि रोबर्ट लेवनडोस्कीले पेनाल्टीबाट एक, राफिन्हाले दुई तथा एलेजान्ड्रो ब्लाडले एक गोल गरे । 

रोड्रिगोले रियलका लागि एक गोल फर्काए । तर, त्यसले नतिजामा के नै फरक पार्न सक्थ्यो र ? सन् २०२५ लागेयता बार्सिलोनाको यो लगातार तेस्रो जित हो । सन् २०२४ को अन्त्यतिर यही टिम लगातार दुई खेलमा पराजित भएको थियो । अहिले बार्सिलोना टिम एक प्रकारले लेवनडोस्कीले हाँकिरहेका छन् भन्दा हुन्छ । भेट्रान खेलाडीको दर्जामा छन्, उनी । तर, उनीबाट नै गोल निस्किरहेको छ । उनले बार्सिलोनाका लागि यस सिजन सबैखाले प्रतियोगितामा गरेर २७ खेल खेलिसकेका छन् ।

Barca woke up after the Messi era

अनि यसबीच उनले निकालेको गोल संख्या पुगेको छ, २६ । लेवनडोस्की आफैं भन्छन्, ‘क्रिसमसको विश्रामले हामीलाई फाइदै भयो । टिममा कहाँनिर समस्या थियो, त्यो चाल पायौं ।’ रियलसामु पछिल्लो ‘एल क्लासिको’ को हारको बदला लिने अवसर थियो तर त्यसमा नमज्जासँग उल्टै चुक्यो । बर्नाबाउमा भएको पछिल्लो खेल लिगको थियो र त्यसमा बार्सिलोना अचम्मले ४–० ले विजयी रहेको थियो । यसपल्टको फाइनल हारपछि रियल प्रशिक्षक कार्लोस एन्सोलाटीले भनेका छन्, ‘साह्रै खराब खेल भयो । निराशा त लुकाउने ठाउँ नै भएन ।’

फेरि बार्सिलोनामै फर्कने हो भने अझै फुटबलका पारखीहरूले लियोनल मेसी छँदाको समय बिर्सन सकेका रहेनछन् । त्यसैले केही भयो कि मेसी हुँदा बार्सिलोनामा यस्तो हुन्थ्यो, उस्तो हुन्थ्यो भन्ने कुरा चल्ने गरेकै छ । सायद धेरै हदसम्म बार्सिलोनाले मेसीबिना बाँच्न जानिसकेको छ । तर, बार्सिलोनामा त्यो आकर्षण भने फर्कन सकेको छैन, जुन मेसी छँदा थियो । प्रश्न त के पनि छ भने मेसीको ठाउँ लिने कोही खेलाडी बार्सिलोनामा आयो त ?

बार्सिलोनाले जति बेला आफ्नो लय गुमाएको थियो, त्यही बेला एटलेटिकोले भने उत्कृष्ट प्रदर्शनको क्रम सुरु गरेको थियो । त्यसैले त ओसासुनामाथि प्राप्त जित सबैखाले प्रतियोगितामा गरेर उसको १४ औं लगातार जित थियो । खेलको एक मात्र गोल जुलियन अल्भारेजको नाममा रह्यो । अक्टोबरयता एटलेटिकोले जति खेलेको छ, ती सबैमा विजयी रहेको छ । त्यसैले साँचो अर्थमा स्पेनमा कुनै एक टिम लयमा छ भने त्यो हो एटलेटिको ।

यहाँनिर रियलको खेल केही खस्केको छ । बार्सिलोनामा मात्र होइन, पूरा स्पेनी फुटबलमै मेसीको ठाउँ लिने अपेक्षा गरिएका रियल स्टार केयलिन एमबापेको कमजोर प्रदर्शनकै कारण रियल पछाडि परेको मानिन्छ । तर यिनै एमबापेले बार्सिलोनाविरुद्ध गरेको पहिलो गोल हेर्नुपर्छ, त्यो अद्वितीय छ । मैदानको मध्य भागबाट उनले एक्लै बल अगाडि लगेर गोल गरेका थिए । त्यसो भए, के उनी पनि लयमा फर्केका हुन् त ? बार्सिलोनामाथि पनि यस्तै विश्वास छ ।

यस्तोमा स्पेनी फुटबलमा यसपल्टको त्रिकोणात्मक होड मज्जाको हुनेछ ।

हिमेश

Link copied successfully