गजल उत्सवमा १२ बुँदे निष्कर्षपत्र

पुस २९, २०८१

रमेशकुमार पौडेल

12 points conclusion paper on ghazal festival

चितवन — कविडाँडा साहित्य समाजद्वारा चितवनको लंकुमा शनिबार आयोजित राष्ट्रिय गजल उत्सवले १२ बुँदे निष्कर्षपत्र सार्वजनिक गरेको छ । समाजले दिनभर गजलमाथि बहस, विमर्श तथा वाचन कार्यक्रम आयोजना गरेको थियो ।

आदि गजलकार मोतीराम भट्टबाट सुरु भई पुनर्जागरण हुँदै हालसम्म विकसित नेपाली गजल लेखन परम्पराको गौरवमय विरासतलाई सम्मान एवम् स्वीकार गर्दै नेपाली गजलको हितमा निष्कर्षपत्र जारी गरेको समाजले जनाएको छ । 

नेपाली गजल लेखनका शैलीगत विविधताका सन्दर्भमा विभिन्न धारणा र मत सतहमा आएको तथा एक पक्षले अर्को पक्षको अस्तित्वलाई प्रश्न र सन्देहको घेरामा राखेको अनुभव गरिएको निष्कर्षपत्रमा उल्लेख छ । तर शास्त्रीय एवम् मौलिक अभ्यासको परिधि, विषयवस्तुको गहनता र वजनलाई ध्यानमा राख्दै प्रस्तुत हुने विचार र तर्कलाई सर्जकको स्वतन्त्रता तथा विकासको स्वाभाविक प्रक्रिया मान्ने समाजले जनाएको छ ।

गजलकारबीच बेला–बेलामा प्रकट हुने फरक मत तथा असमझदारी भेटघाट, संवाद, विमर्श र सहअभ्यासको कमीका कारण सिर्जना भएको निष्कर्ष निकाल्दै यसतर्फ सबै सर्जक र पक्षको पहल र अभ्यास हुनु आवश्यकता रहेको समाजले औंलाएको छ । ‘शास्त्रीय मान्यता अनुसार बहर र छन्द गजलको आवश्यक तत्त्व रहेको तर बहर र गैरबहर गजललाई अमूल्य सम्पत्तिका रूपमा स्वीकार गर्छौं,’ निष्कर्षपत्रमा भनिएको छ । 

कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेलले साना झिना, मसिना कुराले गजलमा विवाद ल्याएको बताएका थिए । उनले छन्दमा नलेखेको गजल छाप्न, गाउन हुँदैन भन्ने भावना अतिवादी सोच भएको बताएका थिए । ‘गजलमा त्यस्तो धारणा राख्नेहरू अतिवादी सोच भएकाहरू हुन्,’ पौडेलको भनाइ थियो । कार्यक्रममा गजलबारे कार्यपत्र पेस गर्दै दीपककुमार खड्काले लय विविधता, मौखिक प्रस्तुति कला, नेपाली गजलको विशिष्ट विशेषताहरू भएको बताए । 

गजलमाथि उठेका अन्योलता हटाउन बृहत् छलफल गरेर साझा धारणा बनाउन आवश्यक रहेको कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीको मत थियो । कार्यक्रममा वरिष्ठ गजलकारहरू ज्ञानुवाकर पौडेल, गोविन्दराज विनोदी, घनश्याम परिश्रमी, बुँद राना र कृष्णहरि बराललाई कविडाँडा राष्ट्रिय साहित्य सम्मान पनि प्रदान गरिएको थियो । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully