जेनी सुनुवारद्वारा निर्देशित ‘एब्सर्ड’ शैलीको यस नाटकमा न संवाद छ, न संगीत । दुई पात्र छन्, जसका शारीरिक हाउभाउद्वारा महिला हिंसा, महिलाका मुद्दा र महिला सशक्तीकरणका सवाल उठाइएका छन् ।
काठमाडौँ — ‘अरे शाम्बा, हाउ मेनी म्यान ?’ रातो पहिरनधारी पात्रले सेतो वस्त्र लगाएकी पात्रलाई प्रश्न गर्छ । बलिउड फिल्म ‘शोले’ को चर्चित संवादलाई अंग्रेजीकरण गर्दै प्रश्न गर्नु पछाडि थुप्रै कारण छन् ।
पुरुषको जुत्ता लगाएको एक पात्रद्वारा यहाँ अर्को पात्र दमित छ । दमित पात्रको आवाज सानो छ, तर प्रश्न गर्नेको चर्को । उक्त पात्रले प्रश्न गरिरहन्छ, ‘हाउ मेनी म्यान’ अर्थात् कति जना पुरुष ? अर्को पात्रले जवाफ दिन्छ, ‘म्यान, वुमन, ह्युमन ।’ प्रश्न गर्ने पात्र रिसले मुर्मुरिँदै फेरि सोध्छ, ‘आई सेड, हाउ मेनी म्यान ?’ शान्त भावमा अर्को पात्रले जवाफ दिइरहन्छ, ‘वुमन, ह्युमन’ अर्थात् ‘महिला, मानव ।’
थिएटर भिलेज नेपालको कार्यस्थल ललितपुर, थसिखेलमा मञ्चन भइरहेको नाटक ‘द स्ट्रंगर’को यो एउटै संवाद–दृश्यबाट पितृसत्तात्मक समाजमा महिलाको अवस्थालाई देखाइएको छ ।
रातो पहिरनमा देखिएको पात्रले बन्दुक तेर्स्याउँदै सेतो वस्त्रकी महिला पात्रलाई दबाइरहेको देखिन्छ । शक्तिमा भएको पुरुषले शक्तिहीन महिलालाई कसरी दबाउन खोजिरहन्छ ? महिला आवाज कसरी दबाइन्छ ? नाटकले नेपाली समाजको कटु यथार्थ देखाइदिएको छ । दृश्यमा पितृसत्तात्मक समाज, सोंच र पुरुषत्वलाई महिला अस्तित्व स्वीकार्न कति कठिन छ भन्ने पनि प्रस्तुत गरिएको छ ।
‘महिला पनि मानव नै हुन्’ भन्ने भावमा जब उत्तर आउँछ, पुरुष बनेका पात्र त्यो स्वीकार्न तयार देखिन्न । उक्त पात्रको प्रश्न केवल पुरुष वरपर नै केन्द्रित छ । महिलालाई मानवकै रूपमा स्वीकार्न नसक्ने पितृसत्तामाथि यो दृश्यले व्यंग्य गर्छ । साथै, पुरुषप्रधान सामाजिक संरचनामा आफ्नो अस्तित्वका लागि महिला लड्न तयार छन् भन्ने पक्षलाई पनि यहाँ प्रस्तुत गरिएको छ । जब–जब प्रश्न गर्ने पात्र चर्को स्वरमा महिला अस्तित्वलाई स्विकार्दैन, तब–तब उक्त पात्रले सशक्त आवाजमा भन्छ, ‘महिला, मानव ।’
जेनी सुनुवारद्वारा निर्देशित यो नाटक ‘एब्सर्ड’ शैलीमा प्रस्तुत गरिएको छ । नाटकमा न संवाद छ, न संगीत । यहाँ दृश्यहरू मात्र छन् । दुई पात्रहरू छन्, उनीहरूका शारीरिक हाउभाउद्वारा महिला मुद्दा, महिला हिंसा र महिला सशक्तीकरणका सवाल उठाइएका छन् । यी सवालहरू उठाइरहँदा पितृसत्तात्मक समाज र संरचनालाई पनि नाटकले उदांगो पारिदिन्छ । नाटकमा अर्को सशक्त दृश्य छ जहाँ कलाकार गाइरहन्छन् ः
टालाटुली बटुली, कति राम्री पुतली
आँखा दुवै गाजली, कति राम्री पुतली
सानी पनि छैन रे, ठूली पनि हैन रे
पहेंली र पातली, कति राम्री पुतली
कवि माधवप्रसाद घिमिरेद्वारा लिखित यो कवितालाई नाटकको उक्त दृश्यमा व्यंग्यात्मक शैलीमा प्रयोग गरिएको छ । यो कविता वाचन गरिरहँदा एक पात्रले शरीरमा रातो पछ्यौरी फनफनी बेर्छ, सारीजसरी । जुत्ताधारी अर्का पात्रले विस्तारै उक्त पात्रका शरीरमा हात चलाउन थाल्छ । सारी पहिरेकी पात्र प्रतिवादमा उत्रन्छे, तर उक्त पात्र झनै हौसिएर उनीमाथि आफ्नो आधिपत्य जमाउन खोजिरहन्छ ।
सारी पहिरेकी पात्र चिच्याउँछे, कराउँछे । तर, पुरुष पात्रले उनीमाथि शोषण गरिरहन्छ, हिंसा गरिरहन्छ । यो दृश्यले पुरुषद्वारा हिंसामा पारिएका महिलाहरू, त्यसविरुद्ध गरिएका प्रतिवाद देखाइएको छ । पितृसत्तात्मक समाजमा हिंसा र शोषणलाई पुरुषहरूले कसरी समातेका छन्, महिलाहरूमाथि उनीहरूले गर्ने ज्यादती यो दृश्यले बोल्छ । साथै, कविताको प्रयोगमार्फत महिलालाई पुरुषले कसरी पुतलीका रूपमा दुरुपयोग गर्छन्, महिलालाई हेर्ने उनीहरूको दृष्टिकोण यही कवितामै व्यक्त गरिएको छ ।
शारीरिक नाट्य प्रस्तुतिमा आधारित यो नाटकमा देखिएका दुई पात्रले शरीर र आत्माको प्रतिनिधित्व गरेका छन् । रातो पहिरन लगाएको पात्र शरीर हो, अनि सेतो पहिरनधारी आत्मा । फरक–फरक मुद्दाले यी दुईबीच द्वन्द्व उत्पन्न गराइरहन्छ । द्वन्द्व चलिरहँदा यी दुईले समात्ने पक्षहरूले नेपाली समाज, महिला मुद्दा र पितृसत्तामा उनीहरू कहाँ उभिन्छन् भन्ने प्रस्ट देखाउँछ । त्यसैले कुनै बेला यहाँ एउटा पात्र पुरुष बन्छ, त अर्को महिला । कहिले कुनै पात्रले नेपाली समाज देखाउँछ त अर्कोले यहाँभित्रका विसंगति ।
नाटकको अर्को दृश्यमा सौन्दर्य दृष्टिकोणलाई पनि प्रहार गरिएको छ । नाटकको सुरुवाततिरै दुई पात्र चिट्टिक्क परेर मञ्चमा उक्लन्छन् । दुवैले अग्ला ‘हिल’ जुत्ता लगाएका छन् । एकअर्कालाई हेर्दै दुईले मेकअप गर्छन् । शृंगार सकिएसँगै ऐनामा आफूलाई नियाल्छन् । फेरि एकै क्षणमा त्यही शृंगार र पहिरनलाई भताभुंग पार्छन् ।
समाजद्वारा सिर्जित सौन्दर्यको मापदण्डमा पर्न यी दुई कहिले झकिझकाउ बन्छन् त कहिले त्यही कुराको विरुद्धमा खडा हुन्छन् । सौन्दर्य मापदण्ड भत्काउँदै गरेको व्यंग्यलाई महसुस गर्न भने ‘द स्ट्रंगर’ नै हेर्नुपर्ने हुन्छ । कारण यो नाटकले ठूल्ठूला विषयमाथि सन्देश दिँदैन, तर जटिल मुद्दाहरूलाई महसुस गराइदिन्छ ।
अगस्ट स्ट्राइन्डबर्गद्वारा सन् १८८९ मा लेखिएको नाटक ‘द स्ट्रंगर’ एक स्विडिस नाटक हो । यही नाटकको मूलसार पक्रँदै जेनीले सत्ता–शक्ति, पहिचान र महिलामाथिका विषयहरू समेटेकी हुन् । यो नाटकले ऐतिहासिक रूपमा महिलाहरूलाई प्रदान गरिएको अपेक्षित पारम्परिक भूमिकाहरूमाथि प्रश्न गर्दै समाजले परिभाषित गरेका सत्ता–शक्ति, सौन्दर्य र प्रभावका स्थापित मान्यतामाथि आलोचना गर्छ ।
