‘अभिभावक अक्सर संगीतको क्षेत्रमा करिअर बन्न सक्छ भन्ने नै ठान्दैनन्, त्यसैले पनि सन्तानलाई संगीतमा लाग्न प्रेरित नै गर्न खोज्दैनन्’
काठमाडौँ — गीतमा करिअर बनाउनका लागि नेपाली युवा कलाकारले विभिन्न चुनौतीको सामना गर्नुपरिरहेको छ । सुशान्त गजुरेल (२२), जो सिमेडु कलेजमा साउन्ड इन्जिनियरिङ विषयमा अध्ययनरत छन् । उनले युवालाई आफूले चाहेको क्षेत्रतर्फ अघि बढ्नका लागि अभिभावकको समर्थन महत्त्वपूर्ण रहने उनको धारणा छ ।
संगीतका विद्यार्थी रोशनी श्रेष्ठ (२४), नेपाल म्युजिक सेन्टरमा भोकल विषयमा अध्ययन गरिरहेकी छन् । उनलाई पनि संगीतको उत्पादन र प्रचारमा धेरै चुनौतीको सामना गर्नुपरिरहेको लाग्छ । ‘स्रोताको अपेक्षाअनुसार यदि हामीले गीत दिन सकेनौं भने गीत नचल्न पनि सक्छ । नयाँ प्रवृत्ति र प्रविधि समावेश गर्दा पनि संगीतकारहरूको काममा कठिनाइ आउन सक्छ,’ उनी भन्छिन् ।
रोजेश पौडेल (२७), पनि नेपाल म्युजिक सेन्टरमा भोकलसँगै पियानो र गिटारजस्ता ‘मल्टी इन्स्ट्रुमेन्टमा’ अध्ययन गरिरहेका छन् । ‘हजार माइलको दूरी पूरा गर्न दुई पाइलाले सुरु गर्नुपर्छ’ भनेझैं उनी पनि यतिबेला विस्तारै सांगीतिक पाइला चाल्न खोज्दै छन् । ‘तर अभिभावकहरू अक्सर संगीतको क्षेत्रमा करिअर बन्न सक्छ भन्ने नै ठान्दैनन्,’ रोजेशले दुःखेसो पोखे, ‘त्यसैले पनि आफ्ना सन्तानलाई संगीतमा लाग्न प्रेरित नै गर्न खोज्दैनन् । दुई पाइला पनि हिँड्न दिइएन भने हजार माइलको यात्रा कसरी पो गर्न सकिएला र ?’ सुशान्त पनि जुनसुकै पेसामा चुनौतीहरू हुने भए पनि अभिभावकले साथ र सहयोग दिएमा हरेक चुनौतीको सामना गर्न सकिने ठान्छन् ।
शिक्षा क्षेत्र अत्यधिक व्यावसायिक बन्दै गएकोमा सुशान्तको गुनासो छ । ‘मैले मिक्सिङ र मास्टरिङ सिक्न चाहेको थिएँ, तर तीन वर्षको कोर्समा गेममा साउन्ड राख्नेदेखि ब्याकग्राउन्ड स्कोरहरू बनाउनुपर्नेजस्ता धेरै अनावश्यक कुरा सिक्नुपर्यो । जुन मेरो आवश्यकता र प्राथमिकतामै थिएन,’ उनले भने । संगीत क्षेत्रमा निरन्तरता र स्थिरता कायम राख्न विकसित देशहरूमा नै पनि चुनौती रहेको रोशनी बताउँछिन् । भन्छिन्, ‘अझ हाम्रोजस्तो देशमा त संगीतलाई जीवन्त राख्न धेरै संघर्ष गर्नुपर्छ ।’
रोजेश शिक्षा प्रणालीलाई आर्थिक पक्षसँग जोडिएको भनी टिप्पणी गर्छन् । ‘शिक्षक र कलेजहरूले विद्यार्थीले दिएको शुल्कका आधारमा मात्रै शिक्षा प्रदान गरिरहेको महसुस हुन्छ,’ उनी भन्छन् ।
सुशान्त ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) ले संगीत क्षेत्रमा ठूलो परिवर्तन ल्याइरहेको मान्छन् । ‘मैले एआई प्रयोग गरेर गीत बनाएको मात्रै होइन, एआईले दुरुस्तै गाइदिएको पनि देखेको छु,’ उनी भन्छन् । यद्यपि, उनले एआईद्वारा सिर्जित गीतमा भावनाको कमी महसुस हुने टिप्पणी गर्छन् । भन्छन्, ‘एआईले संगीतमा धेरै सहयोग गरिरहेको छ, जस्तै लेभलिङ अत्यधिक भएमा यसले डिटेक्ट गर्ने रहेछ । तर, त्यो संगीतकारले नै सिर्जना गरेको गीतसँग तुलना गर्दा भावनाको अभाव देख्छु ।’
एक पर्फमरका रूपमा रोजेशले एआईको प्रभावलाई मिश्रित रूपमा हेर्छन् । ‘कम्पोजरको लागि अब मान्छे आवश्यक नै छैन,’ सुशान्तको भनाइमा असहमति जनाउँदै उनी थप्छन्, ‘मानिसले बनाएको धेरै गीतमा पनि भावनाको कमी छ ।’
रोजेश एआईको प्रगतिको कारण संगीतकर्मीको करिअर संकटमा पर्ने चिन्ता व्यक्त गर्छन् । ‘हामीले पढेको र सिकेको कुरा प्रयोग गर्ने ठाउँ पाउन गाह्रो हुनेछ । एआईले सबै काम गर्न थालेपछि चुनौती झन् थपिएको छ ।’ एआईले संगीत क्षेत्रमा रचनात्मकता थप्न सहयोग पुर्याएको रोशनीको धारणा छ । ‘यसले प्रयोगकर्ताको प्राथमिकतामा आधारित सेवा दिन थालेको छ, जसले संगीतको गुणस्तर सुधार्न सहयोग गरेको छ,’ उनी भन्छिन् ।
नेपाली संगीत उद्योगमा ‘जनरा’ को अभाव रहेको रोजेश बताउँछन् । ‘हाम्रो संगीतमा कुनै निश्चित जनरा छैन,’ उनले भने ‘एकैछिनमा एउटा र अर्को क्षणमा भिन्न शैली समावेश गरिएको देखिन्छ । उदाहरणका लागि, यदि रक शैलीको संगीत बनाउन लागिएको छ भने त्यसका सबै पक्षहरू रकमै आधारित हुनुपर्छ । तर, बीचमा पप शैली मिसाउँदा संगीतको गुणस्तर कमजोर हुन्छ ।’
संगीतले मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्ने भन्दै सुशान्त भन्छन्, ‘संगीतले हाम्रो मुड परिवर्तन गर्न र सकारात्मक ऊर्जा ल्याउन सहयोग पुर्याउँछ ।’ संगीतको उपचारात्मक गुणबारे चर्चा गर्दै रोजेश भन्छन्, ‘संगीतले हाम्रो जैविक प्रणालीलाई हिलिङ गर्ने काम गर्छ । नारायणगोपालको ‘मुटुमाथि ढुंगा राखी’ गीतले द्वन्द्वका कारण आफन्त गुमाएका वा घाइते भएकालाई त्यो बेला सान्त्वना दिने ल्याकत राख्छ ।’
संगीतले मानसिक र शारीरिक स्वास्थ्यलाई सन्तुलित बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेमा रोशनी विश्वास राख्छिन् । ‘संगीतले हाम्रो ध्यान केन्द्रित गर्न, नकारात्मक भावना हटाउन र खुसी बनाउने हर्मोन उत्पादन गर्न सहयोग गर्छ,’ उनी भन्छिन्, ‘यसले हाम्रो शरीर र मनलाई एकअर्कासँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्छ ।’
संगीतमा क्रान्ति र परिवर्तन ल्याउने शक्ति भएको रोजेशले महसुस गरेका छन् । ‘संगीतले समाजमा परिवर्तन ल्याएको छ । हामीकहाँ नै भएका विभिन्न चरणका क्रान्तिमा जनतालाई परिवर्तनका लागि जागरुक बनाउन संगीतले ठूलो मद्दत गरेको छ,’ उनले भने ।
सामाजिक परिवर्तनमा संगीतको भूमिका महत्त्वपूर्ण रहेकोमा रोशनी पनि मान्छिन् । ‘संगीतले सामाजिक सचेतना फैलाउने, समस्याहरू उजागर गर्ने, संकटमा सहयोग गर्ने र नखुलेको आवाज बन्ने काम गर्छ,’ उनले भनिन् ।
