संगीतलाई ‘करिअर’ मान्दैनन् अभिभावक

‘अभिभावक अक्सर संगीतको क्षेत्रमा करिअर बन्न सक्छ भन्ने नै ठान्दैनन्, त्यसैले पनि सन्तानलाई संगीतमा लाग्न प्रेरित नै गर्न खोज्दैनन्’

पुस २७, २०८१

सुजाता मुखिया

Parents do not consider music as a 'career'

काठमाडौँ — गीतमा करिअर बनाउनका लागि नेपाली युवा कलाकारले विभिन्न चुनौतीको सामना गर्नुपरिरहेको छ । सुशान्त गजुरेल (२२), जो सिमेडु कलेजमा साउन्ड इन्जिनियरिङ विषयमा अध्ययनरत छन् । उनले युवालाई आफूले चाहेको क्षेत्रतर्फ अघि बढ्नका लागि अभिभावकको समर्थन महत्त्वपूर्ण रहने उनको धारणा छ ।

संगीतका विद्यार्थी रोशनी श्रेष्ठ (२४), नेपाल म्युजिक सेन्टरमा भोकल विषयमा अध्ययन गरिरहेकी छन् । उनलाई पनि संगीतको उत्पादन र प्रचारमा धेरै चुनौतीको सामना गर्नुपरिरहेको लाग्छ । ‘स्रोताको अपेक्षाअनुसार यदि हामीले गीत दिन सकेनौं भने गीत नचल्न पनि सक्छ । नयाँ प्रवृत्ति र प्रविधि समावेश गर्दा पनि संगीतकारहरूको काममा कठिनाइ आउन सक्छ,’ उनी भन्छिन् । 

रोजेश पौडेल (२७), पनि नेपाल म्युजिक सेन्टरमा भोकलसँगै पियानो र गिटारजस्ता ‘मल्टी इन्स्ट्रुमेन्टमा’ अध्ययन गरिरहेका छन् । ‘हजार माइलको दूरी पूरा गर्न दुई पाइलाले सुरु गर्नुपर्छ’ भनेझैं उनी पनि यतिबेला विस्तारै सांगीतिक पाइला चाल्न खोज्दै छन् । ‘तर अभिभावकहरू अक्सर संगीतको क्षेत्रमा करिअर बन्न सक्छ भन्ने नै ठान्दैनन्,’ रोजेशले दुःखेसो पोखे, ‘त्यसैले पनि आफ्ना सन्तानलाई संगीतमा लाग्न प्रेरित नै गर्न खोज्दैनन् । दुई पाइला पनि हिँड्न दिइएन भने हजार माइलको यात्रा कसरी पो गर्न सकिएला र ?’ सुशान्त पनि जुनसुकै पेसामा चुनौतीहरू हुने भए पनि अभिभावकले साथ र सहयोग दिएमा हरेक चुनौतीको सामना गर्न सकिने ठान्छन् । 

शिक्षा क्षेत्र अत्यधिक व्यावसायिक बन्दै गएकोमा सुशान्तको गुनासो छ । ‘मैले मिक्सिङ र मास्टरिङ सिक्न चाहेको थिएँ, तर तीन वर्षको कोर्समा गेममा साउन्ड राख्नेदेखि ब्याकग्राउन्ड स्कोरहरू बनाउनुपर्नेजस्ता धेरै अनावश्यक कुरा सिक्नुपर्‍यो । जुन मेरो आवश्यकता र प्राथमिकतामै थिएन,’ उनले भने । संगीत क्षेत्रमा निरन्तरता र स्थिरता कायम राख्न विकसित देशहरूमा नै पनि चुनौती रहेको रोशनी बताउँछिन् । भन्छिन्, ‘अझ हाम्रोजस्तो देशमा त संगीतलाई जीवन्त राख्न धेरै संघर्ष गर्नुपर्छ ।’

रोजेश शिक्षा प्रणालीलाई आर्थिक पक्षसँग जोडिएको भनी टिप्पणी गर्छन् । ‘शिक्षक र कलेजहरूले विद्यार्थीले दिएको शुल्कका आधारमा मात्रै शिक्षा प्रदान गरिरहेको महसुस हुन्छ,’ उनी भन्छन् ।

सुशान्त ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) ले संगीत क्षेत्रमा ठूलो परिवर्तन ल्याइरहेको मान्छन् । ‘मैले एआई प्रयोग गरेर गीत बनाएको मात्रै होइन, एआईले दुरुस्तै गाइदिएको पनि देखेको छु,’ उनी भन्छन् । यद्यपि, उनले एआईद्वारा सिर्जित गीतमा भावनाको कमी महसुस हुने टिप्पणी गर्छन् । भन्छन्, ‘एआईले संगीतमा धेरै सहयोग गरिरहेको छ, जस्तै लेभलिङ अत्यधिक भएमा यसले डिटेक्ट गर्ने रहेछ । तर, त्यो संगीतकारले नै सिर्जना गरेको गीतसँग तुलना गर्दा भावनाको अभाव देख्छु ।’

एक पर्फमरका रूपमा रोजेशले एआईको प्रभावलाई मिश्रित रूपमा हेर्छन् । ‘कम्पोजरको लागि अब मान्छे आवश्यक नै छैन,’ सुशान्तको भनाइमा असहमति जनाउँदै उनी थप्छन्, ‘मानिसले बनाएको धेरै गीतमा पनि भावनाको कमी छ ।’ 

रोजेश एआईको प्रगतिको कारण संगीतकर्मीको करिअर संकटमा पर्ने चिन्ता व्यक्त गर्छन् । ‘हामीले पढेको र सिकेको कुरा प्रयोग गर्ने ठाउँ पाउन गाह्रो हुनेछ । एआईले सबै काम गर्न थालेपछि चुनौती झन् थपिएको छ ।’ एआईले संगीत क्षेत्रमा रचनात्मकता थप्न सहयोग पुर्‍याएको रोशनीको धारणा छ । ‘यसले प्रयोगकर्ताको प्राथमिकतामा आधारित सेवा दिन थालेको छ, जसले संगीतको गुणस्तर सुधार्न सहयोग गरेको छ,’ उनी भन्छिन् । 

नेपाली संगीत उद्योगमा ‘जनरा’ को अभाव रहेको रोजेश बताउँछन् । ‘हाम्रो संगीतमा कुनै निश्चित जनरा छैन,’ उनले भने ‘एकैछिनमा एउटा र अर्को क्षणमा भिन्न शैली समावेश गरिएको देखिन्छ । उदाहरणका लागि, यदि रक शैलीको संगीत बनाउन लागिएको छ भने त्यसका सबै पक्षहरू रकमै आधारित हुनुपर्छ । तर, बीचमा पप शैली मिसाउँदा संगीतको गुणस्तर कमजोर हुन्छ ।’

संगीतले मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्ने भन्दै सुशान्त भन्छन्, ‘संगीतले हाम्रो मुड परिवर्तन गर्न र सकारात्मक ऊर्जा ल्याउन सहयोग पुर्‍याउँछ ।’ संगीतको उपचारात्मक गुणबारे चर्चा गर्दै रोजेश भन्छन्, ‘संगीतले हाम्रो जैविक प्रणालीलाई हिलिङ गर्ने काम गर्छ । नारायणगोपालको ‘मुटुमाथि ढुंगा राखी’ गीतले द्वन्द्वका कारण आफन्त गुमाएका वा घाइते भएकालाई त्यो बेला सान्त्वना दिने ल्याकत राख्छ ।’

संगीतले मानसिक र शारीरिक स्वास्थ्यलाई सन्तुलित बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेमा रोशनी विश्वास राख्छिन् । ‘संगीतले हाम्रो ध्यान केन्द्रित गर्न, नकारात्मक भावना हटाउन र खुसी बनाउने हर्मोन उत्पादन गर्न सहयोग गर्छ,’ उनी भन्छिन्, ‘यसले हाम्रो शरीर र मनलाई एकअर्कासँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्छ ।’

संगीतमा क्रान्ति र परिवर्तन ल्याउने शक्ति भएको रोजेशले महसुस गरेका छन् । ‘संगीतले समाजमा परिवर्तन ल्याएको छ । हामीकहाँ नै भएका विभिन्न चरणका क्रान्तिमा जनतालाई परिवर्तनका लागि जागरुक बनाउन संगीतले ठूलो मद्दत गरेको छ,’ उनले भने ।

सामाजिक परिवर्तनमा संगीतको भूमिका महत्त्वपूर्ण रहेकोमा रोशनी पनि मान्छिन् । ‘संगीतले सामाजिक सचेतना फैलाउने, समस्याहरू उजागर गर्ने, संकटमा सहयोग गर्ने र नखुलेको आवाज बन्ने काम गर्छ,’ उनले भनिन् ।

सुजाता मुखिया मुखिया कान्तिपुरको नारी मासिकमा कार्यरत पत्रकार हुन् ।

Link copied successfully