काठमाडौँ — अभिनेता हरिवंश आचार्यको मुख्य भूमिका गरेको फिल्म ‘भूठान’ आगामी वैशाख १२ देखि प्रदर्शनमा आउने भएको छ ।
विनोद पौडेलको निर्देशन रहेको यस फिल्ममा हरिवंशसहित दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीसहित हलिउड अभिनेता ब्रुस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । फिल्ममा हलिउडका केही प्राविधिकले पनि काम गरेका छन् ।
निर्देशक पौडेलले ‘भूठान’ को कथाले विश्वभरका दर्शकलाई प्रभाव पार्ने अपेक्षासहित भने, ‘यो फिल्म संसारभरका दर्शकका लागि बनाइएकाले पनि विश्वभरका जोसुकैले हेर्दा पनि कथाको भाव र गहिराइ महसुस गर्नेमा म विश्वस्त छु ।’
निर्मातामध्येका एक अविरल थापाले ‘भूठान’ मा हरिवंशको चरित्र र अभिनय दुवै उत्कृष्ट रहेको भन्दै ‘कालजयी फिल्म’ बन्नेमा ढुक्क रहेको बताए । नेपालमा आरआर फिल्मस् प्रोडक्सनले वितरण जिम्मा लिएको फिल्मको ‘ग्लोबल रिलिज’ को जिम्मा हलिउडकै वितरकमार्फत एकै मितिमा प्रदर्शन गर्ने गरी तयारी रहेको बताइएको छ ।
भुटानदेखि लखेटिएर शरणार्थीका रूपमा नेपाल हुँदै अमेरिका पुगेका भुटानीहरूले आफ्नो थातथलो छोड्नुपर्दाको पीडा र देशप्रेमको कथा समेटिएको ‘भूठान’ को छायांकन अमेरिकामै केही महिनाअघि मात्र सकिएको हो । फिल्ममा सुसन प्रजापतिको छायांकन, अञ्जय खड्काको सम्पादन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, भारतका अञ्जन गजुरेलको कला निर्देशन रहेको छ ।
