काठमाडौँ — काठमाडौंको मण्डला थिएटरमा माघ ४ देखि २७ सम्म ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने भएको छ । मुन्धुममा उल्लिखित पृथ्वीकै पहिलो नारी मुजिङ्ना खेयङ्नामा आधारित रहेर नाटक तयार पारिएको हो ।
नाटकमा अनिल सुब्बाको निर्देशन छ । नाटक मञ्चनको आधिकारिक घोषणा मण्डला थिएटर नेपाल, चुलाचुली रंगमञ्च र एक थिएटर नेपालले एकसाथ गरेका हुन् ।
पछिल्लो समय मुक्कुम्लुङ संरक्षण आन्दोलनसम्मको घटनाक्रमहरूलाई नाटकमा समेटिएको निर्माण पक्षले जनाएको छ । पछिल्लो समय ताप्लेजुङको मुक्कुम्लुङमा ‘मुक्कुम्लुङ संरक्षण’ अर्थात् ‘नो केबलकार’ आन्दोलन चलिरहेको छ । मुक्कुम्लुङ याक्थुङ (लिम्बू) हरूको पवित्र स्थल रहेको र केबलकार स्थापना गरिँदा मुक्कुम्लुङ र लिम्बूहरूको सम्बन्ध विस्थापन हुने सरोकारवालाको भनाइ छ ।
मुक्कुम्लुङको महत्त्व बुझाउन पनि नाटक तयार पारिएको एक थिएटर नेपालका अध्यक्ष विष्णु मोक्तानले बताए । ‘विशेषगरी मुक्कुम्लुङ साझा लिम्बुवान भूमि र लिम्बुवानीहरूको शिर हो,’ चुलाचुली रंगमञ्चका अध्यक्ष चेतन आङ्थुपोले भने, ‘यस भूमिका रैथाने समुदाय र प्रकृति पूजक मूलवासीहरूको आस्थाप्रति राज्यको संरक्षणमा जुन किसिमको दमन र विनाश भइरहेको छ, त्यसविरुद्ध कला र सिर्जनामार्फत पहिचानको पक्षमा गरिएको आन्दोलन नै हो, यो नाटक ।’
निर्देशक सुब्बाले पनि सिर्जनामार्फत आन्दोलनमा ऐक्यबद्धता जनाएको बताए । ‘पहिचानका लागि यो नाटक आफैंमा एउटा सशक्त आन्दोलन हो,’ सुब्बा भन्छन्, ‘हाम्रो भाषाको कुरा, संस्कार–संस्कृतिका कुराहरू किन लुकाइयो ? यिनै प्रश्नहरूको जवाफ हो यो नाटक ।’
नाटकको प्रमुख पात्रहरूमध्येकी एक कलाकार वेदना राईले नाटकसँग जोडिन पाउँदा आफू खुसी रहेको बताए । ‘आफू मात्र बाँचौं, आफ्नो आस्थाको धरोहर मात्र सुरक्षित गरौं र आफ्नो मात्र अधिकार जोगाऔं भन्ने सोच कति घातक हुन सक्छ ? भन्ने कुरा नाटकमा देखिनेछ,’ राई भन्छन्, ‘नाटक मुक्कुम्लुङले जसरी बाँच्न पाउने अधिकार मान्छेहरूलाई छ, त्यसैगरी जनावर र बोटबिरुवाको पनि रहेको सन्देश दिन्छ ।’
अनिल सुब्बा, गीलु रातोस र विष्णु मोक्तानको संयुक्त लेखन रहेको नाटकमा विष्णु मोक्तान, वेदना राई, सुरज तमु, प्रतिना राई, मानहाङ लावती, शोभा लिम्बूलगायतको अभिनय रहनेछ । नाटकमा मणि के. राईको कोरियोग्राफी रहेको छ भने प्रवृत्ति राई, युकेश राई र आशिष माझीले गायन र वाद्यवादनको काम गर्नेछन् ।
