संगीत क्षेत्रलाई पनि ‘रेमिट्यान्सको भर’

विदेशमा बस्ने नेपालीबाट गीतसंगीतका लागि जे जति भएको छ, त्यसले हामी कलाकारलाई जीविका चलाउन धेरै सहज बनाएको छ

पुस २४, २०८१

नारायण खड्का

The music sector is also filled with remittances.

अस्ट्रेलिया — गायक दाजुभाइ सत्यराज आचार्य र स्वरूपराज आचार्य अस्ट्रेलियाको सांगीतिक भ्रमण सकाएर दुई दिनपछि दुबईका लागि निस्कँदै छन् । अस्ट्रेलिया बसाइका क्रममा उनीहरूले सिड्नी, पर्थ, ब्रिसबन, एडिलेडलगायतका विभिन्न सहरमा प्रस्तुति दिएका थिए । सत्य–स्वरूप १२ वर्षअघि पहिलो पटक अस्ट्रेलिया कन्सर्टका लागि आएका थिए । 

दक्षिण अस्ट्रेलियामा प्रस्तुति दिन आएको समयमा आचार्य दाजुभाइ नेपाली गीत/संगीतका बारेमा केही चिन्तित देखिए । ‘नयाँ पुस्तामा सिर्जनात्मक ग्याप देख्छु, साधनाको कमी देखिन्छ, ओरिजिनालिटीको कमी झल्किन्छ । अलि गम्भीरता देखिँदैन,’ सत्यराजले कान्तिपुरसँग भने, ‘महत्त्वपूर्ण कुरा संगीतमा सर्टकट हुँदैन । यसरी आउने संगीतमा लामो समय टिक्दैनन् पनि ।’ सत्यको धारणासँग सहमत हुँदै स्वरूपले थपे, ‘संगीतमा रियाज गर्ने, प्राक्टिस गर्ने र त्यसलाई आफ्नो सिर्जनामा लगाउन सक्यो भने मात्र त्यो संगीत सिर्जनामा परिवर्तन हुन्छ । सिर्जनाले नै संगीतलाई कालान्तरसम्म जीवित राख्छ ।’ त्यसो त उनीहरू केही फरक सोच र संगीतसहित आएका युवाबाट उत्तिकै प्रभावित पनि छन् । भन्छन्, ‘त्यस्ता नयाँ प्रतिभाहरूबाट हामीले समेत सिकिरहेका हुन्छौं । फरक टेस्ट आइरहेको छ ।’ 

प्रविधिले ल्याएको सांस्कृतिक विकासको प्रशंसासँगै भित्रिएको विकृतिमा उनीहरूले असन्तुष्टि जनाए । एकातिर आटिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोग र त्यसले नेपाली संगीतमा निम्त्याइरहेको प्रभावका बारेमा समेत उत्तिकै चिन्तित देखिए । ‘अहिलेको पुस्ता एआईप्रति अलि बढी नै निर्भर भइरहेको पो हो कि ?’ सत्य थप्छन्, ‘एआईको प्रयोग गर्दै संगीत सिर्जनामा निर्भर हुनुभन्दा पनि आफ्नो मौलिक सिर्जनामा युवापुस्ता लाग्नुपर्छ जस्तो लाग्छ ।’

त्यसो भन्दै गर्दा उनीहरूले अहिलेका केही युवामा देखिएको फरक स्वाद र सिर्जनालाई खुलेर प्रशंसा पनि गरे । ‘नयाँ सोच र सिर्जनाका साथ जति युवा आएका छन् उनीहरूप्रति आशावादी हुने ठाउँ प्रशस्त देखिन्छ,’ स्वरूपले भने, ‘युवाहरू प्रविधिमा धेरै धनी छन्, उनीहरूले प्रविधिको सदुपयोग गर्दै आफ्नो सिर्जनालाई पनि यस्तै रिच बनाउन सक्नुपर्छ ।’

यी दुई गायक दाजुभाइ पछिल्लो समय आफ्नो आधुनिक र गजल गायनको शैलीलाई परिवर्तन गर्दै लोकलयका गीततर्फ आकर्षित भएको बताउँछन् । उनीहरूले नेपाल फर्केलगत्तै लोकशैलीकै गीत सार्वजनिक गर्ने योजना रहेको सुनाए । नेपाली संगीत सिर्जनामा लागिपरेका सत्य–स्वरूपले नेपाली संगीतको हरेक परिवर्तन र विकासलाई अनुभव गरेका छन् ।

पछिल्लो समयमा संगीतको मर्म गुम्दै गएको उनीहरूको अनुभव छ । ‘सुनिने र महसुस गरिने संगीतभन्दा देखिने र हेरिने संगीतको प्रयोग बढिरहेको छ,’ उनीहरू थप्छन्, ‘पछिल्लो समय संगीतलाई हेरिने बनाउनेतर्फ जोड दिइएको छ, जसले नेपाली संगीतको मूल मर्मलाई नकारात्मक असर पुर्‍याइरहेको छ ।’ 

नेपाली संगीतका हस्ती र भजन गायनको क्षेत्रमा विशिष्ट पहिचान बनाएका भजनशिरोमणि भक्तराज आचार्यका छोरा सत्य–स्वरूप नेपाली आधुनिक संगीतमा जमेका हस्ताक्षर हुन् । बुबाको सांगीतिक नाम र छविको प्रभाव रहे पनि आफूहरूले नेपाली संगीतलाई आफ्नोतर्फबाट दिन सक्ने योगदान दिइरहेको भन्दै उनीहरू गर्व गर्छन् ।

सत्य–स्वरूपले संगीतमा नाम, प्रशंसा र चर्चा सबै कमाए । तर कहिल्यै पनि प्रतिस्पर्धाको दौडमा नलागेको बताउँछन् । ‘नम्बर एक हुने वा कसैलाई जित्ने दौडमा कहिल्यै सामेल भएनौं,’ सत्य भन्छन्, ‘संगीतकर्मलाई जोडघटाउमा हिसाब गर्न थाल्नुभयो भने त्यसले व्यक्तिगत इगो र अनावश्यक प्रतिस्पर्धा सिर्जना गर्छ, जुन हामी चाहन्नौं ।’ उनीहरू अहिलेका युवा पुस्तालाई पनि विशुद्ध सिर्जनामा ध्यान र समय लगाउन सुझाव दिन्छन् । 

संगीतको माध्यमबाट विदेशमा रहेका लाखौं नेपाली भेटिसकेका उनीहरूले अनुभव गरेको कुरा भनेको देश, कला र संगीतप्रतिको स्नेह र माया नै हो । त्यसैले पनि यी दाजुभाइ संगीतले कुनै गायक तथा संगीतकारको परिचय बोक्ने नभई समग्र देश, कलासाहित्य बोक्ने भएकाले त्यसरी नै आफ्नो प्रस्तुति हुनुपर्ने सुझाव दिन्छन् ।

संगीतकर्मको यत्तिका समयमा उनीहरूले अनुभव गरेको एउटै कुरा भने निरन्तर अध्ययन नै हो । ‘अध्ययनले सिजनशील हुन सिकाउँछ भने सिर्जनशीलताले नयाँ नयाँ सिर्जना बनाउन सकिन्छ,’ स्वरूप अहिलेका युवालाई समेत अध्ययन, अनुसन्धानमा लाग्न सुझाउँछन्, ‘सकेसम्म धेरै पुस्तक अध्ययन गर्ने, संगीत र साहित्यसम्बन्धी सिर्जना भएका लेख तथा अनुसन्धानलाई पढ्ने । अध्ययनले व्यक्तिको सिर्जनशीलतालाई निखार्ने मात्र नभई नवीन सोच र नयाँ प्रयोग गर्न उत्प्रेरित गर्छ ।’

साहित्यलाई नबुझेसम्म संगीतलाई पनि बुझ्न नसकिने भन्दै यी दाजुभाइ अहिलेका युवाले यसलाई बुझ्न जरुरी भएको बताउँछन् । करिब ३ दशकको सांगीतिक जुगलबन्दी गरिसकेका यी दाजुभाइले विश्वका करिब ३५ देशमा सयौं सांगीतिक कार्यक्रम सकिसकेका छन् । ‘हामी दुई ज्यान भए पनि सांगीतिक कर्ममा एकै हौं,’ दुवै एकै स्वरमा भन्छन् । लामो समयसम्म आफ्ना बिरामी बुबाको स्याहार गरेका उनीहरू घरबाट दिइने संस्कार र सिकाइ नै त्यसका लागि महत्त्वपूर्ण भएको सुनाउँछन् । अहिले पनि उनीहरू कार्यक्रमका लागि जहाँ जान्छन्, सँगै जान्छन् र प्रस्तुति दिन्छन् ।

उनीहरूलाई लाग्छ, ‘यदि बाआमाको सेवा गरियो र परिवारमा एक भइयो भने हरेक क्षेत्रमा सफलता पाउन सकिन्छ ।’ उनीहरू संगीत क्षेत्रसमेत ‘रेमिट्यान्स’ मै चलिरहेको बताउँछन् । ‘विदेशमा बस्ने नेपालीबाट गीतसंगीतका लागि जे जति भएको छ, त्यसले हामी कलाकारलाई जीविका चलाउन धेरै सहज बनाएको छ,’ सत्य भन्छन् ।

नारायण खड्का अस्ट्रेलियाका कान्तिपुर प्रतिनिधि हुन् । उनले प्रवासी नेपाली समाज, राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully