सिन्धुपाल्चोक — चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटेमा भएको साहसिक खेल ‘२३ औं हिमालयन वाटर च्यालेन्ज’ प्रतियोगिताका दुई विधाको उपाधि भोटेकोशी एडभेन्चर क्लब र र्याफ्टिङ स्टारले उचालेका छन् ।
नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिस् (नारा) को आयोजनामा शनिबार र आइतबार भएको ‘ह्वाइट वाटर राफ्ट रेस’मा भोटेकोशी क्लब र ‘कायक रेस’मा र्याफ्टिङ स्टारका खेलाडी प्रथम भएका हुन् ।
नाराका अध्यक्ष शिव अधिकारीका अनुसार दुई दिन भोटेकोशी र ब्रह्मायणी नदीमा भएको साहसिक प्रतियोगितामा ६० खेलाडीले दुई विधामा प्रतिस्पर्धार् गरेका थिए । जसमा १२ र्याफ्टर पनि सहभागी थिए । नाराले सन् २००२ देखि हरेक वर्षर् यो प्रतियोगिता गर्दै आएको छ । आइतबार टिम इभेन्टमा भएको ‘डाउन रिभरमा ह्वाइट वाटर राफ्ट रेस’मा १५ किमि दूरीमा २९:५७ मिनेटमा यात्रा पूरा गरेर भोटेकोशी क्लब प्रथम भयो भने नेपाल रिभर रनर द्वितीय र र्याफ्टिङ स्टार तृतीय भएका छन् ।
यस विधामा विजयी टिममा प्रथम हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजारसहित सिल्ड मेडल र प्रमाणपत्र पाएका थिए । शनिबारको ‘स्लालोम’ खेलमा र्याफ्टिङ स्टारका अशोक चौधरीले ४ सय अंक पाएर विजयी भए । ‘डाउन स्ट्रिम कायाक रेस’मा र्याफ्टिङ स्टार कृष्ण खड्का दोस्रो र विजय माझी तेस्रो भएका हुन् । यसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार पाए । विजेता टिमलाई आइतबार बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपेन्द्र श्रेष्ठ र नाराका पदाधिकारीले पुरष्कार वितरण गरेका थिए ।
