‘साइबर डेटिङ’ ले जोखिममा युवा

देशभरका १६ देखि २४ वर्ष उमेर समूहका ५ हजार ३ सय जनामाथि गरिएको एक सर्वेक्षणमा ४०.५ प्रतिशतले अनलाइन माध्यमबाट अन्तरंग सम्बन्ध रहेको र त्यसमा करिब २५ प्रतिशतले आफूमाथि ‘एक्स–पार्टनर’ बाट बढी हिंसा, धम्की, दुर्व्यवहार हुने गरेको बताएका छन्

पुस २१, २०८१

सजना बराल

Youth at risk with 'cyber dating'

काठमाडौँ — साइबर सुरक्षा क्षेत्रमा एउटा भनाइ लोकप्रिय छ– ‘इट्स इजियर टु फुल अ ह्युमन द्यान द अ मेसिन ।’ अर्थात्, कुनै मेसिनलाई झुक्याउनभन्दा मानिसलाई झुक्याउन धेरै सजिलो छ ।

यही कारण ह्याकरहरूले आजभोलि साइबर आक्रमणमा कम्प्युटर वा डिभाइस ह्याक गरिरहनुभन्दा प्रयोगकर्ताकै विश्वास जितेर पासवर्ड र ‘क्रिडेन्सियल’ फुत्काउने अनेक काइदा अपनाउने गरेका छन् । तर, यस्तो काम ह्याकरमा मात्रै सीमित छैन ।

साइबर डेटिङका क्रममा कतिपय ‘इन्टिमेट पार्टनर’हरूले समेत ललाइफकाइ वा भावनात्मक दबाब सिर्जना गरेर एक–अर्काको पासवर्ड माग्ने, अनलाइनमा अधिक चियोचर्चो गर्ने, धम्की दिनेजस्ता काम गर्ने गरेको पाइएको छ । नेपालमा अनलाइन इन्टिमेट पार्टनर भायलेन्स (अनलाइन अन्तरंग सम्बन्धमा हुने हिंसा) को जोखिममा रहेका किशोरकिशोरी र युवाहरूबारे हालै एउटा अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । 

काठमाडौंकी १६ वर्षीया एबी (नाम परिवर्तन) ले इन्स्टाग्राममार्फत एक युवकलाई साथी बनाएकी थिइन् । सुरुमा उनीहरूबीच रमाइलो कुराकानी हुन्थ्यो । केही महिनापछि ती साथीले एबीको फेसबुक पासवर्ड माग्न थाले ।

एबीले अस्वीकार गरेपछि उनका पार्टनरले सुरुमा ‘गर्लफ्रेन्ड–ब्वाइफ्रेन्ड भएपछि यति पनि नगर्ने’ भनेर निकै गुनासो गरे । एबीलाई दिउँ कि जस्तो लागेको थियो तर यो ठीक होइन भनेर मानिनन् । उनका ती ‘अनलाइन ब्वाइफ्रेन्ड’ले धम्कीपूर्ण सन्देशहरू पठाउन थाले । ‘जथाभावी बोल्ने, गाली गर्ने गर्‍यो,’ एबीले भनिन्, ‘त्यसपछि मैले त्यसलाई ब्लक गरिदिएँ ।’ 

चितवनकी १९ वर्षीया सीडी (नाम परिवर्तन) ले पनि अनलाइन डेटिङ एपमार्फत एक जनासँग सम्बन्ध विस्तार गरेको र सुरुमा सबै कुरा राम्रो लागे पनि पछि ती व्यक्तिले उनका व्यक्तिगत तस्बिरहरू अरूलाई ‘फर्वाड’ गरिदिने धम्की दिन थालेको सुनाइन् ।

‘उसले फोन गरेको बेला उठाउनैपर्ने, राति २ बजेसम्म भिडियो कल गर्नैपर्ने, मलाई लिएर अति नै अब्सेस्ड हुन थाल्यो,’ सीडी भन्छिन्, ‘मैले ब्रेकअपबारे कुरा गरेपछि मेरो प्राइभेट फोटो अरूलाई फर्वाड गरिदिन्छु भनेर ब्ल्याकमेल पनि गर्‍यो ।’ यसबारे आफ्नी दिदीलाई सुनाएको र दिदीले ऊसँग कुरा गरेर प्रहरीकोमा लग्छु भन्नासाथ ती व्यक्तिले माफी मागेको सीडीले बताइन् । 

यी दुई किशोरीको अनुभवले अनलाइनमा हुने अन्तरंग सम्बन्धभित्रको जोखिम झल्काउँछ । ‘सेक्सुअल भायलेन्स रिसर्च इनिसिएटिभ’सँगको सहकार्यमा ‘चाइल्डसेफनेट’ले गरेको ‘किशोरकिशोरी र युवाहरूमा अनलाइन अन्तरंग सम्बन्धमा हुने हिंसा’ सम्बन्धी प्रतिवेदनले पनि अनलाइनमार्फत बनेको अन्तरंग सम्बन्धका कारण किशोरकिशोरी र युवाहरू विभिन्न किसिमका हिंसाको जोखिममा पर्दै आएको देखाएको छ । 

सातवटै प्रदेशका १६ देखि २४ वर्ष उमेर समूहका ५ हजार ३ सय सहभागीमाझ गरिएको सर्वेक्षणमा करिब २५ प्रतिशतले आफूमाथि यस्तो हिंसा भएको बताएका छन् । यस्ता घटनामा पीडितहरूले आफ्ना ‘एक्स–पार्टनर’बाट बढी हिंसा, धम्की, दुर्व्यवहार झेल्ने गरेको बताएका छन् । सर्वेक्षणमा १० जिल्ला र १३ नगरपालिकाका सहभागीमध्ये ४०.५ प्रतिशतले आफ्नो विगत वा वर्तमानमा अनलाइन माध्यमबाट अन्तरंग सम्बन्ध रहेको खुलाएका छन् । 

किशोरकिशोरी र युवाहरूलाई साथी बनाउन र प्रेम सम्बन्ध स्थापित गर्न डिजिटल प्लाटफर्महरू सहज माध्यम भए पनि यिनै प्रविधिको दुरुपयोग हुँदा प्रेमले कहिलेकाहीं हिंसाको रूप लिन सक्ने अध्ययनले देखाएको हो । सामाजिक सञ्जालमा पार्टनरका हरेक गतिविधिको चियोचर्चो (साइबर स्टकिङ) गरिने, अरूसँग बोल्न वा अर्काको पोस्टमा लाइक वा कमेन्टसमेत गर्न नदिने, गाली र धम्कीपूर्ण म्यासेज पठाउने, पासवर्ड माग्ने, रिभेन्ज पोर्नजस्ता हिंसाका विविध पक्ष हुँदै आएको अध्ययनमा उजागार भएका छन् ।

‘हाम्रो सर्वेक्षणमा सहभागीमध्ये अन्तरंग सम्बन्धमा रहेका चारमध्ये एक व्यक्तिले आफूमाथि अनलाइन इन्टिमेट पार्टनर भ्वायलेन्स भएको बताएका थिए,’ अनुसन्धानकर्ता तुलसा खड्काले भनिन्, ‘कुल ११ प्रतिशत सहभागीहरूले वयस्क र नाबालिगबीचको सम्बन्ध रहेको जनाएका थिए ।’

खड्काका अनुसार ६ महिनाभन्दा कम समय सम्बन्धमा रहेकाहरू यस्ता हिंसाको उच्च जोखिममा पर्ने गरेका छन् । चाइल्डसेफनेटका अध्यक्ष अनिल रघुवंशीले नेपालको कानुनले अविवाहित जोडीहरूको अन्तरंग सम्बन्धलाई नचिन्ने भएकाले यस्ता समस्या प्रहरी वा अदालतसम्म कमै मात्र पुग्ने गरेको टिप्पणी गरे । 

एक चर्चित क्रिकेटरसँगको अनलाइन कुराकानी र भेटघाट बलात्कारमा परिणत भएको दाबी गर्दै एक किशोरीले दायर गरेको मुद्दामा किशोरीका तर्फबाट बहस गरेकी अधिवक्ता शान्ति रिजाल काफ्ले यस्ता घटनामा पीडित पक्षलाई नै दोष दिने प्रवृत्ति रहेको बताउँछिन् ।

यस्ता घटना प्रायः निजी ठाउँमा हुने भएकाले प्रमाण जुटाउन कठिनाइ हुने र पीडितको चरित्रहत्या गरिने उनले औंल्याइन् । ‘सो घटनामा सामाजिक सञ्जाल प्रयोग गरेर पीडितलाई गाली गर्ने, ज्यान मार्ने वा बलात्कारका कैयौं धम्की आए,’ काफ्लेले भनिन्, ‘उनको अति व्यक्तिगत विवरणहरू सार्वजनिक गरियो, युट्युब च्यानल खोलेरै पीडकको पक्षमा प्रचार गर्ने र पीडितलाई अपमानित गर्ने काम भयो ।’ 

राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले भने बालबालिकालाई अनलाइनमा सुरक्षित राख्न आफूहरू प्रतिबद्ध रहेको बताए । ‘अहिले एआईको युगमा अभिभावकले इन्टरनेटको दुरुपयोगकर्ताबाट आफू कसरी बच्ने र बालबालिकालाई कसरी बचाउने भन्ने चिन्ता छ,’ बानियाँले भने, ‘बालबालिका र किशोरकिशोरीहरूलाई इन्टरनेटमा सुरक्षित तवरले एक्स्पोजर दिँदा उनीहरू असुरक्षित हुने गरेका छन् । किशारेकिशोरीहरूलाई अनलाइनमा सुरक्षित राख्नु हामी सबैको जिम्मेवारी हो ।’

सजना बराल बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully