नेवाः संगीतमा फ्युजनको प्रयोग

पश्चिमा र नेवाः बाजाको फ्युजन उजन शाक्यको शैली हो, त्यही शैलीमा उनी पश्चिमेली शैलीको गायकी मिसाउँछन्, त्यही गीतमा नेवाः संगीतका क्लासिक धुनलाई कलात्मक रूपले जोडिदिन्छन् ।

पुस १९, २०८१

रीना मोक्तान

Neva: The use of fusion in music

काठमाडौँ — कोभिडमा खाली समय कसरी बिताउने ? उजन शाक्यलाई संगीत निर्माणमा रुचि । कोठामा थुनिएरै बस्दा पनि उनका रुचिहरू थुनिएनन् । बन्द कोठाभित्र संगीत निर्माणका अनलाइन स्रोत पहिल्याए अनि सिक्न थाले कुन लयमा कस्ता धुन मिसाउने भनेर ।

चार्ली बुटहरूलाई पछ्याउँदै संगीत सिर्जना गरे, नेपाली भाषामा ८ गीत महिनैपिच्छे युट्युबमा राख्दै गए । गीतहरूले खासै भ्युज बटुलिरहेको थिएन, उजनलाई भने संगीत निर्माणको त्यही प्रक्रियाले लोभ्याइरह्यो । परिवार भन्थे, ‘कोठाभित्रै थुनिएर के गर्छौ ? बाहिर पनि निस्कने गर ।’

परिवारले नेपाल भाषाको गीत बनाउन सल्लाह दिए । त्यही सल्लाह मान्दै सार्वजनिक गरेको ‘थौं कन्हे’ ले नसोचेको भ्युज पाएपछि उजनलाई लाग्यो, ‘सायद दर्शक यस्तै गीतको खोजीमा हुनुहुन्छ ।’ घरमै रेकर्ड गरिएको नेपाल भाषाको यो गीत चलेपछि नै हो, उजनले ‘मैचा’, ‘राजमती चा’, ‘लुमन्ती’ जस्ता गीतहरूमार्फत नेवाः संगीतमा नयाँ मिठास थपिदिएको ।

एफ्रो विधामा नेवाः बाजा मिसाउँदै संगीत क्षेत्रलाई नवीन संगीत पस्किरहेका गायक उजन कोभिडपछि फक्रिएका हुन् । पश्चिमा र नेवाः बाजाको फ्युजन उनको शैली हो । त्यही शैलीमा उनी पश्चिमेली शैलीको गायकी मिसाउँछन् । त्यही गीतमा नेवाः संगीतका क्लासिक धुनलाई कलात्मक रूपले जोडिदिन्छन् ।

यही कारणले उजन नेवाः संगीतका लागि नौलो स्वाद, नयाँ विधाका रूपमा उदीयमान छन् । सन् २०१६/१७ तिर अंग्रेजी गीतमै ठमेलतिर ‘गिग’ गर्थे, उजन । ‘इगल्स ब्यान्ड’ को कन्ट्री रकबाट प्रभावित भएर उस्तै किसिमका गीतहरू गाउँथे । लकडाउनअघि आफ्नो ब्यान्ड ‘इमर्ज’ को च्यानलबाट ‘त्यसैले चाँडै आऊ’ र ‘मधहोस’ गीत रेकर्ड गरेर सार्वजनिक गरे । खासै चलेन गीतहरू ।

बीआईएम (ब्याचलर इन इन्फरमेसन टेक्नोलोजी) पढ्दा संगीतका लागि समय निकाल्न गाह्रो पर्थ्यो । कोभिडले संगीत निर्माणको बाटो देखाइदियो ।

‘थौं कन्हे’ पछि रमाइलो शैलीको गीत निर्माण गर्ने सोचसहित ‘मैचा’ बनाए ।

स्वां स्वया, छ हे लुमना वल

मन जिगु, सिच्चुसे च्वना वल

उकिं छ वनेमते, त्वःताः जितः थन

फ्य वः सां, वा वः सां...

मैचाको एउटा पंक्ति निकै चल्यो, ‘गन वने त्यना गन वने त्यना, गन वन त्यना रे मैचा । वने मते आः ला, हथाय् चाये मा : ला, गन वने त्यता रे’ । अर्थात् कहाँ जान ला’को, कहाँ जान ला’को ? लकडाउनपछि खुलेको संसारमा कल्पिएको यो पंक्तिमा महिला पात्रलाई घर फर्कन हतार छ । तर, पुरुष पात्र भने प्रेमिकासँग समय मागिरहेका छन् ।

कोभिडपछि संसार खुल्यो भने दुई प्रेमिल जोडी भेट्दा के गर्दा हुन् ? के भन्दा हुन् ? भन्ने कल्पेरै बनाइएको ‘मैचा’ हिट भयो । तर, यो गीत चलेको कुरा उजनले अलि पछि मात्रै थाहा पाए । खासमा कोठाभित्रै धेरै समय बिताउन थालेपछि परिवारले उजनलाई बाहिर निस्कन भनिरहन्थे । त्यसैले उनले संगीत निर्माणको त्यो दैनिकीबाट ‘ब्रेक’ लिने सोचे ।

युट्युबमा मैचा सार्वजनिक गरेर सामाजिक सञ्जालबाट बाहिर बसे । ‘परिवारसँग बसेर लुडो खेल्छु, उहाँहरूसँग समय बिताउँछु भनेर ब्रेक लिएको थिएँ । त्यतिबेलै गीत चलेछ,’ उजनले सम्झे । गीत सार्वजनिक गरेको दुई सातापछि एक दिन उजनलाई आफ्नो ब्यान्डका ड्रमरको फोन आयो, ‘मैचा त भाइरल गयो नि, थाहा छ ?’ उजन दंग । टिकटकमा जो कोहीले यही गीतमाथि टिकटक बनाएका रहेछन् । सफलताले उजनलाई अन्य नेपाल भाषाका गीतहरू गर्ने ऊर्जा थप्यो ।

त्यसपछि ‘नुग’, ‘मतिना’, ‘राजमती चा’ र ‘लुमन्ती’ बनाए । ‘मलाई गाउनभन्दा पनि म्युजिक प्रड्युस गर्न मन पर्छ । मिक्सिङ, मास्टरिङ गर्न पनि मन पर्न थाल्यो । पहिला जिज्ञासाले सिक्न लगायो, अहिले रमाइलो लाग्न थालेको छ,’ उजन सुनाउँछन्, ‘मलाई गीतको मेलोडी त्यसै आइरहेको हुन्छ । संगीत बनाइसकेपछि आफैं हमिङ गर्छु, मेलोडी आउनेबित्तिकै रेकर्ड गर्छु । यो गीत चलेको देख्दा म अहिले पनि छक्क पर्छु ।’Neva: The use of fusion in music

यसबीच उनले नेवाः संगीतलाई नजिकबाट नियाले, नयाँ स्वादका गीतहरू खासै निस्किरहेको थिएन । कमेडी शैलीका गीतहरू मात्रै आइरहेका थिए । नेवाः संगीतमा राम्रा गीतहरू आउन छाडेकै कारण पनि उजनलाई नेवाः भाषाका गीतहरू ल्याउनुपर्छ भन्ने लाग्यो । उनलाई नेवाः संगीतलाई आधुनिकीकरण गराउनु थियो । तर, आधुनिकीकरणको चक्करमा उजनका गीतहरूबाट नेवाः मर्म हराउँदै गयो ।

मैचा बनाउँदासम्म पनि उनी नेवाः मर्मभन्दा पनि गीतलाई मोडर्न बनाउनुपर्छ भन्ने ध्याउन्नमा हुन्थे । मोडर्न हुने चक्करमा उनका गीतबाट नेवाः समुदायका परम्परागत वाद्यवादन छुट्यो । त्यही अनुभवले ‘राजमती’ देखि परम्परागत वाद्यवादन मिसाउन थाले । विधाकै हिसाबले राजमती एफ्रो हो तर त्यसमा नेवाःरी बाजाको फ्युजनले गीतलाई पृथक् बनाइदियो । ‘राजमती बनाइसकेको थिएँ, दसैं र तिहारको बीचमा हामी कजनहरू घुम्न चितवन गएका थियौं । आइफोनमा भिडियो बनाउँ न भनेर राजमती चा गाएर टिकटकमा राखें । ठाउँको ठाउँ हिट,’ उनले भने ।

‘लिकलिक’ मा बाजा ताहरू प्रयोग गरे । ‘लुमन्ती’ मा खिं र ता मिसाइदिए । बाँसुरी पनि मिसाइदिए । ‘मेरो विधा त एफ्रो नै हो तर त्यसमा म नेवाः बाजाहरू मिसाउँछु,’ उजन भन्छन् । उनको अबको योजना परम्परागत संगीतलाई मोडर्न बनाउनु नै हो । त्यही उद्देश्यले आफ्ना गीतमा पुराना नेवाः संगीत पनि घुसाइदिन्छन् । ‘राजमती चा’ मा क्लासिक गीत ‘राजमती वा’ को समिश्रण गरिदिएका छन् ।

पुरानो गीतकै अभिनेत्री हिसिला महर्जनको इन्ट्रीले पनि गीतको भिडियोलाई सर्वाधिक चर्चामा पुर्‍याइदियो । उनको उपस्थितिले ‘राजमती वा’ र ‘राजमती चा’ को समिश्रणले गीतलाई अर्कै तहमा पुर्‍यायो । ‘लुमन्ती’ मा पनि ‘नाप्प चोने मदुसां ख्वा जक जु सां वा रे नीरमाया’ जस्ता नेवाः संगीतका सदाबहार गीत मिसाइदिएका छन् । 

‘यो गीतले हामी सँगै हुन नपाए पनि अनुहार मात्र देखाउन भए पनि आउनु भन्ने अर्थ दिन्छ । लुमन्तीको अर्थ सम्झना हो । त्यसैले मेरो गीतको भावलाई क्लासिक गीतले उठाइदियो,’ उजनले सुनाए, ‘मैले त्यो पुरानो गीतलाई प्रयोग गर्नु त मेरो स्टाइल भयो । मोडर्न गर्नु भनेको पुरानो संगीतलाई बिगार्ने वा विस्थापन गर्ने होइन । ती गीतहरूलाई सम्झिरहोस्, ती गीतलाई फेरि दर्शकले सुनिदेओस् भन्ने उद्देश्य पनि हो मेरो । मैले यसरी पुरानो गीत मिक्स गर्दा कतिले त त्यही पुरानो गीतलाई पनि खोजेर सुन्नुहुन्छ नि ।’

उजनलाई अहिले नेवाः संगीतमा नसोचेको लहर आएको भान भएको छ । उजनसँगै कुम सागर, रोजमानका गीतहरूले नेवाः संगीतमा यो बहार ल्याएको हो । आफूहरूको गीतको धुन, लयले दर्शक तानेकै कारण नेवाः भाषाका गीतहरू चर्चामा आएको उनी सुनाउँछन् । संगीतको कुनै भाषा हुँदैन । ‘सायद अहिले सबै जना संगीतको भाइभमै रमेको देखिन्छ ।

दर्शकले त पहिला गीतको शब्दभन्दा पनि त्यसको धुनमा रमेको देखिन्छ । अहिलेको नेवाः गीतहरूको त्यही धुनले नै तानेको हो,’ उनी भन्छन्, ‘रोजमान महर्जनको पकड शब्द रचनामा बलियो छ । कुमा सागरले डाफा भजनमा मेटल शैलीलाई मिसाउनुभएको छ । त्यसैले अहिले उहाँहरूकै कारण पनि नेवाः संगीतमा यस्तो लहर देखिएको हो ।’

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully