आईसीसी २०२४ का उत्कृष्ट खेलाडीमा एकमात्र बलर
काठमाडौँ — ‘सायद जसप्रित बुमराहमा कुनै कमजोरी नै छैन,’ भारतका पूर्वब्याट्सम्यान र हालका क्रिकेट कमेन्टेटर सञ्जय मान्जरेकर भन्छन् । यति राम्रा बलर हुन्, उनी । त्यसैले भारतीय टिमका लागि उनको असाध्यै धेरै महत्त्व छ । मान्जरेकर मात्रै होइनन्, भारतका पुराना खेलाडीहरू अहिले उनको प्रशंसामै समय बिताइरहेका छन् ।
त्यसो त मेलबर्न क्रिकेट मैदानमा भएको चौथो टेस्टमा भारत अस्ट्रेलियाको हातबाट ठूलै अन्तरले पराजित रह्यो । यस हारसँगै पाँच खेलको सिरिजमा भारत पछाडि पनि परेको छ । तर कसैले पनि बुमराहको प्रदर्शनमा कहीं कतै कमजोरी देखिरहेका छैनन् ।
खासमा यो चौथो टेस्ट खुबै रोमाञ्चक रह्यो । टेस्टको चौथो दिन बुमराहले यति धेरै उत्कृष्ट बलिङ गरे कि अस्ट्रेलियाली मध्यक्रम ध्वस्तजस्तै भएको थियो । यसले एक समय भारतीय जितको सम्भावना पनि बनेको थियो । तर जसरी बलरका रूपमा बुमराहले प्रदर्शन गरे, त्यस्तै प्रदर्शन ब्याटरले भारतका लागि गर्न सकेनन्, अझ भन्दा रोहित शर्मा र विराट कोहली निकै फितलो रहे ।
बुमराहले मेलबर्नमा नौ विकेट लिए, पहिलो इनिङ्समा चार अनि दोस्रोमा पाँच । मान्जरेकर थप्छन्, ‘बुमराह भारतीय क्रिकेटका लागि उपहार हुन्, जति बेला उनलाई लिएर कुनै अपेक्षा हुन्छ, त्यसलाई बुमराहले पूरा गर्छन् नै । टेस्टदेखि वान डे होस् वा टी–ट्वान्टी क्रिकेट, ती सबैमा बुमराह छाएकै हुन्छन् ।’ अहिले ठ्याक्कै उनको धेरै चर्चा किन पनि छ भने मेलबर्नमा भएको त्यही खेलकै क्रममा उनले २०० औं टेस्ट विकेट हात पारेका छन् ।
र, यही तथ्यांकमा टेकेर भन्न सकिन्छ, यत्तिको बलर विरलै मात्र देख्न पाइन्छ । टेस्ट क्रिकेटको लामो न लामो इतिहासमा बुमराह त्यस्तो पहिलो बलर हुन्, जसले दुई सय विकेट त लिए नै, त्यो पनि १९.५ को औसतले । यसको अर्थ के भने, उनी औसतमा २० रन दिएपछि एक विकेट त लिइहाल्छन् । उनको जत्तिकै प्रदर्शन गर्ने अन्य तीन बलर पनि छन्, खासमा उनीभन्दा केही टाढा । संयोगले तीनै बलर वेस्ट इन्डिजका हुन् । त्यसमा म्याल्कम मार्सल, जोए गारनर र कर्टली एम्ब्रोज आउँछन् ।
मार्सलले २०.९४ को औसतमा दुई सय विकेट लिए । यत्तिकै विकेटका लागि गार्नरले २०.९७ र एम्ब्रोसले २०.९९ को औसत बनाए । ती तीनै बलरलाई विश्व क्रिकेटकै महान् खेलाडी सूचीमा राखिन्छ । जति बेला विश्व क्रिकेटमा वेस्ट इन्डिजको एकछत्र राज चलिरहेको थियो, त्यही बेलाका खेलाडी हुन्, उनीहरू । त्यसमध्ये एम्ब्रोज लगभग अन्तिम पुस्ताका खेलाडी रहे । भनेपछि अब बुमराहको तुलना ती खेलाडीसँग पनि हुन थालेको छ ।
विश्व क्रिकेटमा वासिम अक्रमलाई पनि उत्तिकै महान खेलाडीको सूचीमा राखिन्छ । आफ्नो बायाँ हाते बलिङको मद्दतले सन् ९० को दशकतिर उनी तहल्का मच्चाउँथे । आजभोलि बुमराहको तुलना तिनै अक्रमसँग पनि हुन थालेको छ । अस्ट्रेलियाका पुराना खेलाडी जस्टिन ल्यान्गर भन्छन्, ‘बुमराह अक्रमको दायाँ हाते संस्करण हुन् । अक्रमले जसरी आफ्नो समयमा खेल्थे, बुमराह अहिले त्यसरी नै खेलिरहेका छन् ।’
अझ उनी के पनि मान्छन् भने बुमराह नै त्यस्ता बलर हुन्, जसले अस्ट्रेलियाली ब्याटरलाई सपनामा पनि दुःख दिने गर्छन् । त्यसैले त हो, बुमराह सजिलै भारतका लागि सबैभन्दा कम टेस्ट खेलेर दुई सय विकेट लिने बलर पनि बनेका छन् । यसबीच अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सोमबार मात्रै सन् २०२४ को उत्कृष्ट खेलाडीको सूची निकालेको छ । त्यसमा पनि बुमराह परेका छन् । उनीसँगै प्रत्याशीमा इंग्ल्यान्डका ह्यारी ब्रुक्स, जो रुट र अष्ट्रेलियाका ट्रेभिस हेड पनि छन् ।
त्यसमध्ये एक खेलाडीले ‘सर ग्यारफिल्ड सोबर्स ट्रफी’ जित्नेछन् । त्यसमा जहाँ ब्रुक्स, रुट र हेड ब्याटर हुन्, त्यहीं बुमराह मात्रै बलर छन् । उनी यस सूचीमा पर्नु पछाडि टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन त छँदै छ, सँगै गत जुनमा भएको टी–ट्वान्टी विश्वकपमा उनको उत्तिकै उच्च बलिङ पनि कारक रहेको छ । त्यस प्रतियोगितामा उनले १५ विकेट लिएका थिए, त्यो पनि अविश्वसनीय ८.२४ को औसतले । त्यसैले उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि घोषित भए ।
उनकै प्रदर्शनले त हो, भारत त्यस प्रतियोगिताको च्याम्पियन भएको । टेस्ट क्रिकेटकै कुरा गर्ने हो भने उनले सन् २०२४ मा ७१ विकेट लिए, १३ टेस्टमै, त्यो पनि १४.९२ को औसतले । त्यस अगाडि उनी चोटकै कारण लामो समय मैदान बाहिर रहेका थिए । त्यस अर्थमा पनि भारतीय टिममा उनको पुनरागमन उत्कृष्ट रह्यो । यहाँनिर प्रश्न बन्छ, बुमराहमा त्यस्तो के छ, जसले उनलाई घातक बनाउँछ, अझ भनौं, अरूभन्दा फरक पनि ।
त्यसको उत्तर हो, उनको साँच्चै फरक शैली । उनको बलिङ शैली धेरै हदसम्म अस्वाभाविक छ । अरू धेरै फास्ट बलरभन्दा ठ्याक्कै छुटिने गरेर उनी फरक छन् । उनको बलिङको एउटा ठूलो विशेषता हो, उनी लामो रनअप लिँदैनन् । छोटो दौडपछि नै उनी बल फाल्न पुगिसक्छन् । खालि यसबीच उनी केही उफ्रिन खोज्छन् । खासमा उनले बललाई गति दिने भनेकै हातले मात्रै हो । उनको कुहिनामा गज्जबको लचकता छ, अझ यसलाई धेरै नै लचकता भने पनि हुन्छ ।
बुमराह आफ्नो हातको मुठीलाई असाध्यै पछाडिसम्म लान सक्छन् । अनि बल फ्याल्दा उनको हात र खुट्टा सिधा रेखामा देखिन्छ । यही कारणले त हो, ब्याटर उनले कस्तो बलिङ गर्नेछन् भनेर दोधारमा पर्ने । उनी अधिकांश समय अफ स्टम्पको बाहिर बलिङ गर्छन् अनि प्रायः सर्ट लेन्थ बल हुने गर्छ । यही शैलीकै कारण उनी बारम्बार चोटग्रस्त पनि भइरहन्छन् । तर जब यही शैलीले वर्तमान विश्व क्रिकेटकै घातक बलर बनाउँछ भने यत्तिको जोखिम पनि ठीकै छ ।
