आइतबारसम्म चल्ने महोत्सवमा सांस्कृतिक बाजागाजा, भजनकीर्तन र लिच्छविकालदेखिका नेपाली मुद्रा, नेपालको पहिलो माटोको हिटरदेखि नेवारी संस्कृतिमा जन्मदेखि मृत्युसम्मका संस्कारबारेमा जानकारी
काठमाडौँ — भक्तपुरको मध्यपुर थिमिमा जनैपूर्णिमाका अवसरमा ४ दिन नचाइने ‘सलचा नाच’ ८ वर्षदेखि हुन सकेको थिएन । नाचमा सहभागी हुनुपर्ने कतिपय विदेशिए । कतिपयले चासो नदिँदा पुनः सञ्चालनमा ल्याउन सकस परिरहेको थियो ।
मध्यपुर महोत्सवका अवसरमा युवाहरू मिलेर उक्त नाचलाई पुनः सञ्चालनमा ल्याएका छन् । नाचमा प्रेमलाल भासिमा, दिलकृष्ण भासिमालगायतले ‘पोङगा’ बाजा र चयन्द्र भासिमा, रासुल भासिमा र क्रिस भासिमाले ‘खि’ बाजा बजाएर साथ दिएका छन् । नाच र वाद्यवादनको प्रशिक्षण भने एक महिना लगाएर गुरुहरू बिकुलाल भासिमा र कान्छा भासिमाले दिएका हुन् ।
प्रेमलालले भने, ‘डिजिटल र सोसल मिडियामा झुम्ने युवायुवतीलाई महोत्सवले कला संस्कृतिको महत्त्वबारे जागरण ल्याएको छ ।’ उनीहरू अब ‘सलचा नाच’ लाई प्रत्येक जनैपूर्णिमामा निकाल्दै निरन्तरता दिने योजनामा छन् ।
हरिचन्द्र प्रजापतिले आफ्नो बाजेले जोगाएर राखेको करिब ३ सय वर्ष पुरानो मल्लकालीन ढुंगाको चाःखाः (चक्का) प्रयोग गरेर माटोका भाँडाकुँडा बनाएर महोत्सवमा प्रदर्शन गरिरहेका छन् । उनका बुवाले माटाका भाँडाकुँडा बनाए । हरिचन्द्रले त्यसमा आधुनिक ढंगबाट सेरामिकका भाडा बनाए । अहिले यी सेरामिकका कला जर्मनी, अस्ट्रेलिया, जापान, बेलायतलगायत मुलुकमा निर्यात हुने गरेको उनी बताउँछन् ।
महोत्सवले मध्यपुर थिमिलाई सेरामिक्सको हबका रूपमा स्थापित गर्ने योजनालाई सफल बनाउन मद्दत पुगेको हरिचन्द्र मान्छन् । ‘यस्तो महोत्सव प्रत्येक वर्ष आयोजना गर्नुपर्छ,’ उनले भने । मध्यपुर थिमिको बालकुमारी क्षेत्रमा गेडागुडी, चपाचो टोलमा माटोका भाँडाकुँडा, नगदेशमा तरकारी, बोडेमा दही र चामल, तिगनी टोलमा चिउरा प्रख्यात मानिन्छ ।
अहिले पनि यहाँका स्थानीयले आ–आफ्नो क्षेत्रको पुर्ख्यौली पेसा अँगाल्दै आएका छन् । महोत्सवलाई लक्षित गरेर स्थानीय सुबन कायस्थलगायतको टोलीले बालकुमारी मन्दिर क्षेत्रमा ६४ थरीका गेडागुडी प्रदर्शनीमा राखेका छन् ।
मध्यपुर थिमिको गेडागुडी काठमाडौंको असन, पाटन मंगलबजार, साँखु, थानकोटलगायत क्षेत्रमा पठाउने गरिन्छ । ‘यहाँ भने सिन्धुलीबाट भटमास, सिन्धुपाल्चोकको दाप्चा बजारबाट ठूलो केराउ, मेलम्चीबाट गेडा मास, बाह्रबिसेबाट कालो बोडी आउने गर्छ,’ हरिचन्द्रले भने, ‘पछिल्लो समय युवाहरू विदेशिएकाले खेतीपाती गर्ने नभएर उपत्यका बाहिरबाट ल्याउने गर्दा स्थानीय उत्पादन कम हुन थालेको छ ।’
उनले महोत्सवले देशैभरिका स्थानीय उत्पादन बढाउन युवालाई प्रेरणा मिल्ने बताए । स्थानीय चाकु पसल सञ्चालक उत्तमराज श्रेष्ठले भने महोत्सवले व्यापारसँगै स्थानीय उत्पादनबारेमा प्रवर्द्धन गर्न मद्दत मिलेको बताए । ‘महोत्सवले जीर्ण मठमन्दिर मर्मत, पोखरीलगायत सम्पदा संरक्षण तथा सरसफाइमा पनि ध्यान पुगेको छ,’ उनले भने ।
नेवार समुदायमा भोजको विशेष महत्त्व हुन्छ । जन्मदेखि रथारोहण र मृत्युसम्म हुने संस्कारमा छुट्टाछुट्टै किसिमको परिकार राखेर भोज खुवाउनुपर्छ । ओस्ला नेपाल नामक संस्थाले नेवाः भोजको धार्मिक तथा सांस्कृतिक महत्त्व दर्शाउन २५ थरीका नेवाः भोज प्रदर्शनमा राखेको छ । त्यस्तै मध्यपुर महोत्सवमा ‘ल्याय्कु’ दरबारमा वैशाख १ र २ मा हुने बिस्का जात्रासँगै पुलुकिसि जात्रा, लोकेश्वर जात्रा पनि देखाइएको छ भने महाकाली नाच, ईन्द्र अप्सरा, मयूर, अष्टमातृका, जोगी प्याँखा, नागचा, राजकुमार, लाखेलगायत नाच पनि प्रदर्शनीमा छ ।
सांस्कृतिक बाजागाजामा गुँला बाजा, घिन्ताङ्ग घिसिं, धिमे बाजा, नायो खिं बाजा, नौ बाजा, बाँसुरी बाजा, दाफा भजन, कीर्तन भजन, ज्ञानमाला भजन, नित्य भजन, रामायण भजन, हरि भजन देखाइएका छन् । त्यस्तै लिच्छविकालदेखि हालसम्मको नेपाली मुद्रा र सिक्का, माटोको करिब ५ फिट अग्लो सुकुन्दा, नेपालको पहिलो माटोको हिटर, नगदेशमा सुनको झ्याल, नेवारी संस्कृतिमा जन्मदेखि मृत्युसम्मका संस्कारका बारेमा पनि जानकारी गराएको छ ।
प्रायःले कुमारी बसन्तपुर, पाटन र भक्तपुर दरबारमा मात्र रहेको ठान्छन् । तर, मध्यपुर थिमिमा पनि मल्लकालीन दरबार रहेको र यहाँ पनि राजकीय कुमारी रहेको भनी जानकारी दिन गुणकीर्ति महाविहार प्रांगणमा सिंहासनमा कुमारी र १०३ वर्षका ज्येष्ठ नागरिकलाई सजाएर राखिएको छ ।
महोत्सव अवलोकन गर्न आउनेलाई माटाका भाँडाकुँडाको गेट बनाएर स्वागत गरिएको छ । दसैंमा प्रदर्शनी गर्ने मल्लकालीन ढाल र तरबार पनि प्रदर्शनीमा राखिएको छ । नेवारी संस्कार र भेषभूषा प्रदर्शनी, मूर्तिकला, माटाका भाँडाकुँडा, शैक्षिक, पुस्तक प्रदर्शनी र खानाका स्टलहरू पनि राखिएको छ । महोत्सवका अन्य आकर्षणहरूमा नगदेशको बुद्ध विहार र चपाचो टोलको पाटीको विहारमा बुद्धको अस्तुधातु पनि प्रदर्शनीमा राखेको थियो ।
जिब्रो छेड्ने जात्राको प्रतिमूर्तिसँग फोटो खिच्न, सेल्फी लिनेको घुइँचो छ । महोत्सव अवलोकन गर्न आएका काठमाडौंका स्थानीय मनिकृष्ण श्रेष्ठले महोत्सवले स्थानीय कला संस्कृति एवं पेसाको बारेमा अध्ययन गर्नेहरूलाई सहज बनाएको बताए । ‘यहाँ वर्षभरि मनाइने चाडपर्व महोत्सवमा एकै पटक देख्न सकिनेछ,’ उनले भने ।
महोत्सवका बारेमा जानकारी दिन सूचना केन्द्र, स्वास्थ्य शिविरको पनि व्यवस्था गरिएको छ । महोत्सवलाई लक्षित गरेर विदेशी पर्यटक ल्याउने उद्देश्यले टुरिस्ट गाइड एसोसिएसन अफ नेपालसँगको सहकार्यमा १ सय २० जना गाइडलाई मध्यपुर अवलोकन भ्रमण गराएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार महोत्सवमा अवलोकन गर्न आउनेलाई सहज बनाउन स्थानीय ४२ जना युवालाई तालिम दिएर राखेको छ । महोत्सव मूल समारोह समितिका संयोजक एवं मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउन र स्थानीय सम्पदालाई रोजगारी एवं आयसँग जोडेर अर्थतन्त्रलाई थप गतिशील बनाउने हेतुले महोत्सव आयोजना गरेको बताए ।
‘मध्यपुर थिमि पुरातात्त्विक सांस्कृतिक मूर्त तथा अमूर्त सम्पदाले भरिपूर्ण मध्यकालीन सहर भएको बारेमा प्रायःलाई जानकारी छैन,’ उनले भने, ‘महोत्सवले मध्यपुरलाई पर्यटकीय गन्तव्यका रूपमा परिचित गराउने विश्वास छ ।’ उनले थिमिलाई खुला संग्रहालयका रूपमा विकास गर्ने, पर्यटन बोर्डसँग सहकार्य गरेर रात्रिकालीन पर्यटन र आधा दिनको प्याकेज मध्यपुर थिमिमा बनाउने योजना रहेको बताए ।
