अभिनेता नाजिर हुसेनको लेखन र निर्देशन रहेको यो नाटकलाई कविता र कोरसको मिश्रणले द्वन्द्वको विषयमाथि बनेका अन्य नाटकभन्दा पृथक् र बलियो बनाएको छ ।
काठमाडौँ — अभिनेता नाजिर हुसेनको नाटकमा कोरस कहिल्यै छुट्दैन । अथवा भनौं, कोरसले नाजिरलाई छोड्दैन । कोरसलाई कथा वाचनमा प्रयोग गर्न माहिर छन्, नाजिर । उनका नाटक ‘कुरूप हाँस’ देखि ‘हरि हजुरबा’ सम्म हेर्ने हो भने नाजिरको कथ्य शैली यही तत्त्वले कलात्मक बनाएको पाइन्छ ।
नाटकमा कोरस कहिले कथा भन्न आइपुग्छन् त, कहिले पात्र बनेर प्रश्न गर्न ! कहिले कथालाई अगाडि बढाउने सामूहिक गानका रूपमा प्रस्तुत हुन्छ त कहिले पात्रका भाव प्रकट गरिदिने माध्यमका रूपमा !
यति बेला थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाजिर लिखित तथा निर्देशित नाटक ‘हरि हजुरबा’ मा पनि कोरसले हुरीको रूप लिन्छ, पहाड बन्छ अनि प्रमुख पात्रका मनोभाव बोलिदिन्छ । एक साँझ बत्तिएर आएको हुरीले हुलाकी हरि (नाजिर) लाई भन्छ, ‘तिमीलाई यही बाटो जानु छ, तिमीले कसैलाई भेट्नु छ ।’
आफूसँग भएको अन्तिम चिठी विकासपुर गाउँ पुर्याउन हिँडेको हरिलाई गाउँलेले तल्लो बाटो नजान सुझाउँछन् । सुझाव पछ्याउँदै हरिले पनि माथिल्लो बाटो रोज्छ । तर, हुरीले हुत्याएर हरिलाई तल्लो बाटोतिरै पुर्याइदिन्छ ।
अन्तिम चिठी पुर्याएसँगै हुलाकीको जागिर फत्ते हुने सोचले हुरीले देखाइदिएको बाटोबाटै विकासपुरको यात्रातर्फ हरिको यात्रा लम्कन्छ । विकासपुर पुग्नु अगाडिको रित्तो गाउँमा हुरीले संकेत गरिदिएको पात्रसँग हरिको भेट हुन्छ, उनी हुन् हजुरबा (विजय बराल) । जो ‘जंगल’ ले अपहरण शैलीमा लगेकी नातिनी कोपिला फिर्ता आउने आशामा कुरिरहेका छन्, बाटोमा आँखा बिछ्याएर ।
आक्कलझुक्कल बज्ने थोत्रो रेडियोमा अधकल्चो समाचारमा नातिनीको खबर पर्खनु हजुरबाको नियति नै हो । चुहिने घरमा वर्षौंदेखि एक्लै कुरिरहेका उनका साथी भन्नु नै उही थोत्रो रेडियो, पल्लो गाउँबाट बटुलेका फालिएका पुराना ब्याट्री, लौरो र दलिनमा जतनले टाँगिएको कोपिलाको रातो स्विटर छन् । ‘गाउँले कोही आफूसँग बोल्दैनन्’ भन्ने हजुरबा गुँडको बचेराले माउलाई कुरेझैं पाली चुहिने झुपडीमा बसेर आत्मालाप गरिरहन्छन् :
माटोबाट सुरु भयो जीवन, माटोमै सकिन्छ
गुँडमा कुर्छ बचेराले माउलाई
मान्छेले कुर्नु त एउटा सासै त रहेछ...
हरि र हजुरबा त्यही आँगनमा भेटिन्छन्, जुन आँगनले वर्षौंदेखि कसैको आगमन कुरिरहेको छ । जहाँबाट भर्खर फक्रन थालेकी कोपिलालाई चुँडाएर ‘जंगल’ ले लगेको थियो । नाटकले हरि र हजुरबाबीचमा बिस्तारै निर्माण हुने सम्बन्ध, सन्देश बोकेर आउने चिठीको पर्खाइसँगै विगतको युद्धले दिएका घाउको पीडालाई अनुभूत गराउने जमर्को गरेको छ ।
बिछोडको भन्दा ठूलो पीडा आफ्नाको आगमनको पर्खाइमा छ । वियोगान्त यो कथाले बेपत्ता पारिएकाहरूका कथा भन्दैन । तर, ती परिवार र आफन्तीहरूको कथा भन्छ, जो वर्षौंदेखि आसकै भरमा सास फेरिरहेका छन् । रित्तो गाउँमा, हजुरबा एक्लो छन्, जसरी घर पछाडि एउटा मात्र पात हल्लिरहेको एक्लो बूढो रूख छ ।
बिम्बले भरिएको यो नाटकमा हजुरबाको आस देखाउने यही हरियो पात मात्रै बाँकी हो । युद्धको पृष्ठभूमिमा भनिएको यो कथाले युद्धमा चलेको बम, बारुद गोलीबिनै त्यति बेलाको कहानी, विनाश र चीत्कार देखाउँछ ।
मञ्चमा देखिने दुई पात्रमार्फत युद्धको समय नियालिएको छ । जब युद्धले नातिनी लैजाँदै गरेको फ्ल्यासब्याकमा हजुरबाको स्मृति घुम्छ, तब हरि पात्रलाई कोरसले हातमा बन्दुक र काँधमा कालो पछ्यौरा ओढ्याइदिन्छन् । त्यसपछि उक्त पात्रले विद्रोहीको भेष (डिसगाइज) तुरुन्तै बदलिन्छ ।
सेनाले बेपत्ता पारिदिएको पात्रको कथा भन्न यसरी नै भेष बदलिएको छ । यी दुवै दृश्यले युद्धमा दुवै पक्ष समेट्दै सन्तुलन कायम गर्ने कोसिस गरिएको छ । यी दुई दृश्यमा विजय र नाजिरको सशक्त अभिनय देख्न पाइन्छ । हजुरबाको भेषमा कमजोर, दयालु, निर्दोष देखिने विजय तुरुन्तै यो दृश्यमा कठोर बन्छन् ।
जंगलको जग समात्दै चर्को आवाजमा विद्रोहका शब्द ओकल्छन् । उनको अनुहारको भावभंगीमा त्यो कठोरपन देखिन्छ । तुरुन्तै फेरि कमजोर हजुरबामा रूपान्तरण हुन्छन् । आँसु चुहाइरहेको आँखामै नाजिरले सेनाका कडा शासन, शोषण र ताडना प्रस्तुत गरिदिन्छ ।
करिब १ घण्टा लामो यो नाटकमा यी दुई कलाकारको यस्तै सशक्त अभिनयले ‘हरि, हजुरबा’ लाई नाजिरको सशक्त निर्देशन सावित गर्छ । नाजिरका सुन्दर कविताहरूको लय यसमा मिसिएको छ । त्यसैले कथाको सुरुमै कोरसले एकै स्वरमा गाउँछ !
एक दिन साँझमा चराहरू बास बसेपछि
एक हूल मान्छेहरू गाउँको पारिबाट आए
एक हूल मान्छेहरू जंगलबाट आए
एक दिन साँझमा चराहरू बास बसेपछि
दुवै हूलले एकअर्कालाई मार्न थाले
भाला चल्यो, खुकुरी चल्यो...
युद्धका विभिन्न विषयमाथि यसअघि नाटक, कविता, फिल्म र साहित्य नलेखिएका होइनन् । तर, नाजिरले आफ्ना कविता र कोरसको मिश्रणमा आफन्तको बाटो कुरिरहेका आँखालाई नाटकमार्फत व्यक्त गरिदिएका छन् । कथा वाचनमा प्रयोग गरिएका यस्तै मिहिन तत्त्वहरूले नाटकलाई पृथक् बनाएको छ । नाटकले युद्धले दिएको घाउ, उपलब्धितर्फ सोच्न बाध्य पार्छ ।
इतिहासको एउटा कालखण्ड सम्झाइदिएको छ । यो कथालाई भन्न निर्देशक नाजिरले अन्य सुन्दर पक्षलाई पक्रेका छन् । कथा अगाडि बढिरहँदा उपकथाहरूले दर्शकलाई बाँधिरहन्छ । हरेक दृश्यपछि दर्शकमा व्यग्र रूपले अर्को दृश्यको पर्खाइ बढ्छ । कथा वाचनकै यस्तै मिहिन पक्षले नाटकलाई रोचक बनाइदिएको छ ।
नाटकमा प्रयोग गरिएका संगीत, रेडियोलगायत विभिन्न प्रप्सले कथालाई सशक्त बनाइदिएको छ । पात्रको आस मरेको दृश्यमा बूढो रूखमा झुन्डिरहेको त्यही हरियो पात पनि चुँडिएर भुइँतिर खस्छ । ‘हरि हजुरबा’ को कथा त्यति बेला झनै सशक्त लाग्छ, जब दुईमध्येको प्रमुख पात्र सत्यको नजिक पुग्छन् ।
अन्योलको भुमरीमा फस्छन्, तब झुप्रोअघि कंकाल फेला पर्छ, स्टेजमा रातो प्रकाश देखापर्छ । कथासँगै खुल्दै जाने यस्तै रोचक प्रसंगले ‘हरि हजुरबा’ युद्धमाथि बनेका नाटकहरूमा बलियो बनेको छ । यो द्वन्द्वकालमा बेपत्ता पारिएका परिवारका पर्खाइ मात्रै होइन, बिदेसिएका सन्तानको पर्खाइमा बसेकाहरूले पनि यो पीडालाई समानुभूति गर्न पाउनेछन् । त्यस अर्थमा वैदेशिक रोजगारीले पर बनाइदिएको आफन्तको पर्खाइ भोगिरहेकाहरूले यसमा आफूलाई पाउनेछन् ।
तर, यस्ता संवेदनाका गहिराइमा पस्न नाटकले हतार गरेको देखिन्छ । ती दुखाइ र पीडालाई धिमा गतिमा सञ्चार गरिदिएको भए, नाटकले बेग्लै उचाइ लिने थियो । हरियो पातमा देखाइएको त्यही आसमै पनि नवीनता भेटिन्न । केही दृश्यमा पात्रले भारी शब्द बिसाउँदै भावलाई मात्रै बोलिदिएको भए, ‘हरि हजुरबा’ को वजन अझै बढ्ने थियो । तर, यी पक्षहरूलाई कोरसले भन्दै जाने कथा, गाउँदै जाने गीतहरूले गौण बनाइदिन्छ ।
