हङकङ — हङकङको व्यस्त बजार यूएन लङस्थित अडिटोरियममा आइतबार साँझ मर्स्याङ्दी साँझ भएको छ । लमजुङ सेवा समिति हङकङको आयोजनामा भएको उक्त सांगीतिक कार्यक्रम झन्डै तीन घण्टासम्म चलेको थियो । नेपालदेखि पुगेका दर्जनभन्दा बढी कलाकारले हङकङवासी नेपालीलाई मनोरन्जन दिएका थिए ।
लोक गायिका मञ्जु विकले ‘सोल्टीको झन् हेराइ नशालु’ बोलको कौराह गीतबाट तताएको माहौललाई माया गुरुङ (देवीमाया थापा गुरुङ) ले ‘गाउँसहरमा लमजुङ दरबार’, खुस्बु गुरुङले ‘किन बढ्दै छ ढुकढुकी मुटुको’, लोक गायक राजु परियारले ‘दुराडाँडे दाइ’ लगायत गीतमार्फत दर्शकलाई आफ्नो थातथलो सम्झाए । राजुले मञ्जुसँग मिलेर ठाडोभाका गाउँदा दर्शक मन्त्रमुग्ध भए ।
गायक, गायिकाले गीत प्रस्तुत गरिरहँदा स्क्रिनमा लमजुङ आसपासका गाउँहरूका तस्बिर पनि देखाइएको थियो । ‘आफ्नै गाउँघर पुगेजस्तो भयो,’ कार्यक्रममा सहभागी लमजुङ सेवा समिति हङकङका निवर्तमान अध्यक्ष सरोज गुरुङले भने । छेवाङ लामाले ‘तिमी वारि म छु पारि’ गाएपछि उनलाई खुस्बु गुरुङले ‘इसाराले बोलाउनु पर्दैन’ गाएर साथ दिएकी थिइन् । कार्यक्रममा गुरुङ फिल्म एसोसिएसन हङकङका कलाकारले पनि नृत्य पस्केका थिए ।
