चासोक तङनाम, साकेलामा रमाउँदै युवा

प्रकृति पूजक लिम्बू, राई, सुनुवारलगायतका जातजातिले मनाउने चाडपर्व र सांस्कृतिक कार्यक्रममा युवायुवती सहभागी भई नाचगान गर्ने क्रम बढ्दो छ

पुस ८, २०८१

आनन्द गौतम

Chasok Tangnam, a young man rejoicing in Sakela

ताप्लेजुङ — सदरमुकाम फुङलिङमा चासोक तङनाम पर्व मनाउन गत साता फुङलिङ–३ सिम्लेकी एन्जल लिम्बू पनि पुगेकी थिइन् । कञ्चनजंघा आवासीय माविमा कक्षा ८ मा पढ्दै गरेकी उनीसँगै साथीद्वय रिस्ता राई र जिया नेपाल पनि पुगेका थिए । पर्व मनाउन आफू लिम्बू समुदायको पोसाकमा सजिएर पुगेकी एन्जलले साथीहरूलाई पनि लिम्बू पोसाकमै लैजान चाहेकी थिइन् ।

‘कक्षामा हामी जसरी मिल्ने साथी हौं, हरेक समुदायका चाडपर्व मनाउन पनि एक देखिएर जाने मेरो चाहना हो,’ एन्जलले थपिन्, ‘यसपालि सहभागी बनाउन सकें, अर्कोपालि आफ्नै समुदायको पोसाकमा सजाएर सँगै फोटो खिचाउने र चाडमा रमाउने मन छ ।’ त्यसो त उनले आफू पनि साथीहरूको पर्वमा उनीहरूकै समुदायको पोसाक लगाएर जान रुचाउने बताइन् । 

चासोकमा आएकी एन्जलले पनिरसँग मिसाएर पकाएको झ्याउको परिकार (याङमेन) आफू पनि खाइन्, साथीहरूलाई पनि चखाइन् । सामान्यतया पहाडमा यो बँगुरको मासुसँग मिसाएर पकाइन्छ । तर साथीहरू मासु नखाने भएकाले पनिरमा मिसाएर बनाएको परिकार खाएको उनले बताइन् । फुङलिङ–७ दोखुकी सेमी पालुङ्वा लिम्बू भने यो वर्ष चासोक तङनाममा गइनन् । उनी साकेला नाच्न तोक्मेडाँडाको पानी ट्यांकी उक्लिइन् । आफू लिम्बू भए पनि आमाको माइती राई भएकाले उनी आमासँगै साकेला नाच्न गएकी हुन् । भानुजन मावि अम्बिटारमा कक्षा ११ मा पढ्ने उनले १२ कक्षामा पढ्ने साथी कुशलता लिम्बूलाई पनि साथै लगेकी थिइन् । आमा सीता राई लिम्बूका माइती गाउँबाट आएकाहरूसँगै हातमा सेउला बोकेर दिनभरि नाचिन् र रोटी, तरकारी, अचार लगायतका परिकार खाएर आमासँगै फर्किइन् ।

Chasok Tangnam, a young man rejoicing in Sakela

प्रकृति पूजक लिम्बू, राई, सुनुवारलगायतका जातजातिले मनाउने चासोक तङनाम, साकेला, चण्डी जस्ता संस्कृतिको पुस्तान्तरण हुँदै गएको छ । परिवारका अग्रज सदस्यसँगै पर्वमा जाने युवापुस्ताले त्यहीअनुरूपको भेषभूषा लगाउने, अग्रजसँगै लय मिलाएर नाच्नेलगायतका गतिविधिमा रमाउने गरेका छन् । यस्तो अभ्यासले परम्परागत संस्कृति जोगाउनेमा किरात याक्थुम चुम्लुङकी अध्यक्ष इन्दिरा मेन्याङबो खुसी छिन् । ‘युवापुस्ताको आकर्षणका लागि हामीले पनि केही न केही प्रयत्न गरेका छौं,’ मेन्याङबोले भनिन्, ‘स्थानीय तहलगायतका निकायसँग समन्वय गरेर च्याब्रुङ नाचको प्रशिक्षण दिने, पर्व महोत्सवमा च्याब्रुङ नाच्न लैजाने, पोसाक खरिद गरिदिने काम गरेका छौं ।’ यस्ता कार्यक्रममा जाँदा पारिश्रमिक पनि पाउने र संस्कृति संरक्षणसँगै रोजगारी पनि सिर्जना हुने चुम्लुङका उपाध्यक्ष डम्बर पालुङ्वा बताउँछन् । 

स्थानीय हाङमाया लेछर्बो, भक्तबहादुर पालुङ्वा लगायतले संस्थागत रूपमा प्रशिक्षण कार्यक्रम नै सञ्चालन गरेर प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्दै आएका छन् । जसले गर्दा यस्ता समुदायका कार्यक्रममा युवापुस्ताको सहभागिता बढ्दै गएको उनीहरू बताउँछन् । भक्तबहादुर आफैं पनि च्याब्रुङ प्रतियोगिताका लागि भारतको सिम्किमसम्म पुगेको र दोस्रो भएर फर्किएको बताउँछन् । ‘अहिले नाच्न नजान्ने त कोही पनि छैन,’ उनले भने, ‘तर, संस्कृतिमा नाच्ने शैली भने निकै फरक हुन्छ ।’ भाषा, संस्कार संस्कृति, लयसमेतको संयोजन हुने भएकाले अनर्थ नलाग्ने गरी नाच्नु, गाउनुपर्ने उनी बताउँछन् । 

‘च्याब्रुङ नाच्नेले आफ्नै शरीरमा बाजा बोक्नुपर्छ । हातले ताल मिलाउनुपर्छ । सुरुमा सिकाउनेलाई कुसरक्पा भनिन्छ र यसलाई सामान्य रूपमा लिइन्छ । त्यसपछि परेवा, सर्प, धामी जस्ता विभिन्न किसिमका नाच हुन्छन्,’ हाङमायाले भनिन्, ‘यसका स्टेपहरू त कति हुन्छन् कति, कुनै नामसहितका हुन्छन् भने कुनै नामबिनाका पनि ।’ युवापुस्ताको आकर्षण जसरी बढेको छ यसको लगानी पनि त्यत्तिकै खर्चिलो भएको संस्कृतिकर्मीको दाबी छ । लिम्बू समुदायको प्रचलित बाजा च्याब्रुङलाई २५ हजार रुपैयाँसम्म पर्छ । नाच्ने पुरुषलाई दौरा, सुरुवाल, इस्टकोट, मफलर, टोपी जुत्ता चाहिन्छ । महिलाका लागि चौबन्दी, साडी, पटुका, झोला चाहिन्छ । बुलाकी, ढुङ्ग्री, शिरफूल, शिरबन्दी लगाउने प्रचलन छ । च्याब्रुङ दुःखमा बिजोडी र सुखमा जोडी पारेर बजाइन्छ । 

Chasok Tangnam, a young man rejoicing in Sakela

राईको साकेला र सुनुवारको चण्डीमा लगाइने पोसाक पनि त्यत्तिकै खर्चालु छ । लिम्बू र राईको फरकपना भनेको बाजामा हुने किरात राई यायोक्खाका तेजबहादुर राई बताउँछन् । राईले एक ठाउँमा जोडी ढोलक राखेर बजाउँदै त्यही तालमा सबै नाच्छन् । लिम्बूको हरेक पुरुषले च्याब्रुङ र महिलाले झ्याम्टा बोकेर नाच्नुपर्छ । सुनुवारको चण्डीमा पनि राईको जस्तै एउटै बाजाले पुग्छ । तर चमर, पोसाकमा धेरै खर्च हुने फुङलिङ–८ को सामाजिक विकास समितिका संयोजक क्षितिज सुनुवार बताउँछन् । नयाँ पुस्ताको प्रवेशका लागि नगरपालिकाले पनि ध्यान दिएको उनको दाबी छ । 

४२ प्रतिशत लिम्बू जातिको बसोबास रहेको ताप्लेजुङमा सञ्चारको विकास नहुँदासम्म धान नाच लोकप्रिय थियो । युवापुस्ताले साइनो केलाएर नातासम्बन्ध नपर्ने भए पुरुष र महिलाले हात समाएर धान नाच्थे । परिवार कसरी चल्छ, भविष्यका योजना के छन् भनेर पालामको माध्यमबाट आफ्ना कुरा आदानप्रदान गर्थे । सञ्चारको विकाससँगै यो प्रचलन हरायो । बहुसंख्यक लिम्बू समुदायको बसोबास रहेको क्षेत्रमा आफ्नो संस्कृति झल्किने खालका गतिविधि भने कुनै न कुनै ढंगले बढेको चुम्लुङका डम्बर बताउँछन् ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully