तरकारी व्यवसायमा युवा दम्पती

पुस ७, २०८१

ज्योती श्रेष्ठ

Young couple in vegetable business

काभ्रे — पौरख गरे पाखो बारीबाटै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणीय जोडी बनेका छन्, काभ्रेको भुम्लु गाउँपालिका–९, ज्याम्दी झगडे गाउँका एक दम्पती ३२ वर्षीया शान्ति ठकुरी र ३४ वर्षीय हरिकुमार ठकुरी । बाँझो पाखोलाई खनजोत गरी तरकारी खेतीबाटै मनग्गे आम्दानी गरिरहेका छन् । 

३५ रोपनीको पाखोमा लगाइएको गोलभेंडा यतिबेला लटरम्म फलेका छन् । साउनमा लगाइएको गोलभेंडा यतिबेला ठकुरी दम्पतीलाई टिप्न भ्याइनभ्याइ छ ।

एक्लैले गोलभेंडा टिप्न नभ्याउने भएपछि दैनिक ७/८ जना खेताला लगाएका छन् । टिपेर डोकामा चाङ लगाएर बारीमा राखिएका गोलभेंडा हरिले घरमा ल्याएर ‘ग्रेडिङ’ गरेपछि साँझ बिक्रीका लागि काठमाडौंस्थित कालीमाटी लिएर जान्छन् । 

अहिले बजारमा गोलभेंडाको मूल्य राम्रो भएकाले यस पटक धेरै नाफा निकाल्न सकिने शान्तिको आशा छ । उनका अनुसार दसैंको समयमा राम्रो मूल्य पाएकाले फाइदा पनि राम्रै भएको थियो ।

‘त्यतिबेला प्रतिक्रेट ३ हजारदेखि २८ सय रुपैयाँसम्ममा बिक्री गरेका थियौं,’ उनले भनिन्, ‘त्यस पटक १२०/१३० क्रेट गोलभेंडा बिक्री गर्दा ३/४ लाख रुपैयाँ आम्दानी भएको थियो । गोलभेंडाको मूल्य सधैं एकैनास हुँदैन, अहिले मूल्य अलि घटेको छ, १५ सय रुपैयाँसम्ममा बिक्री गरिरहेका छौं ।’

उनका अनुसार यस वर्ष गोलभेंडाबाट कुल २० देखि २२ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेका छौं । जसबाट लगानी कटाएर १६ देखि १८ लाख नाफा हुने दम्पतीको अनुमान छ । 

‘पहिले यो पाखामा एक बाली मकै हुनुबाहेक बाँझै हुन्थ्यो,’ शान्तिले भनिन्, ‘बारी बाँझै राख्नुभन्दा गोलभेंडा लगाउँदा राम्र्रै होला भनेर व्यावसायिक रूपमै लगाउन सुरु गरियो ।’ उनका अनुसार, गोलभेंडा खेती पनि दुई किसिमले गर्ने गरिन्छ । ‘एक थरी टनेलमा सिँचाइको प्रयोग गरेर गरिन्छ,’ उनले भनिन्, ‘अर्को थरी टनेल र सिँचाइबिना गोलभेंडा लगाइन्छ, यस ठाउँमा सिँचाइको समस्या भएकाले हामीले टनेल र सिँचाइबिना आकाशे पानीका भरमा गोलभेंडा खेती गरेका छौं ।’ 

शान्तिका अनुसार टनेलमा लगाइएको गोलभेंडा घामपानीबाट जोगिने भएकाले अलि लामो समयसम्म रहन्छ । यहाँ लगाइएको गोलभेंडा ठूलो पानी पर्‍यो भने जोगाउन गाह्रो हुन्छ । तर टनेलमा लगाइने गोलभेंडालाई जति यसमा धेरै मिहिनेत गर्न नपर्ने उनले बताइन् । यो दम्पतीले ८ वर्षयता व्यावसायिक रूपमा गोलभेंडा खेती सुरु गरेका हुन् । गोलभेंडा बिक्री गर्न हरि आफैं काठमाडौंको कालीमाटीसम्म पुग्ने गर्छन् ।

२०७२ मा आएको भूकम्पले उनीहरूको जीवनमा नयाँ मोड आयो । भूकम्प अघिसम्म ठकुरी दम्पती विदेश जाने सोचमा थिए । ‘नेपालमा राम्रो केही गर्न सकिएन भनेर मलेसिया जाने तयारीमा थिएँ,’ हरिले भने, ‘काठमाडौंको ठमेलमा खाद्यान्न पसल गरेर बसेका थियौं, पसलमा लगानी गरेको साता दिनमै भिसा लाग्यो, पसलको लगानीको चिन्ताले विदेश जाने योजना रद्द गरे, व्यापार पनि ठीकै हुँदै थियो, केही समयपछि भूकम्प आयो, काठमाडौंमा बस्न सक्ने स्थिति नभएपछि गाउँ फर्कियौं ।’

शान्तिले भने दुबई जाने तयारी गरेकी थिइन् । भूकम्पपछि दुवै गाउँ फर्किए । गाउँमा कृषि गर्दा राम्रो हुन्छ कि भन्ने सोचले पहिले कुखुरापालन गरेको उनले बताइन् । ‘कुखुरापालनपछि गोलभेंडा खेती गर्ने कि भन्ने पनि सोच बनायौं,’ उनले भनिन्, ‘यहाँ सिँचाइको निकै समस्या छ ।’

तैपनि उनीहरू कृषि कर्ममै रमाइरहेका छन् । भन्छन्, ‘विदेशमा गर्ने दुःख यहीँ नेपालमा नै गर्‍यो भने राम्रो आम्दानी गर्न सकिने रहेछ, गोलभेंडाको राम्रो भाउ आएका बेलामा वार्षिक १७/१८ लाख रुपैयाँ नाफा सकिन्छ, ठीकै भएका बेलामा पनि १०/१२ लाख रुपैयाँ नाफा हुन्छ ।’ 

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully