मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर १३ देखि १८ वर्षका प्रयोगकर्ताका लागि मोबाइल नम्बर सार्वजनिक नगर्न र हानिकारक सामग्री रिपोर्ट गर्न आग्रह
काठमाडौँ — सामाजिक सञ्जाल प्लाटफर्म टिकटकले नेपालका प्रयोगकर्ता एवं कन्टेन्ट क्रिएटरलाई मोबाइल नम्बरजस्ता अति व्यक्तिगत पहिचान खुल्ने जानकारी सार्वजनिक नगर्न र हानिकारक सामग्री देखिए तुरुन्तै रिपोर्ट गर्न आग्रह गरेको छ ।
रिपोर्टलाई सम्बोधन गर्ने बलियो संयन्त्र तयार रहेको कम्पनीका प्रतिनिधिले जनाएका छन् । शनिबार आयोजित कार्यक्रममा टिकटकले ‘ब्युटी फिल्टर’ र ‘बडी फिल्टर’ मा पनि प्रतिबन्ध लगाउने तयारी गरेको जनाएको छ ।
शनिबार आयोजित ‘टिकटक सेफ्टी एम्बासडर कार्यक्रम’ मा टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सका ग्लोबल कम्युनिकेन्स प्रतिनिधि इमाद जफरले नेपालका प्रयोगकर्ताको सुरक्षाका लागि नयाँ रणनीति अपनाएको अवगत गराएका हुन् । जफरका अनुसार हाल टिकटकमा नेपाली भाषा र संस्कृति बुझ्ने टोली छ ।
‘क्रिएटरका रूपमा तपाईंहरूले कुनै आपत्तिजनक कमेन्ट, दुर्व्यवहार वा धम्की सामना गर्नु भयो भने एपमा रहेको रिपोर्ट फिचर प्रयोग गरेर हामीलाई जानकारी गराउनुहोस्,’ उनले भने, ‘रिपोर्ट गरिएका सामग्रीको उचित छानबिन र व्यवस्थापनका लागि हामीले विशेष टोली तयार गरेका छौं । सबै रिपोर्टको शतप्रतिशत सम्बोधन नहोला तर हामी यसमा निरन्तर सुधार गर्दै गएका छौं र हाम्रा यी सेवा प्रभावकारी छन् ।’
नेपाल सरकारसँगको सहकार्यमा कम्पनीले हानिकारक सामग्रीको पहिचान र व्यवस्थापनमा ध्यान दिएको पनि जफरको भनाइ छ । २०८० मंसिर ११ मा जारी ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका’ को व्यवस्थाअनुसार सरकारले अनलाइनबाट गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरेको थियो ।
निर्देशिकाको दफा १३ मा सामाजिक सञ्जाल व्यवस्थापन इकाइ स्थापना गरी इकाइले सामाजिक सञ्जाल प्रयोगसँग सम्बन्धित गुनासो दर्ता गर्ने उल्लेख छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत माघमा अनलाइनबाट गुनासो दर्ता गर्न मिल्ने प्रणाली सुरु गरेको हो । मन्त्रालयको वेबसाइटमा रहेको ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ आइकनभित्र गएर गुनासो दर्ता गर्न सकिन्छ ।
जफरका अनुसार टिकटकले बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर १३ देखि १८ वर्षका प्रयोगकर्ताका लागि ‘ब्युटी फिल्टर’ र ‘बडी फिल्टर’ मा प्रतिबन्ध लगाउने भएको छ । उक्त उमेरका किशोरकिशोरी यस्ता फिल्टरको प्रयोगबाट कस्तो असर पर्न सक्छ भन्ने निर्णय लिने गरी परिपक्व नहुने कम्पनीको धारणा रहेको उनले बताए ।
‘यस्तो नीति हामी विश्वव्यापी रूपमै लागू गर्दै छौं,’ उनले भने, ‘टिनएजका केटाकेटी यस्ता फिल्टरको मानसिक असरबारे सचेत नहुने भएकाले हाम्रो एपमा उनीहरूलाई यो सुविधा प्रयोगमा रोक लगाउने हाम्रो तयारी छ ।’
कार्यक्रममा टिकटककी कम्युनिकेसन्स एसोसिएट सारिका इकबालले टिकटकमा मोबाइल नम्बरजस्ता अति व्यक्तिगत पहिचान खुल्ने जानकारी नबाँड्न विशेष आग्रह गरिन् । टिकटकले नेपालमा विभिन्न कार्यक्रम आयोजना गर्नुको उद्देश्य नै डिजिटल साक्षरता र अनलाइन सुरक्षाबारे जानकारी दिनु र प्रयोगकर्ताका सरोकार सुन्नु रहेको उनले स्पष्ट पारिन् ।
प्रयोगकर्तालाई डिजिटल रूपमा सुरक्षित राख्न सचेतना जगाउने प्रयोजनका लागि टिकटकले ‘सेफ्टी एम्बासडर’ का रूपमा सुशान्त प्रधान, ओसिन सिटौला, पराक्रम राणा, मञ्जिता मानन्धर, राष्ट्र विमोचन तिमल्सेना, श्री पाण्डेलगायत सोसल मिडिया इन्फ्लुएन्सरलाई छनोट गरेको छ । इन्फ्लुएन्सरका कुरा उनीहरूका प्रशंसकले सुन्ने भएकाले डिजिटल सेफ्टीका उपाय आमप्रयोगकर्तासम्म पुर्याउन सहज हुने ठानेर यस्तो पहल अघि बढाइएको इकबालले बताइन् ।
कार्यक्रममा टिकटकका डिजिटल एम्बासडरसँगको छलफल सत्रमा उनीहरूले अनलाइन स्पेसमा रहँदा भोगेका अनुभव र त्यसबाट सिकेका पाठ सुनाएका थिए । ‘मैले पोस्ट गर्ने क्वेर कन्टेन्टमा पहिला धेरै नकारात्मक कमेन्ट आउँथे तर त्यसबाट दुःखी भएर मैले यो काम छाडिनँ,’ लैंगिकतालगायत सामाजिक मुद्दामा पैरवी गर्ने पराक्रम राणाले भने, ‘हामी पनि तपाईंहरूजस्तै मान्छे हौं र हाम्रो पनि अस्तित्व छ भनेर सम्झाइरहन पनि कन्टेन्ट बनाइरहनुपर्ने आवश्यकता महसुस भएको छ ।’
सामाजिक सञ्जालमा पनि बरोबर सक्रिय समाचार वाचिका श्री पाण्डेले मिथ्या सूचना फैलिएको चाल पाउँदा पत्रकारको हैसियतमा आफूले सधैं तथ्य प्रस्तुत गर्न प्रयास गर्दै आएको बताइन् । टेलिभिजन प्रस्तोता ओसिन सिटौलाले पनि अनलाइनमार्फत बलात्कारको धम्की र व्यक्तिगत रूपमा त्रासमा राख्ने प्रयास हुने गरेको र कानुनी प्रक्रियामा जानुपर्दा धेरै चुनौती सामना गर्नुपरेको सुनाइन् । उनले डिजिटल स्पेसमा आइसकेपछि घृणास्पद टिप्पणी सामना गर्ने सहनशक्ति निर्माण गर्न आवश्यक रहेको बताइन् ।
सामाजिक सञ्जाललाई सुरक्षित बनाउन कानुनले मात्रै पर्याप्त नहुने कतिपय सहभागीले बताए । सामाजिक सञ्जालमा मुलुकी ऐनदेखि बौद्धिक सम्पत्ति, साइबर कानुनलगायत विषयमा कन्टेन्ट बनाउने अधिवक्ता राष्ट्र विमोचन तिमल्सेनाले नेपालमा सामाजिक सञ्जाल नियमन गर्न ठोस कानुन नभएको बताए । उनले सोसल मिडियालाई सुरक्षित बनाउन प्लाटफर्महरूले पनि सक्रिय भूमिका खेल्नुपर्ने औंल्याए ।
पडकास्ट होस्ट सुशान्त प्रधानले सामाजिक सञ्जालमा फरक धारणालाई पनि सम्मान गर्नुपर्ने विचार राखे भने माई डार्लिङ फुडकी मञ्जिता मानन्धरले नकारात्मक कमेन्टले प्रभाव पार्ने बताइन् । ‘आपत्तिजनक कमेन्ट गर्नेलाई रिपोर्ट गर्दा पहिले खासै प्रभाव देखिँदैन थियो, अहिलेचाहिँ प्लाटफर्महरूले गम्भीरतापूर्वक लिन थालेको महसुस हुन थालेको छ,’ उनले भनिन्, ‘यो राम्रो हो ।’
