१८ वर्षमै विश्व चेस च्याम्पियन

मंसिर २९, २०८१

प्रविना पौडेल

World Chess Champion at 18

काठमाडौँ — भारतका १८ वर्षीय किशोर गुकेश डोम्माराजु विश्वकै कान्छो चेस च्याम्पियन बनेका छन् । सिंगापुरमा भएको अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे) द्वारा आयोजित विश्व चेस च्याम्पियनसिपको उपाधि जित्दै डोम्माराजु विश्वकै कान्छो चेस च्याम्पियन बनेका हुन् । 

डोम्माराजुले बिहीबारको रोमाञ्चक खेलमा डिफेन्डिङ च्याम्पियन चीनका डिङ लिरेनलाई पराजित गर्दै इतिहास रचेका हुन् । च्याम्पियनसिपको यो १४ खेलको शृंखला पछिल्ला पन्ध्र दिनदेखि विश्वभरका चेसप्रेमीले उत्सुकताका साथ हेरिरहेका थिए । 

जितसँगै उनी विश्वको १८ औं चेस च्याम्पियन बन्न सफल भएका छन् । अन्तिम खेलअघि डोम्माराजु र डिङले समान दुई खेल जितेका थिए भने आठ खेल बराबरीमा सकिएका थिए । बिहीबारको अन्तिम खेलमा ७.५ र ६.५ को स्कोरका साथ डोम्माराजुले उपाधि जितेका हुन् । उनले लिरेनलाई ५८ चालमा पराजित गरेका हुन् । जितसँगै उनले २५ लाख अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् । 

२०२३ को विश्व चेस च्याम्पियनको उपाधि जितेका डिङ बिहीबार भएको खेलमा बलियो स्थानमा थिए । तर डिङको अन्तिम चरणमा भएको गम्भीर गल्तीले डोम्मराजुलाई जित्ने मौका दियो । यसअघि डोम्माराजु भारतमा दोस्रो र विश्वमा पाँचौं स्थानमा थिए । 

उपाधिसँगै डोम्माराजुले रुसी ग्रान्डमास्टर ग्यारी कास्पारोभको कीर्तिमानसमेत तोडेका छन् । कास्पारोभले सन् १९८५ मा २२ वर्षको उमेरमा यो उपाधि जित्न सफल भएका थिए । बाल्यकालदेखि नै चेस खेल खेल्ने चेन्नईका डोम्माराजुले १२ वर्ष ७ महिनाको उमेरमै ग्रान्डमास्टरको उपाधि जितेका थिए । चेन्नईलाई भारतको चेस राजधानी मानिन्छ । तर उनको परिवारमा अन्य कोही चेस खेलाडी भने छैनन् । 

डोम्माराजुका बाबु चिकित्सक हुन् भने उनकी आमा माइक्रोबायोलोजिस्ट हुन् । आफ्नो कार्यव्यस्तताका कारण उनीहरूले डोम्माराजु पढाइका अलावा अन्य केही सिकाउन चाहन्थे । त्यसक्रममा उनीहरूले डोम्माराजुलाई चेस सिक्न पुगे । प्रशिक्षकहरूले डोम्माराजुको क्षमता देखेपछि थप तालिमका लागि सल्लाह दिएका थिए ।

भारतबाट विश्व चेस च्याम्पियन बन्ने उनी पहिलो व्यक्ति भने होइनन् । यसअघि विश्वनाथन आनन्द सन् २०१३ मा विश्व चेस च्याम्पियन बनेका थिए । डोम्माराजुले आफू सात वर्षको हुँदा विश्वनाथनले च्याम्पियनसिप जितेको देखेका थिए । त्यही समयदेखि नै डोम्माराजुले विश्व चेस च्याम्पियन हुने सपना पछ्याएका थिए । ‘यो मैले विगत १० वर्षदेखि देखेको सपना हो । जुन पूरा भएको छ,’ लिरेनलाई पराजित गरेपछि डोम्माराजुले भावुक हुँदै भने । बीबीसीसँगको कुराकानीमा डोम्माराजुले ‘प्रतियोगिताका विभिन्न चरणमा आफूले जित हासिल गर्ने धेरै अवसरहरू पाएको भए पनि तनावका कारण ती अवसर सदुपयोग गर्न नसकेको’ बताएका छन् । 

डोम्माराजुले पछिल्ला दुई ओलम्पियाडमा व्यक्तिगत उत्कृष्ट प्रदर्शनका लागि स्वर्ण पदक पनि जितेका थिए । (एजेन्सीहरूको सहयोगमा)

प्रविना प्रविना कान्तिपुरकी मल्टीिमिडिया रिपाेर्टर हुन् । उनी युवा पुस्ता, प्रविधी र मनाेस्वास्थ्यका बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully