काठमाडौँ — कीर्तिपुर क्रिकेट मैदानमा यति बेला एनपीएलको रोमाञ्चकता जति छ, दर्शकलाई लक्षित गरी मैदानबाहिर खुलेका खाजा, पानी, जर्सी र पोस्टरका पसलले अर्को चहलपहल बढाएको छ । व्यापारले मिहिनेती हातहरूलाई राहत पनि दिलाएको छ ।
गोरख गुर्दामी विद्यार्थी हुन् । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर गर्दै गरेका उनको हिजोआजको दिनचर्या भने अलिक फरक छ । यति बेला उनी कक्षाकोठामा नभई त्रिवि अन्तर्राष्ट्रिय (टीयू) क्रिकेट मैदान बाहिर हेल्मेटको सुरक्षार्थ खटिएका भेटिन्छन् । जारी नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न मोटरसाइकलमा आउने दर्शकका हेल्मेटको हेरचाहको जिम्मा उनले सम्हालेका छन् । अरूले एउटा हेलमेट हेरिदिएको ५० देखि १०० रुपैयाँसम्म लिने गरेकामा उनी भने ३० रुपैयाँमा हेरिदिन्छन् । उनीसँग अरू १० जना साथीहरू एनपीएल सुरु भएदेखि नै यो नौलो काममा खटिएका छन् । क्रिकेटप्रेमीका लागि मात्र हैन, एनपीएलको माहोल अहिले धेरैका लागि अर्थ उपार्जनको गतिलो माध्यम बनेको छ । एनपीएलले विद्यार्थीलाई आम्दानीको बाटो मात्र नभई साना व्यापारीलाई आशासमेत जगाएको छ ।
सुदूरपश्चिमको कञ्चनपुरबाट छोराको उपचारका लागि काठमाडौं आएका सूर्यबहादुर बुढा यतिबेला टीयू क्रिकेट मैदान बाहिर व्यस्त देखिन्छन् । उनी अन्डा रोल, चिकेन रोल, कालो चिया, अन्डा र पानी बेच्न व्यस्त छन् । ‘म १० महिनादेखि यहीं छु, छोराको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । कीर्तिपुरको पाँगामा टहरा बनाएर बसेको छु,’ बुढाले भने, ‘खाली बस्नुभन्दा खेल हुँदा केही काम गरौं भनेर आएको हुँ । भारतमा हुँदा होटलसम्बन्धी काम गरेको थिएँ, यहाँ प्राय: म:म का पसल मात्रै देखें, त्यसैले ‘रोल’ बनाउँदा केही फरक होला भनेर यो काम सुरु गरेको हुँ ।’ बुढाले घरकै ग्यास चुलो र भाँडाकुँडा ल्याएर व्यापार थालेका हुन् । ‘घरबाटै रोटी र सस बनाएर बिहानै आइपुग्छु, अहिले छोराले पनि सामान्य सहयोग गर्छ । व्यापारले राम्रै गति लिएको छ,’ उनले भने, ‘खेल राम्रो भएको दिन खर्च कटाएर दिनको दुई हजारसम्म बच्छ । पिठो (मैदा), अन्डा र मासुमा बाहेक अरूमा धेरै लगानी गर्नुपरेको छैन । यहाँ काम सुरु भएपछि गाउँबाट खर्च पनि माग्न परेको छैन ।’
नुवाकोटका राम थापा पनि यहाँ बदाम बेच्दै गरेका भेटिन्छन् । ‘अरू दिनभन्दा शनिबार धेरै मान्छे आउँछन्, सबै बदाम बिक्री हुन्छ,’ थापाले खुसी हुँदै भने, ‘ठेलामा बाटोबाटो डुलेर बेच्नभन्दा यहाँ निकै सजिलो भएको छ ।’ थापाले दैनिक ५० किलो जति बदाम ल्याएर बिक्री गर्ने गरेको बताए । बल्खुका रवि महर्जनले पनि मंगलबारदेखि टीयू क्रिकेट मैदान बाहिर व्यापार थालेका छन् । सुरुमा उनले १५ हजार रुपैयाँको पानी, चिसो पेय पदार्थ र चाउचाउ लिएर साथीहरूसँगै आएका थिए । ‘हामी पनि एनपीएलको एक हिस्साका रूपमा यहाँ आएका हौं,’ उनले सुनाए, ‘अग्लो ठाउँमा सामान राखेको छु । यहाँबाट खेल पनि हेर्न सकिन्छ, व्यापार पनि भइरहेको छ ।’
सानु कान्छी लोले मैदानबाहिर ‘जंक फुड्स’ र फलफूल बेच्दै आएकी छन् । उनलाई मैदानभित्रको खेलमा भन्दा आफ्नो सामानको बिक्री कसरी बढाउने भन्नेमा बढी चासो छ । पहिले उनी तरकारी बेच्थिन् तर काठमाडौं महानगरले रोक लगाएपछि काठमाडौंबाहिर चटपट बेच्न थालिन् । अहिले टीयू मैदानमा उनको व्यापार दिनमा तीन हजारदेखि पाँच हजारसम्म पुग्न थालेको छ । यसमा उनी खुसी छिन् । उनका अनुसार यहाँ आउनुपहिले हजार रुपैयाँको पनि व्यापार हुन्थेन ।
हामीले भेट्दा महेन्द्रनगरकी सरस्वती चौधरीले पनि आफ्नो व्यवसाय सुरु गर्दै थिइन् । उनले भनिन्, ‘जहाँ मानिसको भीड हुन्छ, त्यहीं व्यापार राम्रो हुन्छ । मैले नयाँ व्यवसाय सुरु गर्ने उद्देश्यले ठेला र म:म पकाउने भाँडाहरू किनेर ल्याएको छु । २० हजार रुपैयाँ साथीहरूसँग सापटी लिएर र दाजुको सहयोगमा उनले यो व्यवसायलाई अघि बढाएको बताइन् ।
उनीहरूजस्तै, टीयू क्रिकेट मैदानबाहिर थुप्रैले आफ्ना साना व्यवसायहरू सञ्चालन गरेर आम्दानी गरिरहेका छन् । कसैले रहरले त कसैले बाध्यताले यी व्यवसाय अँगालेका हुन् । यति बेला नेपाल र सहभागी टोलीहरूको झन्डा तथा स्टिकर बेच्नेदेखि चटपट, पानीपुरी, सुन्तला र खानाका स्टल सञ्चालन गर्नेसम्मका गतिविधिले मैदान बाहिरको माहोल पनि रंगीन बनाएको छ । यहाँका दृश्यले रमाइलो मेलाको झल्को दिने मात्र नभई आर्थिक आम्दानीको गजबको माध्यम पनि बनेको छ । यही मंसिर १५ देखि सुरु भएको एनपीएल पुस ६ सम्म आयोजना हुनेछ ।
