फिल्म चलेपछि बढ्यो निर्माण

फिल्म निर्माणका लागि जाडोयाम उपयुक्त मानिँदैन । चिसो र छोटा दिनका कारण लागत बढ्ने भएकाले निर्माताहरू हत्तपत्त छायांकन गर्न चाहँदैनन् । तर पछिल्ला आठ महिनामा नेपाली फिल्मले उल्लेख्य व्यापार गर्न थालेपछि अहिले फिल्म निर्माण गर्नेको लर्को छ ।

मंसिर २६, २०८१

समर्पण श्री

Production increased after the film was released

काठमाडौँ — पछिल्लो समय अधिकांश नेपाली फिल्मले बक्सअफिसमा लगातार सफलता पाइरहँदा त्यसको सकारात्मक प्रभाव फिल्मकर्मीहरूमा देखिन थालेको छ । फलस्वरूप अहिले धमाधम नयाँ फिल्महरू घोषणा हुने र बन्ने क्रम तुलनात्मक रूपमा बढेको छ । नियमित फिल्म बनाइरहेकाबाहेक लामो समयदेखि फिल्म निर्माणका लागि आँट गर्न नसकेका पुराना फिल्मकर्मी पनि ‘कमब्याक’ हुन थालेका छन् ।

फिल्म निर्माणका लागि जाडोयाम उपयुक्त समय हैन । चिसो र दिन छोटा हुने कारण लागत बढ्ने हुँदा पनि यो समय प्रायः फिल्मकर्मी हत्तपत्त छायांकनमा जाने आँट गर्दैनन् । तैपनि अहिले फिल्मका सुटिङ धमाधम भइरहेका छन् । जसले गर्दा फिल्मकर्मीहरू पनि व्यस्त छन् । केही फिल्महरू हालैमात्र छायांकन सकाएर फर्किएका छन् त केही सुटिङमै छन् । केही जाने तयारीमा छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीका अनुसार सुखद व्यापारिक माहोलकै कारण पछिल्लो एक महिनामै १० वटाभन्दा बढी नेपाली फिल्मले बोर्डबाट निर्माण इजाजतपत्र लिइसकेका छन् । यो क्रम अझै बढ्ने उनको आकलन छ । अहिले फिल्ममा राम्रो व्यवसाय हुने रहेछ भनेर लगानी गर्नेहरू थपिएको हुन सक्ने अध्यक्ष डीसी बताउँछन् । 

Production increased after the film was released

वैशाखयता हेर्ने हो भने अधिकांश नेपाली फिल्मले सुखद व्यापार गरेका छन् । वैशाखमा प्रदर्शन भएको ‘बोक्सीको घर’ देखि ‘पुजारा सार्की’, ‘फर्की फर्की’, ‘घरज्वाइँ’, ‘मनसरा’, डिग्री माइला’ ‘गाउँ आएको बाटो’, ‘खुस्मा’ हुँदै ‘शाम्बाला’ सम्म आईपुग्दा कुनै फिल्मले पनि व्यापारमा निराशा भोग्नु परेन । केहीले लगानी सुरक्षित गरे भने धेरैले सुखद व्यापार गरे । दसैंयता हेर्ने हो भने ‘बेहुली फ्रम मेघौली,’ ‘ज्वाइँसाब’, ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’सम्म आइपुग्दा त घरेलु बक्सअफिसमा व्यापारको उछाल नै आयो । 

लक्ष्मीपूजाको अवसरमा कात्तिक १५ बाट प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारंगी’ले त व्यापारको नयाँ मानक नै स्थापित गरिसक्यो । उक्त फिल्म यतिबेला बक्सअफिसमा ५० करोड कारोबारको आसपास पुगिसकेको छ । यही आक्रामक व्यापारकै कारण स्वदेशी फिल्म क्षेत्रमा रौनक बढेको हो । त्यसपछि प्रदर्शनमा आएका ‘ह्रस्व दीर्घ’ र ‘तेल भिसा’को व्यापार पनि सन्तोषजनक नै रह्यो । सधैं विदेशी फिल्मको दबदबा खेपिरहेका स्वदेशी फिल्मका लागि पनि ‘पूर्णबहादुरको सारंगी’ आशाको किरण बनेर आइदियो । यसले बलिउडका दुई आशालाग्दा ठानिएका फिल्म ‘सिंगम अगेन’ र ‘भुलभुलैया ३’ लाई घरेलु बक्सअफिसमा पछारिदियो । सरोज पौडेल निर्देशित उक्त फिल्मको व्यापारले गुणात्मक फड्को मार्दै जाँदा ‘सिंगम अगेन’ त नेपाली हलमा एक साताभन्दा बढी टिक्न सकेन ।

Production increased after the film was released

राम्रो कथा भन्न सकियो भने जुनसुकै विधाको फिल्म पनि चल्छ भन्ने उदाहरण अहिले देखिएको बोर्ड अध्यक्ष डीसी बताउँछन् । ‘वैशाखयता हेर्ने हो भने हर प्रकारका फिल्म चलेका छन् । हरर लाग्ने ‘बोक्सीको घर’ होस् वा कमेडी विधाको ‘छक्का पञ्जा ५’ वा एक्सन फिल्म ‘१२ गाउँ’ देखि सामाजिक कथानक फिल्म ‘पूर्णबहादुरको सारंगी,’ उनी थप्छन्, ‘यसैकारण हरेक मेकरलाई आफ्नो विधा अनुसारको फिल्म बनाउने आँट आयो । पहिला जुन विधाको फिल्म चल्यो उही विधामा फिल्म बनाउने लहर चल्थ्यो । अहिले सबै विधाका फिल्म चलेका छन् । यो खुसीको कुरा हो ।’

गत जेठमा दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ले पनि १० करोडमाथिको व्यापार गर्‍यो । त्यसअघि र त्यसयता घरेलु फिल्मका व्यापार हेर्दा राउतलाई पनि थप हौसला मिलेको छ । नियमित फिल्म बनाइरहेका राउतको नयाँ फिल्म ‘महाभोज’ आगामी माघबाट छायांकनमा जाने तयारीमा छ । अघिल्ला फिल्म निर्माण गर्दा कथावस्तु राम्रै भए पनि चल्छ कि चल्दैन भन्ने डर भइरहन्थ्यो उनमा । तर अहिले त्यो डर नरहेको राउत बताउँछन् । ‘विगतमा जति राम्रो बनाउने कोसिस गरे पनि दर्शकले फिल्म हेर्दैनन् भन्ने मनस्थिति हुन्थ्यो । अहिले राम्रो फिल्म बनाए चल्छ भन्ने विश्वास बढेको छ,’ उनी भन्छन् ।

सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’ अहिले छायांकनकै क्रममा छ । सशान कँडेल निर्देशित फिल्म ‘होस्टल ३’, कुमार कट्टेल निर्देशित फिल्म ‘लाज शरणम्’, अरुण लामा निर्देशित फिल्म ‘डोरी’, खिलबहादुर गुरुङ निर्देशित फिल्म ‘रिमै’, लोकेश बज्राचार्य निर्देशित फिल्म ‘विमान’, सुयोग गुरुङ निर्देशित फिल्म ‘जेरी अन टप’, कृषा चौलागार्इं निर्देशित फिल्म ‘पिताम्बर’ र प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’ अहिले फ्लोरमै छन् । रोज महर्जन निर्देशित ‘फेरि रेशम फिलिली’, दीप गुरुङ निर्देशित ‘जून–किरी’ लगायतका फिल्म केही दिनअघि मात्र प्याकअप भए । 

प्रायः म्युजिक भिडियोहरू निर्माण गरिरहेका सरोज वलीले हालै फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माणको घोषणा गरेका छन् । सरोजको यो पहिलो फिल्म हुनेछ । अगाडिदेखि नै फिल्म बनाउने योजना बुने पनि उनका लागि यो उपयुक्त समय लाग्यो । कारण, दर्शकहरूले हरेक विधाका फिल्मलाई स्वागत गरिरहेका छन् । झन् सरोज पौडेल निर्देशित फिल्म ‘पूर्णबहादुरको सारंगी’सम्म आइपुग्दा उनको फिल्म निर्माणको हुटहुटी झनै बढ्यो । ‘पछिल्ला फिल्महरूले दर्शकको साथ पाइरहेको देख्दा राम्रो कथा पस्किन सक्यो भने सफल हुने विश्वास जाग्यो, त्यसकारण उत्साह पनि बढ्यो,’ सरोजले भने ।

Production increased after the film was released

तुलसी घिमिरे पनि फिल्म ‘पहाड’ मार्फत लामो समयको अन्तरालपछि निर्देशनमा फर्कने भएका छन् । त्यसका लागि उनी चाँडै फ्लोरमा जाने तयारीमा छन् । सौरभ चौधरी निर्देशित फिल्म ‘कर्मा’ पनि आउने साताबाट छायांकनमा जाने बताइएको छ । त्यस्तै, माघमा पनि थुप्रै फिल्म छायांकनमा जाने तयारीमा जुटेका छन् । राउतको ‘महाभोज’, अर्जुन सुवेदी निर्देशित ‘सोल्टिनी’, लक्ष्मण सुनार निर्देशित ‘परालको आगो’ र ‘कल्ली’, मिलन तामाङ निर्देशित ‘माइतीघर’ र दीपेन्द्रकुमार खनाल निर्देशित ‘हरिबहादुरको जुत्ता’ माघबाट फ्लोरमा जाने तयारीमा छन् ।

समर्पण श्री उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully