पदयात्रीलाई हिउँ क्षेत्रमा पनि बाटो पहिल्याउन सजिलो हुने
गोरखा — लार्केपास क्षेत्रमा फलामका २१ वटा संकेत पोल (मार्किङ पोल) थपिएको छ । लार्केपास गर्ने पर्यटकको सजिलोका लागि धर्मशालादेखि मनाङको भीमथानसम्मको क्षेत्रमा संकेत पोल थपिएको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) का प्रमुख सन्तोष शेरचनले बताए ।
पदयात्रीलाई बाटो पहिल्याउन सजिलोका लागि संकेत पोल राखिएको हो । ‘हिउँ पर्ने क्षेत्र भएकाले पर्यटकले बाटो पहिल्याउन सहज बनाउन संकेत पोल थप गरेका हौं, हिउँ कति जम्यो पोलको अवस्थितिले पनि थाहा दिने भयो, यसो हुँदा जोखिमको अवस्था पनि बुझिन्छ,’ शेरचनले भने, ‘पर्यटकले ठाउँको उचाइ पनि थाहा पाउन् भनेर यस पटक थपिएको संकेत पोलमा अल्टिच्युट पनि राखिएको छ ।’
२६ वटा पोलमा उचाइबारे पनि लेखिएको शेरचनले बताए । यसअघि पनि लार्केपास क्षेत्रमा ८१ वटा संकेत पोल थिए । तीमध्ये ६ वटाको मर्मत पनि गरिएको उनको भनाइ छ ।
२१ संकेत पोल गत आर्थिक वर्ष थपिएको हो । ‘केही पोल ढलेका पनि थिए, त्यस्ता पोल मर्मत गर्यौं, २१ वटा थपिएसँगै अहिले १०८ वटा संकेत पोल लार्केपास क्षेत्रमा छन्,’ उनले भने, ‘हिउँले नछोपिने गरी सोहीअनुसारको उचाइको पोल छ, बाटो नबिराउन् भनेर एउटा पोलबाट अर्को पोलको दूरी आँखाले देखिने गरी राखेका छौं ।’
मार्किङ पोलको सहायताले हिमपात हुँदा गन्तव्यमा पुग्न पर्यटकलाई सहज हुने गरेको छ । पछिल्लो समय पर्यटकको चाप बढेको लार्केपास क्षेत्रमा रहेका अन्य पोल अवस्थाबारे पनि यकिन गरेर मर्मत गर्नुपर्ने अवस्था रहे पनि यो वर्ष निरन्तरता दिने उनको भनाइ छ । गत आर्थिक वर्ष मनास्लु क्षेत्रमा संकेत पोल र पदचिह्न राख्न चार लाख ४२ हजार खर्च भएको शेरचनले बताए ।
यस वर्ष पनि लार्केपास क्षेत्रमा १५ वटा संकेत पोल थप गर्ने तयारी गरिएको छ । मनास्लु क्षेत्रमा ३५ वटा पदचिह्न र ८ वटा लोकेसन वोर्ड राख्ने गरी तयारी गरिएको उनले जनाए । गत आर्थक वर्ष नुब्री क्षेत्रमा १४, चुमक्षेत्रमा ५, गमपुल र फिलिममा १/१ वटा पदचिह्न थपिएको थियो ।
‘यस वर्ष पदचिह्न र संकेत पोल थप्दा अल्टिच्युट पनि थाहा दिने तबरले राख्ने योजनामा छौं,’ उनले भने, ‘पदचिह्न राख्दा त्यो ठाउँबारे थाहा पाउन सजिलो हुन्छ ।’ लार्केपासका क्रममा जोखिमपूर्ण यात्रा गर्नुपर्ने भएकाले मार्किङ पोलले सहज बन्ने पथप्रदर्शक बताउँछन् ।
