इस्लिङ्टन कलेजमा ‘भीम्याग’

मंसिर २४, २०८१

कान्तिपुर संवाददाता

'Vmag' at Islington College

काठमाडौँ — नेपालभित्र रहेका विभिन्न कलेजको शिक्षाको गुणस्तर, त्यहाँको शैक्षिक वातावरण, पढाइसँगैविभिन्न अतिरिक्त क्रियाकलापलगायतका विषयमा विद्यार्थी तथा अभिभावकलाई निरन्तर जानकारी दिँदै आइरहेको ‘भीम्याग’ को टोली पछिल्लो समय भीजे संजोग कोइरालाको नेतृत्वमा काठमाडौंको कमलपोखरीस्थित इस्लिङ्टन कलेज पुगेको छ ।

यूके युनिभर्सिटीसँगको सहकार्यमा आईटी र बिजनेस कोर्स पढाइ हुने यस कलेज सन् २००६ मा स्थापना भएको हो ।

यस कलेजका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले सुरुवातमा कम्प्युटर इन्स्टिच्युट हुँदै इस्लिङ्टन कलेजमा विस्तारित भएको प्रसंग उप्काउँदै भन्छन्, ‘सुरुवातमा कम्प्युटर ट्रेनिङ इन्स्टिच्युसनका रूपमा काम गर्दागर्दै सन् २०११ मा आएर यूके पब्लिक युनिभर्सिटीसँग आबद्ध भई यूकेको पाठ्यसामग्री अध्यापन गराउने पहिलो एकेडेमिक इन्स्टिच्युसन बन्यौं । आज आएर हामी नेपालकै सबैभन्दा ठूलो निजी कलेज हुन पुगेका छौं ।’

नेपालको शिक्षा र विदेशी शिक्षाबीचको दूरीलाई हटाउने गरी आधुनिकस्तरको शिक्षण पद्धति अपनाउँदै आएको दाबी गर्ने यस कलेजको उद्देश्य विद्यार्थीलाई ‘पासआउट’ मात्र गराउने नभई स्नातक तहपछि स्वयंलाई काम गर्न सक्षम बनाउने रहेको बुढाथोकी थप्छन्, ‘कलेजका स्टाफले ग्राउन्ड लेभलमा नै गएर विद्यार्थीसँग निकै मिहिनेतका साथ काम गर्छौं ताकि नतिजा राम्रो निस्कियोस् । जसले गर्दा अध्ययनकै क्रममा विद्यार्थी सन्तुष्ट त छन् नै, पूर्वविद्यार्थीहरूले पनि कलेज सम्झँदा सधैं वाह भन्ने अनुभूति गर्न सकून् ।’

उनले कलेजको ठूलो सम्पत्ति नै आफ्ना पूर्वविद्यार्थीहरूको संगठन रहेको दाबी गर्छन् । कलेजले ‘अल्मुनाई’ का लागि छुट्टै भवनसमेत दिएको छ भने उनीहरूका अनुभवलाई विद्यार्थीसँग साझेदार पनि गराउँदै आएको छ ।

साथै, नेपालमा ‘साइबर सेक्युरिटी कोर्स’ ल्याउने र स्थापित गराउने पहिलो कलेज नै इस्लिङ्टन रहेको जानकारी दिँदै उनले थपे, ‘आज नेपालका जुनसुकै बैंक हुन् वा सरकारी कार्यालयको साइबर सेक्युरिटीमा हाम्रै कलेजका उत्पादनहरूले काम गरिरहेका छन् ।’ 

यस कलेजले हालै ‘साइबर सेक्युरिटी रिसर्च हब’ पनि सञ्चालनमा ल्याएको छ । इस्लिङ्टन कलेजले भैरव टेकसँग मिलेर सञ्चालनमा ल्याएको उक्त रिसर्च हबले विद्यार्थीलाई अत्याधुनिक अनुसन्धानका लागि पर्याप्त वातावरण दिएर व्यावसायिक उत्पादन गराउन लागिपरिरहेको बताइएको छ ।

भैरव टेकका सीईओ विजय लिम्बू सेनिहाङले यसबारेमा थप्छन्, ‘विद्यार्थीलाई इन्डस्ट्रीमा जानुअघि आइपर्न सक्ने साइबर सेक्युरिटीका जोखिमका बारेमा पहिल्यै अनुसन्धान गरी त्यसको हल पत्ता लगाएर अघि बढ्न सकून् र पूर्ण व्यावसायिक बन्न सकून् भन्ने उद्देश्यले नै यो रिसर्च हबको मोडालिटी तयार पारेका हौं ।’ यस कलेजमा आईटी डिग्री, बिजनेस डिग्रीमा पढाइ हुँदै आएको छ ।

कान्तिपुर

Link copied successfully