अमेरिकामा बन्यो छाउपडीमा आधारित 'भीआर फिल्म'

अमेरिकाको ड्रेक्सेल र पेन्सलभेनिया विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत नेपाली र विदेशी विद्यार्थीको सामूहिक प्रयासमा फिल्म निर्माण भएको हो ।

मंसिर २२, २०८१

सजना बराल

A 'VR film' based on Chhaupdi was made in America.

काठमाडौँ — महिलाविरुद्ध हुने विविध हिंसामध्ये छाउपडी, गुफाजस्ता कुप्रथा नेपालका कतिपय ठाउँमा अझै पनि कायम छ । यस्तो कुप्रथाका बारेमा थाहा पाएर आश्चर्यचकित बनेका अमेरिकाका केही विद्यार्थीले यही विषयमा ‘भर्चुअल रियलिटी’ (भीआर) प्रविधिमा आधारित फिल्म बनाएका छन् ।

‘एक गोठभित्रको आवाज’ नामक फिल्मले महिनावारीका बेला छाउगोठ, गुफा वा यस्तै अलग्गै ठाउँमा बस्दा महिलाहरूले भोग्ने मानसिक र भावनात्मक संघर्षको अनुभूति दिलाउने प्रयास गरेको छ । 

अमेरिकाको ड्रेक्सेल र पेन्सलभेनिया विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत नेपाली र विदेशी विद्यार्थीको सामूहिक प्रयासमा यो फिल्म निर्माण भएको हो । छाउपडीजस्तो पुरानो सामाजिक कुप्रथालाई आधुनिक प्रविधिमार्फत प्रस्तुत गरेर दर्शकमाझ महिलाहरूप्रति सहानुभूति जगाउने र यस्ता समस्याविरुद्ध चेतना फैलाउने उद्देश्य लिएको निर्देशक प्रशन्न सुवेदीले बताए ।

‘नेपालको सुदूरपश्चिम भेगमा अझै पनि छाउपडी प्रथाअनुसार महिनावारी भएका महिलालाई घरबाट टाढा, असुरक्षित र अस्वस्थ स्थानमा बनाइएका गोठमा बस्न लगाइने खबर समाचारमा सुन्दा नराम्रो लाग्यो,’ प्रशन्नले भने, ‘कानुनी रूपमा प्रतिबन्ध लगाइए पनि यो प्रथा अझै लुकेर वा परिमार्जित स्वरूपमा जारी रहेछ । छाउगोठको सट्टा बाख्राको खोरमा समेत महिनावारीका बेला महिलालाई बस्न लगाइँदो रहेछ । यो त झनै खराब भयो भन्ने लागेर यसविरुद्ध फिल्ममार्फत कथा भन्ने प्रयास गरेका छौं ।’ 

फिल्मकी लेखक हेमन्ता अधिकारीले महिनावारीको विषय आफ्ना लागि निकै निजी मामिलासमेत भएकाले यसमा काम गर्दा भावुक बनेको अनुभूति सुनाइन् । 'नेपालको छाउपडी जस्तो कठोर परम्परा त अमेरिकामा हुँदैन तर महिनावारीका बेला हुने छोइछिटो मैले पनि भोगेकै विषय हो,' उनले भनिन्, 'म ६ वर्षकी हुँदा अमेरिका आएकी हुँ । पहिलो पटक महिनावारी हुँदा बाबा, दादाहरूलाई छुनु हुँदैन, घरमा बस्नु हुँदैन भन्ने सुन्दा अनौठो लागेको थियो किनभने हामीलाई स्कुलमा महिनावारीलाई प्रजनन स्वास्थ्यसँग जोडेर पढाइएको थियो ।' यस विषयमा शुरु-शुरुमा आफ्नी आमासँग रिसाए पनि हेमन्ताले यसबारे थप अध्ययन गर्दा नेपालमा छाउपडी प्रथा प्रचलित रहेको र अरूसँग तुलना गर्दा आफ्नो अवस्था कम खराब भएको महसुस भएको उनले बताइन् ।

प्रशन्नका अनुसार फिल्मको मुख्य पात्र १३ वर्षीया प्रिया हुन्, जो सुदूरपश्चिम नेपालको ग्रामीण क्षेत्रमा बस्छिन् । गायनमा रुचि राख्ने प्रियाको कथा सिंगो फिल्मको आधार हो । उनलाई गायन प्रतियोगितामा भाग लिन काठमाडौं जाने ठूलो अवसर प्राप्त हुन्छ तर महिनावारी भएपछि छाउगोठमा बस्नुपर्ने बाध्यता आइपर्छ । छाउगोठभित्र बस्दा उनले शारीरिक कठिनाइ र मानसिक द्वन्द्वको अनुभूति गर्छिन् । प्रियाको भित्री आवाज, मानसिक द्वन्द्व र सामाजिक दबाबलाई दर्शकले भीआर प्रविधिमार्फत आफैंले महसुस गर्न पाउनु यो फिल्मको विशेषता हो ।

‘भीआर हेडसेट लगाएपछि दर्शकहरू आफैं प्रिया बनेर छाउगोठको साँघुरो, अँध्यारो र सर्पसमेत आउने असुरक्षित स्थानको मिहिन अवलोकन गर्न सक्छन्,’ फिल्मका प्रमुख डेभलपर एवं एनिमेटर प्रसिन श्रेष्ठले भने, ‘परम्परागत टु–डी फिल्ममा हामीले जे देखायो, दर्शकले त्यति मात्रै हेर्न पाउने हो, भीआरमा भने दर्शकले चारैतिर हेर्न सक्ने भएकाले हरेक कोणबाट दृश्य निर्माण गर्नुपर्छ । अडियो पनि दर्शकको स्थानअनुसार समायोजन गर्नुपर्छ । यसले फिल्मलाई यथार्थपरक र प्रभावकारी बनाउँछ ।’ 

फिल्म निर्माणको तयारी मे २०२३ मा सुरु गरिएको हो । यस प्रोजेक्टको निर्देशनमा प्रशन्न, एनिमेसनमा प्रसिन र लेखनमा हेमन्तासँगै टेक कन्सल्ट्यान्टका रूपमा सम्पन्न भट्ट, भीआर कन्सल्ट्यान्टमा उत्सव चौधरी, साउन्ड डिजाइनमा क्रिस सेल र न्यारेसनमा मेधावी पण्डित आवद्ध छन् । थप एक अमेरिकी, एक ग्रिक र एक भियतनामी विद्यार्थी पनि यो प्रोजेक्टमा जोडिएको प्रशन्नले जानकारी दिए । 

नेपाली समाजको कथा भनिए पनि फिल्मका मुख्य दर्शक पश्चिमी युवाहरू भएकाले छाउपडी प्रथाबारे संयमित तवरले कथा भन्नुपर्ने चुनौती रहेको निर्देशक प्रशन्नको भनाइ छ । ‘पश्चिमाहरूमाझ देखाउने भएकाले छाउपडी प्रथालाई खराब संस्कृतिका रूपमा मात्रै प्रस्तुत गर्ने नभई स्वास्थ्य र सामाजिक प्रभावबारे जानकारी दिन खोजिरहेका छौं,’ उनले भने, ‘यसमा हामीलाई हाम्रो विश्वविद्यालयका प्राध्यापकहरूले पनि विशेष ध्यान दिन सुझाव दिनुभएको छ ।’ 

फिल्मको भीआर संस्करण चाँडै नै ‘मेटाक्वेस्ट एप’ मा उपलब्ध हुनेछ, जुन निःशुल्क हेर्न सकिन्छ । भीआर हेडसेट नभएकाहरूका लागि फिल्मको ‘नन–इन्टरएक्टिभ’ संस्करण पनि युट्युब र अन्य अनलाइन प्लाटफर्महरूमा उपलब्ध गराइने प्रशन्नले बताए ।

फिल्मलाई व्यावसायिक प्रयोजनका रूपमा नभई शैक्षिक सामग्रीका रूपमा वितरण गरिने उनको भनाइ छ । विद्यालय, स्वास्थ्य सम्मेलन र फिल्म महोत्सवहरूमा देखाएर महिला अधिकार र प्रजनन स्वास्थ्यबारे जागरुकता फैलाउने उद्देश्य राखेको निर्माण टोलीको भनाइ छ ।

टोलीले फिल्म निर्माणमा ५ महिना लगाएर ८ मिनेट लामो प्रोटोटाइप तयार गरेको छ, जुन अन्ततः १२ देखि १४ मिनेट लामो हुने प्रसिनले बताए । यसका लागि थप जानकारी संकलन गर्न र फिल्ममा स्थानीय भाषा, देउडा भाका र ग्रामीण जनजीवन समावेश गर्न प्रशन्न र प्रसिन आउँदो साता नेपाल आउँदै छन् ।

कैलालीको मोहन्याल गाउँपालिका डुलेर फर्किएपछि फिल्मलाई अन्तिम रूप दिने उनीहरूको तयारी छ । ‘नेपाल गएर थप बुझेर आउ भनेर कलेजले नै हामीलाई ४ हजार डलरको एउटा फन्डमा नोमिनेट गरेको छ,’ प्रशन्नले भने, ‘हामी डिसेम्बर १० देखि जनवरी १० सम्म नेपाल आउँदै छौं ।’ 

‘एक गोठभित्रको आवाज’ भर्चुअल रियलिटीका माध्यमबाट नेपालका सामाजिक मुद्दालाई विश्वसामु प्रभावकारी ढंगले प्रस्तुत गर्ने एक नयाँ प्रयास भएको प्रशन्नले बताए । अहिले तयार भएको प्रोटोटाइपमै दर्शकहरूले फिल्मभित्र पूजाको थाली बोक्न र फूलहरू छर्किएर पूजा गर्न सक्छन् । त्यस्तै भीआर हेडसेट लगाएपछि दर्शकले मादल पनि बजाउन सक्छन् ।

पछिल्लो समय विश्वव्यापी रूपमै भीआर फिल्मको बजार बढ्दै गएको छ । सन् २०२५ भित्र यसको आकार २० अर्ब डलर नाघ्ने अनुमान गरिएको छ । फिल्म, गेम र अन्य इन्टर्याक्टिभ एक्पेरियन्स (अन्तक्रियात्मक अनुभूति) विधामा यो प्रविधिको प्रयोग निकै रुचाइएको छ ।

भीआर यस्तो प्रविधि हो जसले दर्शकलाई कम्प्युटरद्वारा सिर्जना गरिएको तीन–आयामी (थ्री–डी) संसारमा प्रवेश गराउँछ । यसमा हेडसेट लगाएर चारैतिर हिँड्न र हेर्न सकिन्छ जसले गर्दा दर्शकलाई त्यस स्थानमा वास्तविक रूपमै उपस्थित भएको आभास हुन्छ ।

युवा ग्यालरी

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully