विश्वविद्यालयमा परराष्ट्र नीति र सम्बन्धबारेमा अध्ययन गरिरहेका विद्यार्थीमध्येका मिलन, अपेक्षा र सविना नेपालको अन्य देशसँगको सम्बन्ध सन्तुलनमा राख्दै छिमेकी भारत र चीनबीच पुल बन्नुपर्ने धारणा राख्छन्।
काठमाडौँ — नेपाल दुई ढुंगाबीचको तरुल हो’ पृथ्वीनारायण शाहको यो भाष्यलाई बदलेर नेपाल दुई देशबीचको पुल बन्नुपर्छ भन्छन्, मिलन तामाङ । त्रिभुवन विश्वविद्यालयबाट ‘डिपार्टमेन्ट अफ इन्टरनेसनल रिलेसन एन्ड डिप्लोमेसी’ अध्ययन गरिरहेका उनी थप्छन्, ‘विश्वेश्वरप्रसाद कोइरालाले नेपाललाई दुई ठूला हात्तीबीच सुतिरहेको मान्छेजस्तै भनी गरेको व्याख्यालाई पनि परिमार्जन गर्नुपर्छ । बरु सचेत र सावधानीपूर्वक रहनुपर्छ ।’
मिलनको कुरासँग सहमत छिन्, अपेक्षा खतिवडा पनि । काठमाडौं विश्वविद्यालयबाट ‘डिपार्टमेन्ट अफ डेभलपमेन्ट स्टडिज’ गरिरहेकी उनी भन्छिन्, ‘नेपालले भारत र चीनसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्छ । नेपालको भौगोलिक संरचना अद्वितीय छ । दुई शक्तिशाली राष्ट्रबीचमा नेपाल छ । यी दुई देशहरूले हाम्रो परराष्ट्र नीतिलाई एकदमै बचाएर राखेको छ । विश्वमैनेपाल शान्तिपूर्ण राष्ट्रको रूपमा चिनिन्छ । न युद्धमा जोडिन्छ, न द्वन्द्वमा । नेपाल कसैको पक्षमा पनि छैन, विपक्षमा पनि छैन । जुन एकदमै खुसीको कुरा हो ।’
नेपालको भौतिक संरचनाको विकास हुनुमा चीनको एकदमै ठूलो हात रहेको ठान्छिन्, अपेक्षा । भन्छिन्, ‘सडक तथा पुल निर्माणदेखि मेसिनहरू चीनबाट आउँछ । भारतले गरेको नाकाबन्दीमा हाम्रो चीनसँगको सम्बन्ध सुमधुर भएको भए ठूलो संकटको सामाना गर्नुपर्दैन थियो र हामी भारतमाथि परनिर्भर हुन पर्दैनथ्यो ।’
‘चीनसँग हाम्रो सभ्यता र सांस्कृतिक सम्बन्ध छ,’ त्रिभुवन विश्वविद्यालयबाट ‘डिपार्टमेन्ट अफ इन्टरनेसनल रिलेसन एन्ड डिप्लोमेसी’ अध्ययन गरिरहेकी सविना जमरकट्टेल भन्छिन्, ‘व्यापारिक सम्बन्ध, आर्ट र बुद्धिज्मको कुरा जोडिन्छ । त्यसैले भारत र चीनसँगको सम्बन्ध समान हुनुपर्छ ।’ राजनीतिक पार्टीहरूले निर्णय लिँदा राष्ट्रको हितभन्दा माथि गएर राजनीतिक पद, शक्तिअनुसार काम गर्दा नेपालको कूटनीतिक सम्बन्धलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभाव पारिरहेको उनी बताउँछिन् ।
भारतमा ब्रिटिसले शासन गरेदेखि नै नेपालसँग सम्बन्ध जोडिएको भन्ने थाहा छ, मिलनलाई । ‘भारत र नेपालमा धेरै कुराको समानता छ । हिन्दी भाषा नेपालीहरूले सजिलै बोल्न र बुझ्न सक्छन् । राजनीतिक नेताहरूले भनेजस्तै रोटी–बेटीको सम्बन्ध पनि छ,’ उनी नेपालको राजनीतिक परिवर्तनमा भारतको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हस्तक्षेप हुने गरेको टिप्पणी थप्छन् । २००७ को राणाशासन अन्त्य हुँदा २०४६ को आन्दोलन, ०६२/६३ को जनआन्दोलनमा भारतले प्रमुख भूमिका खेलेको बताउँदै मिलन थप्छन्,‘मेरो बुझाइमा नेपालको हरेक राजनीतिक परिवर्तनमा भारतको महत्त्वपूर्ण भूमिका सधैं रहन्छजस्तो लाग्छ ।’
अमेरिकाको भर्खरै सम्पन्न राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले जितेपछि नेपाललाई प्रत्यक्ष रूपमा प्रभाव पार्ने अपेक्षाको बुझाइ छ । उनी भन्छिन्, ‘ट्रम्पको अमेरिका फस्ट भन्ने दृष्टिकोण थियो । उनी आत्मकेन्द्रित भएकाले यसको असर नेपालमा पर्छ । नेपालका लागि अमेरिकाले सबैभन्दा धेरै फन्डिङ गरिररहेको हुन्छ । जसले गर्दा हाम्रो जस्तो भू–राजनैतिक सम्बन्ध पनि नभएको देशलाई प्रभाव पार्छजस्तो लाग्छ ।’
अपेक्षाभन्दा फरक मत राख्दै सविना थप्छिन्, ‘नेपालको रणनीतिक स्थानमा चीन, अमेरिका र भारतको समान रणनीतिक चासो छ । नेपाल अहिले भू–राजनैतिक केन्द्र बनेको छ । यसमा अमेरिकाको रुचि धेरै छ । त्यसैले यो बेला फन्डिङ नआउने कुरा हुँदैनजस्तो लाग्छ ।’
बरु उनलाई लाग्छ, ‘ट्रम्पको जितपछि जताततै चर्चा भएको विषय नै आप्रवासी नीति हो । अमेरिकामा ठूलो संख्यामा नेपालीहरू बसोबास गर्छन् । वैधानिक रूपमा बसोबास गर्नेलाई खासै असर गर्छजस्तो लाग्दैन । अर्को, जलवायु परिवर्तन, व्यापार नीति हुन् । आयतित सामग्रीमा ६० प्रतिशत कर लगाउने भनिरहेका छन् । ट्रम्पको अघिल्लो कार्यकालमा जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी २०१५ को पेरिस सम्झौता खारेज भएको थियो ।’ ट्रम्पले बनाउने नीतिले नेपाललाई कसरी प्रत्यक्ष रूपमा प्रभाव पार्छ भन्ने पनि छ ।
ट्रम्पको जितपछि नेपाल र अमेरिकाबीचको सम्बन्धमा धेरै परिवर्तन नआउने ठान्छन्, मिलन । भन्छन्, ‘विश्वको नजरबाट हेर्दाचाहिँ कुन बेला कस्तो निर्णय गर्छ कसैले सहजै अनुमान लगाउन सक्दैन । तर मलाई अमेरिका र चीनसँगको सम्बन्धचाहिँ सन्तुलनमा जानुपर्छजस्तो लाग्छ किनभने उनीहरू दुई राष्ट्रको सम्बन्धले उनीहरूलाई मात्र होइन पूरै विश्वलाई असर पुर्याउन सक्छ ।’
