बीबीसी १०० प्रभावशाली महिलामा नेपालकी सिलसिला

तीन वर्षदेखि एकल प्रयासमा प्लास्टिक पुनः प्रयोग संकलन केन्द्र खोलेर झन्डै १६ हजार टन फोहोर संकलन गरिसकेकी उनी हिमाली क्षेत्रको सरसफाइ अभियानमा पनि आवद्ध छिन् ।

मंसिर १९, २०८१

नुमा थाम्सुहाङ

Nepal's streak in BBC 100 most influential women

काठमाडौँ — बीबीसीले सार्वजनिक गरेको सन् २०२४ मा विश्वका एक सय प्रेरक तथा प्रभावशाली महिलाहरूको सूचीमा नेपालकी पर्यावरण उद्यमी सिलसिला आचार्य पनि छनोट भएकी छन् ।

मंगलबार सार्वजनिक उक्त सूचीमा छनोट भएपछि उनले प्रतिक्रियामा भनिन्, ‘मेरा लागि यो एकदमै अपत्यारिलो खबर हो ।’ विश्वका एक सय प्रभावशाली महिलामा छानिएसँगै उनले ‘फोहोरको कामले सफा नाम दिएको’ बताइन् ।

पर्यावरण क्षेत्रमा सक्रिय नेपालकी दिगो विकास उद्यमी सिलसिलाले विश्वका अन्य महिलासँगै बीबीसीको उक्त सूचीमा पर्नुलाई आफूले गरेको कामले सम्मानजनक मान्यता पाएको टिप्पणी गरिन् ।

भनिन्, ‘यस उपलब्धिले नेपाललाई पुनः विश्व मञ्चमा चिनाएको छ भने मैले गर्दै आएको कामले पनि सम्मान पाएको महसुस गरेकी छु ।’

उक्त सूचीमा विश्वका पर्यावरण, संस्कृति तथा शिक्षा, मनोरञ्जन एवं खेल, राजनीति र विज्ञान, स्वास्थ्य एवं प्रविधि क्षेत्रका महिला छनोटमा परेका हुन् । सूचीमा नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराददेखि न्युजिल्यान्डकी आदिवासी सांसद हाना–रावहिती मइपी–क्लार्कसम्म छन् ।

त्यस्तै भारतमा बेवारिसे शवहरूको अन्तिम संस्कार गराउन सक्रिय पूजा शर्मा, सामाजिक कार्यकर्ता अरुणा रोय र कुस्ती खेलाडी विनेश फोगाट पनि उक्त सूचीमा समेटिएका छन् ।

बीबीसीको उक्त सूचीमा छनोट हुनेबारे सिलसिलालाई एक महिनाअघि जानकारी थियो । तर नाम सार्वजनिक नभइन्जेलसम्म उनलाई विश्वास गर्न गाह्रो भइरहेको थियो । सिलसिलाले काठमाडौंको टोखास्थित अभ्नी भेन्जर्स सञ्चालन गर्दै आएकी छन् । उनी कम्पनीकी सह–संस्थापक र निर्देशक हुन् ।

सन् २०२१ मा उनले करिब डेढ करोड रुपैयाँ लगानीमा ६ रोपनी जग्गामा प्लास्टिक पुनः प्रयोग संकलन केन्द्र सुरु गरेकी हुन् । जहाँ देशभरका २६ फोहोर संकलन केन्द्रमार्फत आएका फोहोरलाई पुनः प्रशोधन गरिन्छ । जहाँ चार सय जनाले रोजगारीसमेत पाएका छन् ।

‘वर्षमा हामीले ५ हजार टन फोहोर संकलन गर्छौं, अहिलेसम्म करिब १६ हजार टन फोहोर संकलन गरिसकेका छौं,’ उनले भनिन् । यहीँ कामको मूल्यांकन गर्दै बीबीसीले उनलाई सय प्रभावशाली महिलाको सूचीमा छनोट गरेको हो । 

बागलुङमा जन्मिएकी सिलसिलाले सन् २०११ मा नर्वेको बर्गन विश्वविद्यालयबाट वातावरणमा स्नातकोत्तर गरेकी हुन् । अध्ययनकै क्रममा उनलाई वातावरणको क्षेत्रमा काम गर्ने इच्छा जागेको हो । ‘विश्वमा भइरहेको जलवायु परिवर्तनलाई कसरी कम गर्न सकिन्छ भनी काम गर्न मन थियो,’ सिलसिलाले आफ्नो यात्राको कथा सुनाउँदै भनिन्, ‘प्लास्टिकलाई पुनः प्रशोधन गरी यसमा योगदान गर्न सकिन्छ भन्ने लाग्यो र निरन्तर यसैमा काम गरें । जसको नतिजा आज सबैको अगाडि छ ।’

Nepal's streak in BBC 100 most influential women

फोहोरलाई प्रशोधन गर्ने मात्र नभई यससँग जोडिएका सामाजिक, आर्थिक र वातावरणीय पक्षलाई जोडेर हेर्ने गरेको उनले सुनाइन् । समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने जिज्ञासु स्वभावकी सिलसिलाले थपिन्, ‘देखिएको समस्यालाई कसरी समाधान गर्ने भन्नेतर्फ लाग्ने बानी छ । यसैले गर्दा म यहाँसम्म आइपुगें । तर काम गर्ने क्रममा आउने विभिन्न बाधाले दिक्क लागे पनि यस किसिमको मान्यताले पुनः ऊर्जा थप्छ ।’ उनको सात वर्षकी एक छोरी र श्रीमान् छन् । आफूले पाएको पछिल्लो उपलब्धिले परिवारमा समेत खुसियाली छाएको उनले सुनाइन् ।

फोहोरको उचित व्यवस्थापनका लागि स्थानीय तह नै सक्रिय रूपमा लाग्नुपर्ने ठान्छिन्, सिलसिला । उनको विचारमा फोहोर आफैंमा समस्या होइन तर यसको उचित व्यवस्थापन गर्न नसक्दा समस्या निम्तिने गर्छ ।

‘अहिले फोहोरको समस्या दिनदिनै बढ्दै गइरहेको छ । यसमा काम गर्ने धेरै छैनन् । सरकारले पनि वातावरणको विषयलाई कम प्राथमिकतामा राखेको पाइन्छ,’ उनले थपिन्, ‘फोहोर संकलन गरेर डम्पिङ साइटमा लगेर फाल्नु मात्र समाधान होइन । यसले पनि वातावरणमा असर पारिरहेको हुन्छ । यसका लागि स्थानीय तहले फोहोर संकलन गर्नुअघि घर–घरबाटै कुहिने र नकुहिने फोहोर

छुट्याएमा ९० प्रतिशत समस्या सहजै समाधान हुन सक्छ ।’ उनले यसका लागि प्रभावकारी नीति बनाउन पनि आवश्यक रहेको ठान्छिन् ।

Nepal's streak in BBC 100 most influential women

सिलसिलाको यात्रा यतिमा मात्र रोकिनेवाला छैन । उनले भविष्यमा नीतिमार्फत फोहोर व्यवस्थापनको समस्यालाई कसरी समाधान गर्ने र कार्यान्वयनमा लान सकिन्छ भनी काम गर्ने सोच बनाएकी छन् । दुई महिनायता सरकारले देशभर रहेको प्लास्टिकको मात्रा र व्यवस्थापनबारे अध्ययन गरिरहेको छ । सिलसिला उक्त अध्ययन टोलीको नेतृत्वमा रही काम गरिरहेकी छन् ।

‘देशभर कति प्लास्टिक छ ? कति उत्पादन भइरहेको छ भन्ने केही पनि तथ्यांक सरकारसँग छैन,’ उनले भनिन्, ‘यसमा अध्ययन तथा अनुसन्धान गर्ने काममा व्यस्त छु । किन यसको व्यवस्थापन भइरहेको छैन ? र, कसरी गर्न सकिन्छ भनेर हामीले प्राविधिक अध्ययन गरिरहेका छौं ।’

उक्त अध्ययनको उद्देश्य फोहोर व्यवस्थापनको उपाय खोज्नु रहेको उनले सुनाइन् । यसैगरी नेपाली सेनासँग हिमाली क्षेत्र सरसफाइ अभियानमा समेत सहकार्य गर्दै आएकी छन् ।

युवा ग्यालरी

नुमा थाम्सुहाङ कान्तिपुरकी पत्रकार हुन् । उनी आर्थिक-सामाजिक बिटमा कलम चलाउँछिन् ।

Link copied successfully