बेलायतको बेकिङ प्रतियोगिता विजेता नेपाली

कामका सिलसिलामा संयुक्त अरब इमिरेट्स, कतार हुँदै बेलायत पुगेका धादिङका नारायण श्रेष्ठ गत जुलाईमा भएको ‘बेक अफ द प्रोफेसनल्स–२०२४’ को विजेता हुन् ।

मंसिर १६, २०८१

बुद्धिसागर मरासिनी

British baking competition winner Nepali

काठमाडौँ — भनिन्छ, सफलताका लागि सपना देख्न पनि जान्नुपर्छ । अनि सपना पूरा गर्न चाहिन्छ– निरन्तरको मिहिनेत र लगनशीलता । सपना पछ्याउँदै कर्ममा दत्तचित्त हुनेले नै सपनालाई विपनामा परिणत गर्न सक्छन् । त्यसैमध्येका एक हुन्, धादिङका नारायण श्रेष्ठ । 

धादिङको मैदीमा जन्मेका नारायणले एसएलसीसम्मको अध्ययन उतै सके । कक्षा ५ सम्म गाउँकै श्री पिपलटार प्राविमा पढेका उनले पछि गोर्खा दरबुङको श्री रत्नेश्वर माविबाट एसएलसी पास गरे । त्यसपछि उनी २०६७ सालमा थप अध्ययनका लागि राजधानी काठमाडौं पसे । 

हुन त विद्यालयमा नै कक्षा ११ र १२ को पढाइ सुरु भइसकेकाले शिक्षकहरूले त्यहीं पढिदिए हुन्थ्यो भन्ने नगरेका होइनन् । तर उनको मनमा भने सहरको रहर जागिसकेको थियो । ‘थाहा त केही थिएन । तर ठूलो ठाउँमा गएपछि अवसर पनि पाइएला भन्ने चाहिँ थियो,’ नारायणले उतिबेलाका कुरा सम्झिए । 

काठमाडौं आइपुग्दासम्म पनि उनले के पढ्ने र कहाँ पढ्ने भन्ने केही मेसो पाउन सकेका थिएनन् । काठमाडौंमा काकाको छोराहरूसँग बसे नारायण । अनिल दाइ, केशव दाइ र सुष्मा दिदीको साथ थियो । त्यसपछि दाइदिदीहरूसँगको सल्लाहमा व्यवस्थापन पढ्न सोह्रखुट्टेको सिग्मा कलेजमा भर्ना भए । 

आफ्नो खर्चको जोहो गर्न केही समयमा पार्ट टाइम काम पनि थाले । दिउँसो पढाइ, साँझ गेस्ट हाउसको हेल्पर । केही साथी भने होटल म्यानेजमेन्ट पढ्थे । होटल भिजिटमा गएका बेलाका कुरा बेलिबिस्तार लगाउँथे । खुब चाख मानेर सुन्ने नारायण मख्ख पर्थे । तर मनमा कताकता चिसो पसेजस्तो हुन्थ्यो– होटल म्यानेजमेन्ट नपढेकामा । 

होटलमा काम गरेको छोटो अनुभवले नै नारायणले यही क्षेत्रमा भविष्य देख्न थाले । तर उनलाई लाग्थ्यो– हेल्पर भएर त केही हुँदैन, जे छ सेफमा छ । सहरी दुनियाँको संघर्ष र रमझम बुझ्दाबुझ्दै नारायणले १२ कक्षाको पढाइ सके । 

स्नातक पढ्ने तरखर गर्दैगर्दा संयुक्त अरब इमिरेट्सको दुबईमा खुल्न लागेको नयाँ होटल हिल्टनले कर्मचारी माग गर्दै नेपालमा विज्ञापन गरेको थाहा पाए । दुबईमा हेल्परकै रूपमा काम गर्न पाए पनि केही त सिकिएला नि भन्ने लाग्यो उनलाई । त्यसपछि आवदेन दिएका नारायण छानिए । 

काकाका छोराहरू पनि दुबईमा होटल लाइनमै काम गर्ने भएकाले पनि उनी उतै जाने निर्णयमा पुगेका थिए । एक दशकअघि दुबई पुग्दा उनले काम गर्ने होटल औपचारिक रूपमा खुलिसकेको थिएन । नयाँ होटल भएकाले धेरैथरी काम गर्नुपर्थ्यो । 

होटलका पेस्ट्री सेफ नेपाली थिए । नारायणका लागि भने यो अवसर बन्यो । कामका लागि बजारतिर गएर आउँदा बुबाआमाले ल्याइदिएको दुनोट, बिस्कुट, केक खाँदा नारायणलाई लाग्थ्यो– आफूले पनि यस्तै बनाउन पाए पो ?'

British baking competition winner Nepali

बाल्यकालको त्यही स्वाद खोज्ने धुनमा उनले आफ्नो काम सकिएपछि फुर्सदमा पेस्ट्रीको काम सिक्न थाले । ‘त्यसपछि भने मलाई यही क्षेत्रमा केही गर्न सकिन्छ भन्ने लाग्यो,’ उनले भने । 

हेल्परका रूपमा करिब ६ महिना काम गरेपछि नारायणले आफूलाई किचनमा सारिदिन आग्रह गरे । तर अनुभव कम भएकाले पाएनन् । त्यसको केही समयमा नारायणलाई कतारको दोहास्थित ‘फोर सिजन्स होटल’ बाट प्रस्ताव आयो । तलब बढी हुने र उता गएपछि किचनमा काम पाउने आशाले उनी दोहा जान तयार भए । 

‘फोर सिजन्स’मा पेस्ट्री बनाउने मात्र करिब १५ जना थिए । विभिन्न प्रकारका पेस्ट्री तथा केक होटलमै बनाइन्थ्यो । केही समय काम गरेपछि भने उनलाई लाग्यो– ‘जिन्दगीमा जे गरियो ठिकै गरियो । अब त पेस्ट्री सेफ बन्ने सपना पनि पूरा हुन्छ भन्ने लाग्यो ।’

फोर सिजन्समा करिब ६ महिना हेल्परको काम गरेपछि उनी किचनमै सरुवा पाए । त्यहाँका इन्द्रकाजी राई पेस्ट्री सेफ र बेकरी सेफ विष्णु सुनार दुवै नेपाली थिए । नारायणलाई खोजेजस्तै भयो । काम गर्दै जाँदा उनलाई पेस्ट्रीमा यति रुचि बस्यो कि होटलको जागिर ८ घण्टा भए पनि काम सिक्नै उनी १५/१६ घण्टासम्म व्यस्त हुन्थे । ‘खासमा मलाई त्यही मेहेनेतले पेस्ट्री कला सिकाएको हो,’ नारायण भन्छन् । 

पेस्ट्रीमा हेल्पर भएर काम सिक्दै गर्दा कम्पनीबाटै उनले तालिम लिने अवसर पनि पाए । नारायणले तालिम पूरा गरेकै बेला एक जना सेफले काम छाडेपछि नारायणले अवसर पाए । नारायण भन्छन्, ‘केही सेफले त नयाँ नै भएकाले हुँदैन पनि भनेका थिए । तर धेरैले विश्वास गरेकाले मैले अवसर पाएँ ।’ 

पेस्ट्रीको काम सकेपछि उनले बेकरीमा पनि सघाउन पुग्थे । बेकरी सेफ विष्णुका कारण पनि नारायणले अनेकथरी बेकरी परिकार बनाउन सिके । काममा निकै लगनशील नारायणले सन् २०१८ मा बढुवा पाउने आसमा थिए । 

तर सोचेअनुसार बढुवाको सूचीमा नपरेपछि भने निराश भए । त्यति नै बेला फोर सिजन होटलकै आबुधावी (यूएई) शाखामा सेफको आवेदन खुलेको थाहा पाए । नारायणले पनि आवेदन दिए । त्यसपछि नारायणले करिब पाँच वर्ष आबुधावीमा काम गरे । 

सन् २०२३ मा यूकेबाट प्रस्ताव आएपछि भने उनी ओटुस्थित ‘इन्टरकन्टिनेन्टल लन्डन’ होटलमा कार्यरत छन् । यस अवधिमा उनी जुनियर शू–सेफ भइसकेका छन् । त्यही होटलबाट नारायणले विश्वकै प्रतिष्ठित र प्रतिस्पर्धात्मक बेकिङ प्रतियोगिता ‘बेक अफ द प्रोफेसनल्स–२०२४’ भाग लिने अवसर पाएका हुन् । 

नारायण गत जुलाईमा भएको ‘बेक अफ द प्रोफेसनल्स–२०२४’ को विजेता हुन् । उनी र भारतका तञ्जु शर्माको टोलीले प्रतियोगिताको फाइनलमा रोयल एयरफोर्स क्लबका प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेका थिए । 

नारायणले चिनी, चकलेट, चाउ पेस्ट्री र पाटे सुक्रे जस्ता प्रविधिगत क्षेत्रमा आफ्नो असाधारण सीप र दक्षता देखाउँदै प्रतियोगिताको विजेता बन्न सफल भएका हुन् । ‘बेक अफ विजेता बन्नु जो कोहीका असाधारण उपलब्धि जस्तै हो । त्यसमाथि यो नेपालका पनि गौरवको कुरा हो,’ नारायण भन्छन् । उपाधि नै जितेपछि त झन् आफूमाथि नयाँ केही गर्ने चुनाती थपिएको बताउँछन् उनी । 

पछिल्लो समय भने नारायण चकलेटसम्बन्धी नयाँ–नयाँ परिकार बनाउन क्रियाशील छन् । त्यसका साथै उनी आगामी दिनमा नेपाली सामग्रीहरूलाई विश्वस्तरमा प्रवर्द्धन गर्ने तयारीमा पनि छन् । उनी भन्छन्, ‘मैले बनाउने सामग्रीमा गुड र नेपाली खाद्यान्न प्रयोग गर्ने सोच छ । नेपालको पाककलालाई विश्वस्तरीय बनाउँदै ग्लोबल मार्केटमा उपलब्ध गराउने सोच छ ।’ 

त्यसका साथै, आफूले जानेको सीप अरूलाई सिकाउने सोच पनि छ नारायणको । उनी भन्छन्, ‘मैले जानेको सीप नेपालमा पनि फैलाउनु छ । केकमा नेपाली स्वाद मिसाएर नेपालीपन दिन चिनीको सट्टा सक्खर प्रयोग गर्ने सोच छ ।’

बुद्धिसागर मरासिनी मरासिनी कान्तिपुर संवाददाता हुन्। उनी अन्तर्राष्ट्रिय तथा समसामयिक विषयमा रिपाेर्टिङ र टिप्पणी लेख्छन् ।

Link copied successfully