सुदूरमा चम्केका ‘देउडिया’ शंकर

१४ वर्षको उमेरदेखि नै देउडा दोहोरी खेल्न थालेका उनले सुदूरपश्चिमका ९ जिल्ला र कर्णालीका ७ जिल्लामा पुगेर देउडा खेलिसकेका छन्, जता पुग्छन् उतै रुपैयाँ र फूलका मालाले सजिन्छन् ।

मंसिर १५, २०८१

मेनुका ढुंगाना

'Deudia' Shankar, who shone in the distance

अछाम — सुदूरपश्चिम भन्नेबित्तिकै देउडा संस्कृति जहिले पनि अग्रस्थानमा आउँछ । सुदूरपश्चिम र कर्णालीमा न्वारन, पास्नीदेखि बिहे व्रतबन्धसम्मका हरेक गतिविधि देउडा, न्याउलेबाटै सुरु हुन्छन् । पछिल्लो पैताला मिलाएर गोलो घेराभित्र डेढ पैताला अगाडि र डेढ पैताला पछाडि राखेर खेल्नु यसको मुख्य विशेषता हो ।

लोकदोहोरी जस्तै सवालजवाफ र जितहार देउडामा पनि हुन्छ । हातमा हात र खुट्टामा खुट्टा मिलाएर देउडा खेल्न सबैले सके पनि देउडाका टुक्काबाटै सवालजवाफ भने सबैको बसको विषय भने होइन ।

पछिल्लो पुस्तामा प्रत्यक्ष रूपमा ठूलो न्याउले खेलमा देउडामार्फत सवालजवाफ गर्न सक्ने अपवादमा मात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, बाजुराको हिमाली गाउँपालिका–६ भिम्माका २१ वर्षीय शंकर मल्ल ठकुरी । 

शंकर देउडिया (देउडामार्फत सवालजवाफ गर्न सक्ने) गायक हुन् । १४ वर्षको उमेरदेखि नै देउडा दोहोरी खेल्न थालेका शंकरले सुदूरपश्चिमका नौ जिल्ला र कर्णालीका ७ भन्दा बढी जिल्लामा पुगेर देउडा खेलिसकेका छन् ।

उनी जता पुग्छन् उतै रुपैयाँ र फूलका मालाले सजिन्छन् । हरेक ठाउँमा लाग्ने मेला महोत्सवदेखि बिहे, व्रतबन्धमा उनको माग अत्यधिक हुने गरेको छ । घरमा पनि जहिल्यै देउडाको माहोल बनिरहन्छ । शंकर आमा र मामाबाट प्रभावित भई देउडातर्फ लाग्न प्रेरित भएका हुन् । ५५ वर्षीया आमा गीता मल्ल पनि गाउँमा हुने हरेक मेला, महोत्सव र चाडबाडमा देउडा गाउँछिन् । 

गीताकी आमाका ५ दिदीबहिनी र मुगुको खत्याड गाउँपालिकामा उनका मामा ललितजंग शाही पनि देउडा दोहोरीका लागि प्रसिद्ध छन् । आमा र मामाघरमा हुने देउडा माहोलबाट प्रभावित भएका शंकरलाई विभिन्न जिल्लामा देउडा खेल्न जान दिने अनुमति भने उनका बुवाले दिएका थिएनन् ।

'Deudia' Shankar, who shone in the distance

कमजोर आर्थिक अवस्थाका कारण बिहान–साँझको छाक टार्न पनि मुस्किल हुने परिवार भएकाले छोराले पढेर जागिर गरोस् भन्ने उनका बुवा चाहन्थे । बाजुराको सदरमुकाम मार्तडीबाट गाडीमा एक दिन र पैदल ३ दिन लाग्ने उनको गाउँ अझै पनि विकट नै छ । 

आमा र मामाबाट वंशाणुगत गुण आफूमा सरेकाले जतिसुकै अप्ठ्यारो परिस्थिति आउँदा पनि देउडा खेल्न नछोडेको शंकरले बताए ।

‘म पहिलो पटक ८ वर्षअघि सदरमुकाम मार्तडी पढ्नका लागि गएका बेला त्यताको चर्चित अनन्ते मेलामा देउडा गाएको थिएँ । त्यतिबेला यति सानो बच्चाले पनि देउडा भन्छ भनेर धेरैले अचम्म मानेका थिए,’ उनले भने, ‘मार्तडीमा देउडा भनेर घर गएपछि सबैभन्दा धेरै आमा खुसी हुनुभयो । बुवा भने दुःखी हुनुभयो ।’ देउडा खेल्दै गाउँ–गाउँ जानेलाई समाजले ठिक नमान्ने र आम्दानीसमेत नहुने भएकाले बुवाले आफूलाई देउडाबाट धेरै टाढा राख्न खोजेको उनले बताए । 

'Deudia' Shankar, who shone in the distance

‘देउडामा लाग्नु नै हुँदैन भन्ने बुवा, छोरालाई देउडा नै सिकाउँछु भन्ने आमा । उहाँहरू बीच नै मैले देउडा भन्न पाउने कि नपाउने भन्ने विषयमा चर्काचर्की नै भयो । अन्तमा आमाले जित्नुभयो,’ उनले भने, ‘बुवाले देउडामा रामायणदेखि वेद र गीताका श्लोक हुन्छन्, तिमीले अध्ययन गरेका छैनौं, सक्दैनौं नलाग भन्नुभएको थियो । तर म अहिले जता पनि गएर देउडा खेल्छु, जति ठूलो भीड भए पनि आत्मविश्वासका साथ देउडा भन्न सक्ने भएको छु । मेरो आमा नै मेरो गुरु हुनुहुन्छ ।’ 

आमाको प्रयासले बुवा पनि सहमत भइसकेपछि उनले गाउँमा ७ वर्ष अगाडि हजारौंको भीडमा मुगुको खत्याडका चर्चित देउडिया धनबहादुर रोकायासँग देउडा खेले । साँझ ५ बजेदेखि सुरु भएको देउडा बिहान ५ बजेसम्म निरन्तर चलेको उनले स्मरण गरे । १४ वर्षको बालखाले देउडा भनेपछि गाउँ नै चकित भएको थियो ।

त्यसबेला चर्चित देउडिया रोकायाले उनलाई ‘तिमी कलिलै बच्चा छौं, भविष्य राम्रो छ । अवसर पाए देउडामार्फत संसारभर दौडिन सक्छौ’ भनेको सम्झन्छन् । जवाफमा शंकरले पनि ‘उमेर सानो भए पनि मैले भन्ने देउडा वंशाणुगत छाप हो, देउडाको ठूलै हुँ भन्नेलाई पनि जित्न सक्छु’ भन्दै आत्मविश्वास देखाएका थिए ।

सवालजवाफ चलिरहेको समयमा आफैं देउडाका टुक्का आउने गरेको शंकर बताउँछन् । ‘देउडा अरूले सिकाएर सिक्न सकिँदैन । परिस्थितिअनुसार पक्ष र विपक्षबीच देउडाबाटै भनाभन हुन्छ,’ उनले भने, ‘यो एक प्रकारको कला नै हो ।’

'Deudia' Shankar, who shone in the distance

केही समय अगाडि मुगुमा करिब १५ जना पुरुष देउडा गाउन आउँदा उनीहरूसँग आफू एक्लैले देउडा भनेको उनले सुनाए । २०७९ र ०८० मा सुदूरपश्चिम प्रदेश स्तरीय देउडा प्रतियोगितामा दुवै पटक प्रथम भएका उनले सुरुमा आफूलाई देख्दा कसैले पनि देउडा भन्छ होला भनेर नपत्याएको सुनाउँछन् । भन्छन्, ‘जब दौरा सुरुवाल लगाएर ठूलो लहरमा देउडा खेलको भित्र गएर दुई/चार देउडा भन्छु तब मात्रै पत्याउँछन् ।’

विभिन्न ठाउँमा देउडा खेलेर घर पुगेपछि उनले आमा र छोराबीच संवाद पनि देउडाबाट हुने गरेको बताए । देउडा भन्न धेरै ठाउँमा जाँदा कमाइ पनि राम्रो हुने गरेको उनले बताए । ‘धेरै ठाउँमा देउडा खेल्न जान्छु । अहिलेसम्म ३० लाख बढी नै आम्दानी भयो होला । यही कमाइले आमा र बहिनीको उपचार गरिरहेको छु,’ उनले भने । देउडा खेल्न आयोजकले उनलाई रेट कति हो भनेर सोध्छन् । त्यो बेला शंकरले देउडाबाटै जवाफ दिँदै भन्छन् :

अरू खेल्दा रहडले, म खेल्दो दुःखले

भनी हेल्दो, भनी पाउँदो रहडी मुखले ।।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully