‘आईपीएल’ का ‘टिनएज स्टार’ वैभव

मंसिर १४, २०८१

हिमेश

'Teenage Star' Vaibhav of 'IPL'

काठमाडौँ — उनी भए, भर्खर १३ वर्षका । तर अहिले नै उनी करोडपति बनिसकेका छन् । कुरा हो, क्रिकेट खेलाडी वैभव सूर्यवंशीको । उनलाई भविष्यका ठूला स्टार मानिएको छ । हालै साउदी अरबको जेद्दामा भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को ‘मेगा–अक्सन’ का क्रममा उनको चर्चा ह्वात्तै चुलियो ।

अक्सनमा उनलाई किन्न राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा नै चल्यो । अन्त्यमा राजस्थान वैभवलाई १ करोड १० लाख भारुमा किन्न सफल भयो । यस्तोमा उनी विश्व क्रिकेटकै सबैभन्दा ठूलो, धनी र लोकप्रिय फ्रेन्चाइज क्रिकेट लिग खेल्ने खेलाडी हुने भएका छन् । उनी अक्सन हुँदा मात्र १३ वर्ष २ सय ४३ दिनका थिए ।

यो त टिनएज नै भयो । अनि उनी हुन्, बिहारका । उनी अक्सनमा राखिएका त्यस्तो पहिलो नाम थिए, जसलाई आईपीएलकै १६ वर्षे इतिहासमा सबैभन्दा कान्छा मान्न सकिन्छ ।

वैभवमा पक्कै पनि केही हुनुपर्छ, किनभने राजस्थानका प्रशिक्षक हुन्, राहुल द्रविड । भारतीय क्रिकेट टिमसमेत उनले सम्हालिसकेका छन् । उनमा नयाँ खेलाडी खोज्न सक्ने र चिन्न सक्ने गज्जबको क्षमता छ भनिन्छ । हुन सक्छ, सम्भावना धेरै पनि छ, द्रविडले नै वैभवलाई किन्न जोड दिएका हुन् ।

बिहारको रणजी टिमका प्रशिक्षक हुन्, प्रमोद कुमार । उनलाई वैभवका पनि प्रशिक्षक मानिन्छ । ती प्रशिक्षकले आफ्ना चेलाबारे निकै मीठो प्रतिक्रिया दिएका छन् । उनले भनेका थिए, ‘वैभव त्यस्ता खेलाडी हुन्, जो क्रिकेट खेल्नकै लागि पृथ्वीमा आएका हुन् र खेल्न सकिएपछि फर्कने छन् । त्योभन्दा तलमाथि उनी कहीं पनि जाँदैनन् ।’ तिनै प्रशिक्षकका अनुसार वैभव जहिले पनि केही न केही सिक्न आतुर भइरहन्छन् । फेरि सिक्न कत्ति पनि समय लगाउँदैनन् ।

खासमा राजस्थानले वैभवलाई पछ्याएको अहिले होइन । केही समय अगाडि नागपुरमा राजस्थानले एउटा हाई–परफरमेन्स सेन्टर चलाएको थियो । त्यहीं उनको एकखाले परीक्षा लिएको थियो, जसमा उनको प्रदर्शन असाध्यै राम्रो रह्यो ।

राजस्थानका सीईओ ज्याक लुक म्याक्रम भन्छन्, ‘उनमा असाधारण प्रतिभा छ, अनि उत्तिकै असीमित सम्भावना पनि । उनले अझै कडा मिहिनेत भने गर्नुपर्नेछ, आईपीएलको माथिल्लो स्तरमा आफूलाई ढाल्न । हामी उनलाई स्वागत गर्न पाउँदा खुसी छौं ।’ वैभवको चर्चा यसै वर्ष सेप्टेम्बरको खेलमा भारत यू–१९ का लागि अस्ट्रेलियाविरुद्ध ६२ बलमा १०४ रन बनाएपछि चुलियो ।

उनको शतक ५८ बलमै पूरा भएको थियो । यो उपलब्धि चुम्दा उनको उमेर थियो, १३ वर्ष र १ सय ८८ दिन । विहारको समष्टिपुरका वैभवले रणजी ट्रफी पनि खेलिसकेका छन् र डेब्यु गर्दा उनको उमेर १२ वर्ष २ सय ८४ दिन थियो ।

अझ रमाइलो के भने उनका बुबा सन्जीव सूर्यवंशी पेसाले सामान्य किसान हुन्, अनि पार्ट–टाइम पत्रकार पनि । उनले आफ्नो छोराको क्रिकेट खेल जीवन अगाडि बढोस् भनेर जग्गा नै बेचेका रहेछन्, खर्च जुटाउन ।

एउटा प्रश्न भने बाँकी नै छ, के साँच्चै वैभवले आईपीएल खेल्न पाउलान् ? भारतीय मिडियाका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नियममा माथिल्लो स्तरको क्रिकेट खेल्नका लागि कम्तीमा १५ वर्षको हुनुपर्नेछ । सन् २०२० को नियमले असाधारण अवस्थामा विशेष अनुरोध पनि गर्न पाइन्छ आईसीसीसामु, त्योभन्दा कम उमेरको खेलाडीलाई खेलाउन ।

पाकिस्तानका एक खेलाडीे, हसन राजा । उनले ७ टेस्ट र १६ वान डे खेले, सन् १९९६ देखि २००५ बीच । टेस्ट डेब्यु गर्दा उनको उमेर थियो, १४ वर्ष २२७ दिन । यो नै अहिलेसम्मको कम उमेरमा अन्तर्राष्ट्रिय क्रिकेट खेलेको कीर्तिमान हो । आईपीएल कति उमेरकाले खेल्न पाउने भन्ने नियम छैन । यस्तोमा अब यो राजस्थानको निर्णयमा भर पर्नेछ । यसबीच वैभव सूर्यवंशीको नाममा एउटा स्टार क्रिकेट खेलाडीको पनि जन्म भइसकेको छ ।

हिमेश

Link copied successfully