देवीहरूले युद्धपछि पनि लड्नुपरेको सामाजिक, न्यायिक युद्धको पटाक्षेप हो, वृत्तचित्र ‘देवी’, जुन आत्मसम्मान र समानुभूतिको लडाइँ पनि हो, सामाजिक पुनःस्थापनाका लागि अर्को युद्धमैदानमा होमिएका योद्धाहरूको लडाइँ हो, जो आफूविरुद्ध भएको अपराधमा बोल्ने साहस जुटाउँदै अधिकारका लागि आवाज बुलन्द बनाउँदै न्यायका लागि संघर्षरत छन्
काठमाडौँ — ‘आज त आउँछ होला यो विषय, कसैले त उठाउँछ होला भनेर मैले १५ वर्ष कुरेँ । म पनि त ट्रमामा नै थिए नि । ठ्याक्कै बोल्न सक्ने, आवाज उठाउन सक्ने भएको भए पहिल्यै उठाउँथे नि,’ आँसु चुहाउँदै देवी खड्का भन्छिन्, ‘पछि त्यो पीडामा भएकाहरू हेर्दै गएँ र एउटा निष्कर्षमा पुगेँ, मैले नबोले कसैले नबोल्ने रहेछ ।’
देवीको ठीक अगाडि छन्, तत्कालीन माओवादी नेता बाबुराम भट्टराई र हिसिया यमी । सुविना श्रेष्ठ निर्देशित वृत्तचित्र ‘देवी’ मा युद्धकालमा महिलाहरूले भोगेका हिंसा, सहेका यातना र त्यसले उनीहरूमा पारेको असर बोल्छ ।
‘जनयुद्ध’ मा सुरक्षाकर्मी र माओवादी दुवैतर्फबाट बलात्कारमा परेका ३ हजारभन्दा बढी महिला छन् । तर, देवीले झैं उनीहरूले तत्काल आवाज उठाउन सकेनन्, न त्यसविरुद्ध उभिने आड नै पाए । समाज, परिवार अनि इज्जतका डरले वर्षौं चुप बसेका तिनै महिलाका न्यायका लागि देवीले अगाडि सारेको न्यायिक लडाइँ यो वृत्तचित्रमा देख्न पाइन्छ । सत्य निरूपण तथा मेलमिलाप आयोगमा निवेदन परेका करिब ३ सय जनालाई मात्रै राज्यले पीडित मान्यो ।
तर, यौनजन्य हिंसा, बलात्कारको पीडाले पिल्सिएका, गुम्सिएका महिलाहरू जो आयोगसम्म पुग्न सकेनन्, उनीहरूलाई पीडितको सूचीमै राखिएन । हदबन्दीको कानुनले उनीहरूलाई रोक्यो । यो वृत्तचित्रमा देवीले आफूजस्ता महिलाहरूको आवाजलाई एकत्रित गराउँदै हदबन्दीको कानुन संशोधन गर्न जोडबल गर्दै ती महिलाका लागि गरेको संघर्ष समेटिएको छ । यही कानुन संशोधन गराउन ‘देवीहरू’ कसरी सफल बने भन्ने पक्षलाई पनि वृत्तचित्रले देखाउँछ ।
तिहारको दृश्यबाट वृत्तचित्र सुरु हुन्छ । जहाँ, देवी परिवारसँग रमझममा रमाइरहेकी हुन्छिन् । लगत्तै वृत्तचित्रले देवीले न्यायका लागि सुरु गरेको यात्रा अनि विस्तारै युद्धको अँध्यारो पक्ष केलाउँदै देवीहरूले उज्यालोतर्फ चालेको कदमलाई पस्कन्छ । उज्यालोको पर्व तिहारलाई वृत्तचित्रमा लाक्षणिक रूपमा पस्किएको छ । दियो बाल्दै औंसीको कालो रातलाई जित्ने तिहारको प्रतीकात्मक दृश्यले द्वन्द्वपीडित महिलाहरूले युद्धका दौरान सहेका अँध्यारो पक्षलाई कसरी न्यायको खोजतर्फको उज्यालो यात्रामा लम्किए भन्ने देखाउँछ । तिहारको रमझबाट सुरु भएको ‘देवी’ को समापन पनि सप्तरंगी टीका लगाउँदै गरेको दृश्यमा गएर टुंगिन्छ । निर्देशक श्रेष्ठले करिब ८० मिनेटभित्र द्वन्द्वपीडित देवीहरूले दानवताविरुद्धको लडाइँ कसरी लड्छन् वा लड्दै छन् भन्ने मात्र देखाउँदैन, बरु उनीहरूका विगत खोतल्दै न्यायका लागि वकालत पनि गर्छ ।
देवी आफूजस्ता द्वन्द्वपीडितका विरुद्ध न्यायको लडाइँका लागि जब यात्रा तय गर्छिन्, तब क्यामेराले उज्यालो प्रकाशलाई पछ्याउँछ । अधिकांश समय देवीको यात्राले सूर्यको प्रकाश पछ्याइरहन्छ । कुनै न कुनै स्रोतको उज्यालोतर्फ यात्रा अगाडि बढिरहन्छ । वित्तचित्रकी प्रमुख पात्र देवीले पहिरेको कपडा होस् या समातेको यस्तै बाटो, त्यसले उज्यालोलाई पछ्याउन छोड्दैन । देवीहरूले अँध्यारोमाथि विजय हासिल गर्न तय गरेको साहसिक यात्राको विम्ब पनि हो यो उज्यालो । पीडितका कथा भन्न निर्देशकले अंगीकार गरेका यिनै बलिया विम्ब, ध्वनि र दृश्य भाषा नै वृत्तचित्र ‘देवी’ को सशक्त पाटो हो । ‘फिल्म साउथ एसिया’ मा नेपाल प्रिमियर हुँदै जुरी अवार्ड जित्न सफल ‘देवी’ ले द्वन्द्वले बनाएको घाउ कोट्याउँदै वर्तमानमा त्यसलाई निको पार्न मल्हम लगाउन खोज्छ ।
वृत्तचित्र कहिले विगतमा पुग्छ त कहिले वर्तमानमा फर्कन्छ । विगत फर्कंदा द्वन्द्वका दृश्यहरू समेटिएका छन्, जहाँ छापामार महिलाहरू बम र बारुदसँग लडिरहेका हुन्छन्, युद्धमा बन्दुक र बारुद बोक्न तयार महिलाको शक्ति, सामर्थ्य र साहस देखाइन्छ । द्वन्द्वले पारेको आहात, निर्मम प्रहार देखाउन विष्णु कल्पितद्वारा छायांकन गरिएका हरेक दृश्य संवेदनशील लाग्छन् । जब देवी पीडितलाई भेट्न पुग्छिन्, तिनका भोगाइ समेट्दा उनीहरूका पहिचान लुकाइन्छ र क्यामेरामार्फत तिनले सहेको पीडा र यातना उजागार गरिन्छ । पीडितले बोल्दा अनायास कस्ने मुट्ठी होस् या औंलाहरू बेचैन हुँदाका दृश्य पर्दामा आइरहँदा उनीहरूले शान्तिकालपछि पर्खेको न्याय र त्यसबीचको छटपटी र उकुसमुकस महसुस हुन्छ । उनीहरूका दर्दनाक भोगाइले मुटु निचोर्छ ।
ध्वनिलाई पनि उनीहरूले सहेका चोटको गहिराइ उतिकै संवेदनशील रूपमा प्रयोग गरिएको छ, ‘देवी’ मा । जब दृश्य वर्तमानमा फर्किन्छन् तब फरक किसिमको ध्वनिको प्रयोग देखिन्छ । दृश्य सुहाउँदो ध्वनिमा संवेदनमा पनि अपनाइएको छ । जब देवीले पीडित पात्रलाई भेट्न थाल्छिन्, तब उनीहरूले ती बलात्कारीका दानवी स्वरूप प्रस्तुत गर्छन् । पीडकहरू समाजमा शिर ठाडो गरी हिँडेका छन्,
तर पीडितहरू अझै अलमलमा छन् । एक पात्रले देवीसामु आफ्नो पीडा सुनाउने क्रममा भन्छिन्, ‘बलात्कारीहरू नै ठाडो आँखाले हेर्छन्, जसले गर्दा उनीहरूले हामीलाई घृणा गरेजस्तो अनुभूति हुन्छ । मैले न्याय पाउनुपर्यो, यो समाजको अगाडि हामीलाई सम्मान त दिनुपर्यो नि । तर ढिलोचाहिँ नगरून्,’ उनले भन्छिन् ।
देवीहरूले सहेका यातना, पीडा र समाजमा पुनःस्थापनाका लागि गरिरहेको अनवरत संघर्षको कथाले उद्वेलित बनाउँछ । वृतचित्रका कैयन् दृश्यले मन भारी बनाउँछ । वृत्तचित्रकी कथा वाचकसमेत रहेकी देवी मनभित्रको गह्रौं भारीलाई घुम्टोमा लुकाएर बसेका पीडित महिला पछ्याउँदै पुग्छिन् । आफूलाई बलात्कार गरेका अपराधी खुलेआम समाजमा डुलिहिँड्दा उनीहरू भने सामाजिक कैदको जीवन बाँचिरहेका छन् । यो वृत्तचित्र त्यस्ता महिलाको आवाज पनि हो, जो वर्षौंदेखि बन्धनमा छन् । जसले, देवीको सहयोगमा बल्ल उज्यालोको बाटो समाउने जमर्को गर्दै छन् । उनीहरूको आँखामा न्यायको झिल्को भेटिन्छ ।
वृत्तचित्र ‘देवी’ यस्तै देवीहरूले युद्धपछि लड्नुपरेको अर्को युद्धको वास्तविकता हो । आत्मसम्मान र समानुभूतिको लडाइँ हो । समाजमा पुनःस्थापनाका लागि अर्को युद्ध मैदानमा होमिएका योद्धाहरूको लडाइँ हो । जसले बल्ल आफूविरुद्ध भएको अपराधविरुद्ध बोल्ने साहस बटुलेका छन्, आस भेटेका छन् । आफ्नो अधिकारका लागि आवाजलाई बुलन्द बनाउँदै न्यायका लागि संघर्षमा अग्रसर ती तमाम देवीहरूको लडाइँ हो । उनीहरू समाजमा शिर उँचो गरेर हिँड्ने साहस बटुल्दै छन्, घुम्टोभित्र लुकेका कमजोर अनि हतोत्साही मनहरूलाई एकत्रित गर्दै न्यायको चर्को आवाज निकाल्न तयार छन् । देवीको यो लडाइँ, तिनै महिलाहरूको पक्षमा लडिएको लडाइँ हो, जो यो पितृसत्ता अनि युद्धले चिरिएको घाउमा मल्हम लगाउने यात्रामा छन् ।
एक पात्र जो बलात्कृत भएको थाहा पाएपछि पतिले छोडेर गएको सुनाउँछिन् । हुर्कंदै गरेको सन्तानको पढाइखर्च र समाजमा आफू पुनःस्थापित हुन संघर्षरत छिन्, उनी । उनको संघर्षले पनि द्वन्द्वमा बलात्कृत भएका महिलाहरूले समाजमा कसरी आफ्नो लडाइँ लड्नुपरिरहेको छ भन्ने ‘देवी’ मा देखाइएको छ । यसमा ती महिलाहरूले आफू बलात्कृत हुँदा कति तहमा लडाइँ लड्नुपर्यो भन्ने पनि देखाइएको छ । उनीहरूले ‘एन्जाइटी’ अनि ‘डिप्रेसन’ सँग मात्रै लडेनन्, परिवारसँगै पनि लड्नुपरिरहेको छ । देवीकै परिवारले पनि ‘दाजुको ठाउँमा तँ नै मरेको भए हुन्थ्यो’ भन्नसमेत भ्याए ।
बलात्कृत हुँदा देवीहरू स्वयंले मात्रै नभई, परिवारले पनि समाजसँग लड्नुपर्यो । त्यति मात्रै होइन, यसमा छोरीसँग देवीको अर्को जटिल सम्बन्ध पनि देखाइएको छ । त्यो सम्बन्धबीचको जटिलता र मिठासले पनि यो वृत्तचित्रलाई बलियो बनाइदिएको छ । वृत्तचित्रमा ती महिलाहरूले समाजका ती विभिन्न तहहरूसँग लड्नुपरेको दर्दनाक पीडालाई उदाङ्गो पारिदिएको छ । वृत्तचित्रले त्यस्ता पति पनि देखाउँछ, जो देवीको यो लडाइँमा अटल भई साथ दिन्छन् । उनीहरूका हरेक भावनामा सहानुभूत गर्दै साथ दिन्छन् । सरकारी सुरक्षाकर्मीद्वारा बलात्कृत भएकालाई मात्रै नभई विद्रोही छापामारद्वारा भएका घटनालाई पनि वृत्तचित्रले सन्तुलित ढंगले देखाएको छ ।
‘देवी’ वृत्तचित्र लैंगिक हिंसाविरुद्धको प्रतिरोध पनि हो । महिलाहरूमाथि भइरहेका यौनजन्य हिंसा र दुर्व्यवहारविरुद्धको आवाज हो । न्यायका लागि लडिएको लडाइँ, संघर्ष हो । अन्यायको पर्खाल भत्काउँदै डरबिनाको स्वतन्त्र र सम्मानजनक जीवनका लागि देवीहरूले लडिरहेको लडाइँ हो, बुलन्द आवाज हो ।
