ऋषभको सनसनीपूर्ण दोस्रो इनिङ्स

साउदी अरेबियामा आइतबार भएको खेलाडी लिलामीमा २७ करोड भारतीय रुपैयाँको बोली पाएका ऋषभ आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी सावित भएका छन्, भारतीय विकेटकिपर ऋषभ २३ महिनाअघि सवारी दुर्घटनामा परेर बालबाल बाँचे पनि खेल जीवनमा फर्किन्छु भन्ने स्वयंले पनि सोचेका थिएनन् 

मंसिर १०, २०८१

हिमेश

Sensational second innings from Rishabh

काठमाडौँ — ‘मलाई लागेको थियो, अब मेरा दिन सकिए,’ ऋषभ पन्तले यस्तै भनेका थिए । सन् २०२२ डिसेम्बर ३० को त्यो कालो दिन उनी नराम्रोसँग गाडी दुर्घटनामा परेका थिए । उनी आफैं मात्र के र, अरूलाई पनि लागेको थियो, यी क्रिकेट खेलाडी बाँच्ने छैनन् ।

बाँचिहाले पनि यिनले क्रिकेट त खेल्नै सक्ने छैनन् । अलिकति निको भइसकेपछि ऋषभ फेरि भन्थे, ‘यो त मेरो जीवनकै दोस्रो इनिङ्स हुनेछ ।’ यिनै विकेटकिपर खेलाडीले फेरि क्रिकेट मात्र खेलेनन्, मज्जाले खेले ।

अब त उनी इन्डियन प्रिमियर लिग (आईपीएल) कै सबैभन्दा महँगा खेलाडी पनि सावित भएका छन् । विश्व क्रिकेटको सबैभन्दा धनी फ्रेन्चाइज लिगको आइतबार मात्रै साउदी अरेबियामा भएको खेलाडी लिलामीमा उनी चर्को मूल्यमा बिक्री भए । उनका लागि लखनउ जायन्ट्सले कीर्तिमान ३२ लाख अमेरिकी डलर तिरेको छ । त्यो भनेको २७ करोड भारतीय रुपैयाँ हो । त्यो अर्थमा उनी आईपीएलकै मात्र नभएर विश्व क्रिकेटकै पनि सबैभन्दा महँगा खेलाडी बनेका छन् ।

मृत्युको मुखैमा पुगेर फर्केका यी खेलाडीको पछिल्लो यात्रा आफैंमा अविश्वसनीय भएन त अब ? वास्तवमै उनी निकै उपयोगी खेलाडी हुन्, चाहे त्यो पारम्परिक टेस्ट क्रिकेट होस् अथवा यो खेलकै कान्छो ढाँचा टी–ट्वान्टी । विकेटको पछाडि ग्लोभ्समा उनी सानदार छन् नै । झ्वाट्ट हेर्दा केही मोटो देखिन्छन्, त्यसैले विकेटकिपरका रूपमा उनको लचकदार प्रदर्शन हेर्दा नै विश्वास गर्न गाह्रो हुन्छ । ब्याटरका रूपमा उनको आक्रामकपन उत्तिकै आकर्षक छ ।

Sensational second innings from Rishabhदुई वर्षअघि दिल्ली-देहरादुन राजमार्गमा दुर्घटनाग्रस्त कार र अस्पतालमा उपचाररत क्रिकेटर ऋषभ पन्त ।

मध्यक्रममा आएर उनी तीव्र गतिमा रन बटुल्न माहिर छन् । उनको सबैभन्दा ठूलो विशेषता भन्नु नै टेस्ट क्रिकेट पनि टी–ट्वान्टी पारामा खेल्न सक्ने भन्ने छ । अब सोचौं, टी–ट्वान्टी क्रिकेट उनी आफैंमा कस्तो खेल्दो हो । त्यसैले त जेद्दामा भएको मेघा–अक्सनमा उनीमाथि ठूलै बोली लाग्ने अनुमान थियो, यस्तै भयो पनि । सन् २०१६ देखि पछिल्लो सिजनसम्म उनी दिल्ली क्यापिटल्सका खेलाडी थिए । गत सिजन दुर्घटनाको चोटबाट मुक्त हुँदै मैदानमा फर्केका थिए ।

अक्सनमा लखनउले सुरुमै उनीमाथि बोली लगाएको थियो । पछि रोयल्स च्यालेन्जर्स बैंगलरु र सनराइज हैदरावादले पनि रुचि देखाएपछि स्थिति साह्रै रोमाञ्चक बनेको थियो । लखनउले उनका लागि पछि २० करोड ७५ लाख भारतीय रुपैयाँ तिर्ने भएपछि अनुबन्ध यत्तिकै रकममा हुने निश्चित देखिएको थियो । ठीक यही बेला दिल्लीले ‘आरटीएम’ प्रयोग गरे । त्यो भनेको ‘राइट टु मार्च’ कार्ड हो । तर दिल्ली आफैंले लखनउजत्तिको तिर्न सकेन ।

ऋषभ टिममा आएपछि लखनउले अब उनको धेरै अर्थमा उपयोग गर्न सक्छ । जस्तो, टी–ट्वान्टी क्रिकेटलाई साँच्चै सुहाउँदो माथिल्लो क्रमको ब्याटर पाएको छ । अनि उनी उम्दा विकेटकिपर भइहाले । अझ त्योभन्दा पनि उत्तिकै ठूलो त के भने लखनउले एउटा सम्भावित कप्तान पनि पाएको छ । अहिले ऋषभ अस्ट्रेलियामा छन् र भारतका लागि पर्थमा पहिलो टेस्ट खेलिरहेका छन् । उनीमाथि लागेको कीर्तिमान बोलीले भारतीय टिममै पनि उनको स्थिति अझ बलियो भएको छ ।

रमाइलो के भने उनीभन्दा अगाडि उनकै साथी खेलाडी श्रेयश अय्यरका लागि कीर्तिमान बोली लागेको थियो । यस्तोमा केही घण्टाका लागि उनी सबैभन्दा महँगो खेलाडी बने । उनलाई भने पञ्जाब किंग्सले २६ करोड ७५ लाख भारतीय रुपैयाँमा किनेको थियो । पञ्जाबलाई पनि आउने सिजनका लागि एउटा कप्तान चाहिएको थियो, त्यो पनि भरपर्दो । ऋषभजस्तै उनले आफ्नो खेल जीवनको सबैभन्दा बढी समय दिल्ली क्यापिटल्समै बिताएका छन् ।

सन् २०२२ मा उनी कोलकाता नाइटराइडर्समा गएका थिए । उनकै नेतृत्वमा त हो, पोहोरको सिजन कोलकाताले आफ्नो इतिहासमै तेस्रोपल्ट आईपीएल जितेको । कोलकाताले यो उपाधि जित्ने क्रममा पूरा प्रतियोगितामै सानदार प्रदर्शन गरेको थियो । कोलकाताले लिग चरणमा पनि शीर्ष स्थान कब्जा गरेको थियो । यसको मुख्य कारण श्रेयशको कप्तानी र ब्याटबाट प्रदर्शन मानिन्छ । यस्तोमा पञ्जाबलाई के लाग्यो भने उनीमाथि ठूलै रकमको बोली लगाउँदा केही फरक पर्दैन ।

ऋषभमाथि बढी बोली लागेपछि अब श्रेयश दोस्रो महँगो खेलाडी भए । तर उनलाई यसमा कुनै अपसोच रहने छैन । यस्तो किन भन्दा अब उनलाई पनि भारतीय टिमको सम्भावित कप्तानका रूपमा हेर्न थालिएको छ, विशेषतः टी–ट्वान्टी टिममा । ऋषभ र श्रेयश यति धेरै रकमले बिक्री भएपछि एउटा तथ्य पनि निश्चित भएको छ र यो हो, भारतीय क्रिकेट आफैंमा नयाँ पुस्तामा हस्तान्तरण हुँदै छ । अब भारतीय क्रिकेट लामो समय रोहित शर्मा र विराट कोहलीमा टिक्ने छैन ।

हिमेश

Link copied successfully