नियमित पेसाकै रूपमा यस क्षेत्रलाई अँगाल्ने र त्यसबाट करिअर बनाउनेहरू उल्लेख्य मात्रामा थपिँदै
काठमाडौँ — झन्डै डेढ करोड सामाजिक सञ्जाल प्रयोगकर्ता रहेको नेपालमा व्यावसायिक कन्टेन्ट निर्माणलाई पेसा बनाउनेहरू पनि प्रशस्तै बढ्न थालेका छन् । कुनै अर्को काम गरेर ‘साइड जब’का रूपमा कन्टेन्ट बनाउनुभन्दा पनि नियमित पेसाकै रूपमा यो क्षेत्रलाई अँगाल्ने र त्यसबाट करिअर बनाउनेहरू थपिँदै गएका छन् । सामाजिक सञ्जालले चर्चा र फलोअर मात्र नभई आफूहरूलाई आयआर्जन र पहिचानसमेत दिलाएको ‘कन्टेन्ट क्रिएटर’हरूको भनाइ छ ।
डिजिटल ‘कन्टेन्ट क्रिएटर’का रूपमा पूर्णकालीन काम गरिरहेका युवामध्ये एक पराक्रम राणा नेपालमा डिजिटल ‘कन्टेन्ट क्रिएसन’को बजार बढिरहेकाले यहाँ धेरै सम्भावना रहेको बताउँछन् । मुम्बईमा छँदा नै ‘कन्टेन्ट क्रिएटर’का रूपमा सामाजिक सञ्जालमा प्रवेश गरेका पराक्रम भारतको तुलनामा नेपालमा ‘कन्टेन्ट क्रिएसन’को बजार सानो भए पनि विस्तार भइरहेको पाउँछन् । ‘कन्टेन्ट क्रिएटरका लागि मुम्बई निकै व्यस्त क्षेत्र हो, कामको चाप यति धेरै हुन्छ कि अरू केही गर्न सकिँदैन,’ उनले भने, ‘नेपालमा यो क्षेत्र अझै विकासको क्रममा छ तर नेपाल बढ्दो बजार हो ।’
आफूले ‘कन्टेन्ट क्रिएसन’लाई नै प्रमुख पेसाका रूपमा अघि बढाउन चाहेकाले ब्रान्डहरूका कन्टेन्टलाई सक्दो आकर्षक बनाउने प्रयास गर्दै आएको उनले बताए । ‘यो क्षेत्रमा टिकिरहन सकियोस् भनेर म आफूले सहकार्य गरेका ब्रान्डहरूको कन्टेन्ट सकेसम्म इन्गेजिङ बनाउने प्रयत्न गर्छु,’ उनले भने, ‘यसलाई पूर्णकालीन पेसाका रूपमा लिएपछि यो अन्य जागिर जस्तै हुन्छ, जहाँ कार्यालय र अन्य जागिरमा जस्तै कहिलेकाहीं दबाब, तनाव महसुस भइहाल्छ ।’
बालबालिका र युवाहरूको अनलाइन सुरक्षाका लागि कार्यरत संस्था चाइल्ड सेफ नेट र सामाजिक सञ्जाल प्लाटफर्म टिकटकले संयुक्त रूपमा आयोजना गरेको एक कार्यक्रममा पराक्रमसँगै पूर्वमिस नेपाल एवं ‘कन्टेन्ट राइटर’ शृच्छा प्रधान, कलाकार एन्जल राईलगायत युवाहरूले डिजिटल प्लाटफर्मका सकारात्मक एवं नकारात्मक पक्षसँग जुध्दै आफ्नो पहिचान निर्माण गरिरहेको अनुभव सुनाएका थिए । डिजिटल प्लाटफर्मले नयाँ पुस्तालाई सिर्जनशीलता र आवाज प्रस्तुत गर्ने ठाउँ दिए पनि यो क्षेत्रमा रहिरन सीप विकाससँगै मान्छेहरूले दिन प्रतिक्रिया झेल्ने क्षमतासमेत विकास गर्नुपर्ने उनीहरूको साझा भनाइ छ ।
डिजिटल सुरक्षाका विषयमा पराक्रमले युवाहरूलाई सतर्क रहन आग्रह गरे । उनले आफ्ना पोस्टहरूमा आउने घृणास्पद कमेन्टहरूले मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पार्यो भन्ने अनुभव पनि सुनाए । ‘सुरुका दिनमा मानिसहरूले मेरो लैंगिक पहिचानमाथि टिप्पणी गर्दा मलाई नराम्रो लाग्थ्यो,’ उनले भने, ‘त्यो समय मैले कन्टेन्ट पोस्ट गर्नै छोडें वा धेरै कम मात्रै गरें । तर विस्तारै बुझ्दै जाँदा र गाइडेन्स पाएपछि मैले आफूलाई बलियो बनाएको छु । अब कसैले घृणास्पद टिप्पणी गर्छन् भने म उनीहरूलाई ब्लक वा रेस्ट्रिक्ट गरिदिन्छु । त्यस्ता कमेन्ट आउँदा पहिला आफैंमाथि प्रश्न गर्थें भने अहिले केही न केही दुःख परेरै त्यस्तो लेखे होलान् भनेर उनीहरूको माया लाग्छ ।’
शृच्छाले सोसल मिडियाबाट धेरै राम्रो कुरा सिक्न सकिने बताउँदै यसलाई जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याइन् । हाम्रा स्मार्टफोन जीवनको अभिन्न अंग बनेको र यसले धेरै सकारात्मक सम्भावना ल्याए पनि यसको सुरक्षित र जिम्मेवारीपूर्वक प्रयोग गर्न आवश्यक रहेको उनको बुझाइ छ । ‘हामीले सामाजिक सञ्जालमा के कुरामा समय खर्च गरिरहेका छौं भन्ने महत्त्वपूर्ण कुरा हो,’ उनले भनिन्, ‘मैले त त्यहाँबाट धेरै सुन्दर कुराहरू सिकेकी छु । तर कहिलेकाहीं फोनबाट बाहिर निस्केर परिवार, प्रकृति र वरिपरिको वातावरण बुझ्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।’
शृच्छाले सामाजिक सञ्जालभित्रको कोलाहलमा मिसिएर अत्तालिन आवश्यक नरहेको धारणा राखिन् । डिजिटल सुरक्षाका लागि व्यक्तिगत सावधानी र संस्थागत पहल दुवै आवश्यक रहेकोमा उनको विशेष जोड छ । ‘हामीले डिजिटल स्पेसलाई यति सुरक्षित बनाउनुपर्छ कि त्यहाँ सबैले सहज महसुस गर्न सकून्,’ उनले भनिन्, ‘हामी सबै उपस्थित रहेको क्षेत्र असुरक्षित बन्नुहुँदैन ।’
कलाकार एन्जल राईले सोसल मिडियाबाट कसरी आफ्नो करिअर सुरु भयो भन्ने अनुभव सुनाइन् । कोभिड महामारीको समयमा सामाजिक सञ्जालमा सक्रियता बढाएको र त्यो बेला खाना बनाउने तरिकादेखि नृत्य कोरियोग्राफी र रमाइला भिडियोहरू पोस्ट गर्दै फलोअरको ठूलो जमात जम्मा पार्न सकेको उनको अनुभव छ । ‘मेरो कन्टेन्ट मनपराउने र समर्थन गर्ने समुदायसँग जोडिन पाउँदा खुसी छु,’ उनले भनिन्, ‘सानै छ भनेर होला, मलाई हेट कमेन्ट खासै आउँदैनन् ।’
नेपालमा कन्टेन्ट क्रिएसन नयाँ तर सम्भावना भएको क्षेत्र भएकाले सीप विकासमा जोड दिन पराक्रमले युवाहरूलाई सुझाव दिए । ‘मैले एडिटिङ, फोटोसपजस्ता सीपहरू आफैं सिँके, यो क्षेत्रमा आउन चाहने युवाहरूले पनि आफ्नो सीपमा ध्यान दिनुपर्छ,’ उनले सुझाए । पराक्रम, शृच्छा र एन्जलको अनुभवमा सोसल मिडियाले व्यक्तिगत जीवनमा मात्र नभएर व्यावसायिक क्षेत्रमा पनि ठूलो परिवर्तन ल्याउन सक्छ । तथापि यो जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्ने माध्यम भएको उनीहरूको भनाइ छ ।
युवाहरूलाई नयाँ अवसरको ढोका खोलिदिए पनि सामाजिक सञ्जालमा हेट कमेन्ट र ट्रोलिङ जस्ता नकारात्मक पक्षहरूसँग जुध्न बाध्य हुनुपर्ने तीन जनै ‘क्रिएटर’हरूले बताए । उनीहरूको सन्देश स्पष्ट थियो– आफ्नो रुचिलाई पछ्याउनुस्, सीप विकास गर्नुस् र जिम्मेवारीपूर्वक डिजिटल संसारको हिस्सा बन्नुस् ।
