प्रियंका र सरोजको ‘मनको तिर्सना’

मंसिर ९, २०८१

कान्तिपुर संवाददाता

Priyanka and Saroj's 'Manko Tirsna'

काठमाडौँ — समिर खरेल र बेनिशा पौडेलको युगल गायन रहेको गीत ‘मनको तिर्सना’ शुक्रबार सार्वजनिक भएको छ । रंगकर्मी मानव सुवेदीको निर्देशन रहेको म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की र सरोज ओलीले अभिनय गरेका छन् ।

ओलीकै शब्द रचना रहेको उक्त गीतको भिडियोलाई निर्देशक सुवेदीले होटल सञ्चालन गरेर बसेकी जमुना र साइकलमा सामान बेचेर गुजारा चलाइरहेका गोपालबीचको प्रेमलाई कथानक प्रस्तुति दिएका छन् । पटकथा भने अभिनेत्री सुरक्षा पन्तको हो । 

फिल्म अभिनयमा व्यस्त रहेकी प्रियंकाले लामो अन्तरालपछि भिडियोमा अभिनय गरेकी हुन् । ‘कुनै गीत मनदेखि सन्तुष्ट भएर अभिनय गरिन्छ’ अभिनेत्री कार्कीले ‘मनको तिर्सना’ गर्नुको कारणबारे भनेकी छन्, ‘हो, त्यस्तै गीतहरूमध्येको एउटा गीत हो यो ।’ गीतकार ओलीले सरल शब्दमा सरल र निश्चल प्रेमाभाव व्यक्त गर्ने गरी यसका शब्द रचना गरेको बताए ।

 ‘पछिल्लो समय सांगीतिक क्षेत्रमा सुगम संगीतभन्दा बढी भाइरल बनाउने ध्येयले विकृति आएको देखिन्छ,’ गीतका प्रस्तुतकर्तासमेत रहेका ओलीले थपे, ‘यो गीत क्षणिक चर्चाका लागि भन्दा पनि श्रोता, दर्शकमा मिठो अनुभूति दिलाओस् भन्ने उद्देश्यले बनाएको हुँ ।’ त्यसो त उनका अधिकांश गीतहरूले युट्युबमा करोडमाथिका भ्युज बटुलेका छन् । 

दीपक शर्माले संगीत भरेको ‘मनको तिर्सना’ मा उदयराज पौडेलको एरेन्ज तथा श्यामश्वेत रसाइलीको मिक्सिङ मास्टरिङ रहेको छ । पवन सुस्लिङले खिचेको भिडियोको सम्पादन निर्देशक सुवेदी स्वयंले गरेका हुन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully