‘सिक्स-ए आकाश गंगा’ लाई रामबहादुर ट्रफी

१४औं फिल्म साउथ एसियामा ‘देवी’ र ‘एन वड टु रेजिलेन्स’ लाई जुरी अवार्ड

मंसिर ११, २०८१

कान्तिपुर संवाददाता

Ram Bahadur Trophy for 'Six-A Akash Ganga'

काठमाडौँ — फिल्म साउथ एसिया महोत्सवमा ‘सिक्स–ए आकाश गंगा’ उत्कृष्ट फिल्म बनेको छ । पाटनढोकास्थित यलमाया केन्द्रमा आयोजित महोत्सवको समापन समारोहमा निर्मल चन्द्र ढन्द्रियालले निर्देशन गरेको उक्त फिल्म उत्कृष्ट ठहरिँदै ‘रामबहादुर ट्रफी’ जितेको हो । फिल्मले ट्रफीसँगै दुई हजार डलर पुरस्कारसमेत पाएको छ । 

यस वर्षदेखि सुरु भएको ‘फिल्म साउथ एसिया सम्मान’ भारतका चर्चित फिल्मकर्मी आनन्द पटबर्द्धनलाई प्रदान गरियो । महोत्सवमा उनको फिल्म ‘द वर्ल्ड इज फ्याम्ली’ ले ‘डकुमेन्ट्री स्टलवार्ट अवार्ड’ पनि जित्न सफल भयो । 

त्यस्तै, जुरी अवार्ड दुई वटा फिल्मले पाएका छन् । सुविना श्रेष्ठ र चर्दी कलाको ‘देवी’ तथा प्रतीक शेखरको ‘एन वड टु रेजिलेन्स’ लाई उक्त अवार्ड प्रदान गरिएको हो । यस वर्षको ‘उत्कृष्ट विद्यार्थी फिल्म’को अवार्ड भने समीक्षा माथुरको ‘हेलो गाइज’ ले जितेको छ । फिल्मले पाँच सय डलर पनि पाएको हो । यसैगरी, ‘तारेक मसुद उत्कृष्ट डेब्यु फिल्म’ को अवार्ड मुन्तहा अमिनको ‘सेइज इन द एअर’ लाई प्रदान गरिएको छ । यसको पुरस्कार राशि एक हजार डलर रहेको छ ।

जलवायु परिवर्तनसम्बन्धी विषयमा बनेको उत्कृष्ट फिल्मको अवार्ड सलमान जाभिद, विवेक सिंह संगवान र सत्य अम्वस्ताको ‘अ फ्लेमिङ फरेस्ट’ ले जित्यो । चार दिनसम्म चलेको फिल्म साउथ एसियाको १४औं संस्करणमा नौ देशका ४७ फिल्म प्रदर्शन गरिएको थियो । महोत्सवमा विभिन्न शीर्षकमा कार्यशालाहरू पनि सञ्चालन गरिएको थियो । सिनेमा निर्देशनसम्बन्धी एउटा कार्यशालामा भारतका चर्चित निर्देशक कबिर खान प्रमुख अतिथि थिए ।

कान्तिपुर

Link copied successfully