झन्डै ४ सयभन्दा बढी खेलाडीबाट पहिलो र दोस्रो चरण पार गर्दै अन्तिम ७ भित्र पर्न सफलमध्ये कृष, शार्दूल र अथर्व काठमाडौं गुर्खाजबाट ‘ट्यालेन्ट हन्ट’ मा छानिँदै शनिबारदेखि सुरु हुने नेपाल प्रिमियर लिगमा अनुभवी तथा उत्कृष्ट स्वदेशी तथा विदेशी खेलाडीसँगै खेल्दै छन् ।
काठमाडौँ — काठमाण्डु गुर्खाजको ‘ट्यालेन्ट हन्ट’ बाट ‘आइकनिक प्लेयर’ मा छानिएका कृष कार्की नेपाल प्रिमियर लिग (एनपीएल) लाई लिएर निकै उत्साहित रहेको बताउँछन् । छनोट प्रक्रियाको पहिलो र दोस्रो चरण पार गरेर ‘टप ७’ मा पर्नु उनका लागि खुसीको कुरा थियो ।
‘सबै जना खेलाडी ट्रेनिङ गरिरहेका र छनोट चरणका लागि तयारी गरिरहेका थिए । सबै जना आफ्नोतर्फबाट बेस्ट दिन्छु भनेरै आएका थिए,’ उनले थपे, ‘हामी एकै लेभलबाट खेलेर ग्रो भइरहेकाले पनि प्रतिस्पर्धा एकदमै टफ थियो ।
दुई चरण पार गरेर फाइनल छनोटमा आएका धेरैजसो खेलाडीहरू अनुभवी र घरेलु मैदानमा कुनै न कुनै खेल खेलिसकेका थिए ।’ काठमाण्डु गुर्खाजको फेसबुक पेजबाट ट्यालेन्ट हन्टका बारेमा थाहा पाएर फर्म भरेका थिए, शार्दूल भट्टले ।
ट्यालेन्ट हन्टबाट ‘डेभलपमेन्ट स्कट’ मा छानिएका उनलाई झन्डै ४ सय जनाबाट छनोट हुन पाउँदा एकदमै खुसी लागेको थियो । भन्छन्, ‘काठमाण्डुमा अधिकांश राम्रा खेलाडी यहीँ ट्रेनिङ गर्छन् । त्यसैले यहाँ सबै जना ‘बेस्ट प्लेयर’ नै हुन्छन् । तैपनि छनोटमा पर्छु भन्ने विश्वास थियो । मैले पहिलेदेखि नै मिहिनेत गरिरहेको थिएँ । एनपीएलको पहिलो सिजनमा छनोट हुन पाउँदा खुसी लागेको छ ।’
अथर्व पौड्याल पनि ‘डेभलपमेन्ट स्क्वाड’ मा छानिएका छन् । छनोटपछि खुसी लागेको बताउँदै उनी भन्छन्, ‘सबै जना खेलाडीहरू १९/२० को लेभलमा थिए । प्रायःजसो जिल्लास्तरीयमा सँगै खेलिरहेका खेलाडीहरू थियौं । अन्तिममा सात जनामा जो पनि पर्न सक्थ्यो किनभने ४ सय जनालाई पछि पारेर फाइनल चरणमा आइपुग्नु सामान्य कुरा थिएन ।’
आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले ‘ट्यालेन्ट हन्ट’ बाट खेलाडी छनोट गर्न सबै फ्रेन्चाइजलाई अनिवार्य नियम लगाएको थियो । उनीहरू अहिले एनपीएलका लागि तयारी गरिरहेका छन् ।
क्यानद्वारा स्थापित एनपीएलको पहिलो संस्करण खेल शनिबारदेखि कीर्तिपुरको खेल मैदानमा हुँदै छ । जहाँ विश्वमा ठूला स्टार खेलाडीहरूसँगै हाम्रा ट्यालेन्ट हन्ट खेलाडीले खेल्न पाउनेछन् । लिगमा ८ टोली समावेश छन् ।
प्रिमियर कलेजमा स्नातक तेस्रो वर्षमा अध्ययनरत कृष एनपीएल खेलाडीका लागि ठूलो अवसर भएको बताउँछन् । ‘यहाँ घरेलु मात्र नभएर विदेशी खेलाडीले समेत खेल्ने भएकाले सिक्नका लागि धेरै कुरा छ,’ उनी थप्छन्, ‘ठूलो मैदानमा खेलअघि कसरी मानसिक रूपमा तयार रहने, म्याचको प्रेसरलाई कसरी ह्यान्डिल गर्ने भन्ने सिकिन्छ ।’
यस्ता ठूला खेलका ब्याट्सम्यानले सकारात्मक सोच राखेर खेल्ने भएकाले बलिङमा यत्तिकै सुधार आउँछ । बिग स्टेजको खेल भएकाले एनपीएललाई लिएर एकदमै उत्साहित भएको कृष बताउँछन् ।
सेन्ट जेभियर्स कलेजमा स्नातक प्रथम वर्षमा अध्ययनरत शार्दूल क्यानको यो कदमले नयाँ खेलाडीका लागि सुनौलो मौका सिर्जना गरेको बताउँछन् । पछिल्लो २/३ महिनादेखि चर्चामा आएको एनपीएल फेस्टिभलजस्तै भएको अनुभव गर्छन्, अथर्व ।
गोल्डेन गेटमा १२ कक्षामा अध्ययनरत उनी एनपीएललाई सिक्ने अवसरका रूपमा लिन्छन् । भन्छन्, ‘यसबाट हामीले धेरै सिक्ने मौका पाउँछौं । खेलाडीहरूले परिस्थितिअनुसार कस्तो रियाक्ट गर्छन्, अप्रोच कस्तो हुन्छ, प्रेसर
ह्यान्डिल कसरी गर्छन् भन्नेजस्ता कुराहरू सिक्न सकिन्छ ।’ उनले उमेर समूहअन्तर्गत घरेलु प्रतियोगिता खेल्न थालेको धेरै भइसक्यो । एनपीएलमा धेरै कुरा सिकेर घरेलु प्रतियोगितामा लागू गर्न सके राम्रो हुने उनी बताउँछन् ।
‘काठमाण्डु गुर्खाजलाई प्रतिनिधित्व गरेर खेल्ने खेलाडीमा युनिटी देखिएको छ । सबैको माइन्डसेट एउटै छ, सबैलाई जित्नु छ । त्यसैले ट्रेनिङमा सकारात्मक ऊर्जा आइरहेको छ,’ अथर्व भन्छन्, ‘रिजल्ट के हुन्छ, त्यो हाम्रो हातमा हुँदैन तर हामीले गर्ने प्रक्रिया र प्रयास भने हुन्छ । युवा खेलाडी भएकाले सबैको उत्तिकै प्रयास देखिन्छ जस्तो लाग्छ । एनपीएलमा सबैले आफूलाई प्रमाणित गर्नु छ ।’
आउँदो संस्करणहरूमा पनि काठमाण्डु गुर्खाजकै लागि खेल्ने चाहना राख्ने उनीहरू एनपीएललाई एकदमै ठूलो अवसरका रूपमा लिन्छन् । नेपालको राष्ट्रिय टिममा प्रवेश गर्नका लागि ‘पीएम कप’ मात्र थियो । एनपीएलबाट पनि त्यो ढोका खुलेको छ । यति मात्र नभएर आफूलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने अवसर पनि हो । उनीहरू भन्छन्, ‘सस्टेन र ग्रो गर्न सके नेपाली क्रिकेट नै सुधार हुन सक्छ ।’
