जनकपुर — मर्निङ वाकमा निस्कने प्रायःजसोको ध्यान जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) को भित्ताले खिच्छ । फुङ्ग रङ उडेको, ठाउँ–ठाउँमा प्लास्टर झरेर इँटा देखिने र झारपातले लुकेको जचुकालिको बाहिरी पर्खाल भने धपक्क बलेको छ । हातमा ब्रस र एक्रेलिक कलर बोकेर महिलाहरू लहरै भित्तामा मिथिला पेन्टिङ कोर्दै छन् ।
सडकपेटीमा बसेर कलाकार रमिता ठाकुरले राम र सीताको विवाह समयको प्रतीकात्मक चित्र भित्तामा कोर्दै थिइन् । गद्दी (आसन) मा बसेका राम र सीताको चित्रनिर उनले धनुषको स्केच पनि तयार पारेकी छन् । ‘स्केच बनाएपछि रङ भरिनेछ,’ ठाकुरले भनिन्, ‘अहिले त कालो–कालो मात्र देखिएको होला । रङ भरेपछि गजब देखिन्छ ।’ ठाकुरले दुई दिनदेखि बनाउन थालेकी मिथिला पेन्टिङ पूरै सक्न अझ दुई दिन लाग्ने बताइन् ।
याक, गैंडा र देउराली ब्रान्डको चुरोट उत्पादन गर्ने जचुकालि २०७० असार २० देखि बन्द छ । जचुकालिभित्र हाल मधेश प्रदेश सरकारको मुख्यालय छ । सोभियत संघ (रुस) को सहयोगमा २०१७ सालमा जनकपुरमा जचुकालिको निर्माण थालिएको थियो । करिब ६४ वर्षअघि निर्माण गरिएको जचुकालिको भित्तालाई मधेश प्रदेश सरकारले मिथिला पेन्टिङले सिँगार्न थालेको छ ।
मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मुख्यद्वारको पश्चिमी भित्तामा तीन जना कलाकारले एकैसाथ एउटै पेन्टिङलाई अन्तिम रूप दिँदै थिए । मिथिलाको वैवाहिक परम्परालाई भित्तामा उतारेका तीनै जना कलाकारले भने आफूहरूले लगाएको लुगाको रङ नै पेन्टिङमा पोतेका छन् ।
३३ बिघा ९ कट्ठा जग्गा ओगटेको जचुकालिको १ किमि लामो बाहिरी पर्खालमा १ सय ६० वटा मिथिला पेन्टिङ कोरिनेछ । ‘१ सय ६० वटै पेन्टिङ फरक–फरक खालको हुनेछ,’ मधेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी उदितकुमार ठाकुरले भने, ‘करिब ५० जना कलाकार मिथिला पेन्टिङ बनाउन खटिएका छन् ।’
भौतिक पूर्वाधार विकास मन्त्रालयले २० लाख रुपैयाँ खर्चेर जचुकालिको बाहिरी परिसर सिँगारिरहेको छ । मिथिलाको संस्कृति, रहनसहन, खानपान र विविधता झल्काउने १ सय ६० प्रकारका फरक मिथिला पेन्टिङ पर्खालमा पोतिने भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी ठाकुरले बताए ।
‘मधेश सरकारको मुख्यालयको बाहिरी पर्खाल कुरूप देखिन्थ्यो,’ सूचना अधिकारी ठाकुरले भने, ‘हेर्दै आहा होस् भनेर बाहिरी पर्खालमा मिथिला पेन्टिङ कोर्न लगाइएको हो । सबै स्थानीय कलाकारले नै पर्खालमा मिथिला पेन्टिङ बनाइरहेका छन् ।’
मिथिला पेन्टिङका चित्रकार एससी सुमनले मिथिला पेन्टिङ पहिला माटोको भित्तामा कोरिन्थ्यो । ‘माटोको भित्तामा मिथिला पेन्टिङ गर्दा प्राकृतिक रङ प्रयोग गरिन्थ्यो,’ सुमनले भने, ‘पछि, सिमेन्टको पर्खालमा पेन्टिङ गर्न थालियो । अनि एक्रेलिक कलरको प्रयोग बढ्यो ।’
उनका अनुसार भित्तामा मिथिला पेन्टिङ गर्ने थिम पुरानै भए पनि माध्यम भने बद्लिएको बताए । ‘पहिला पौराणिक थिमका पेन्टिङ बन्थ्यो । अहिले समसामयिक विषयवस्तु पनि समेटिन थालिएको छ ।’
