हेल्मेट हराएपछि खुलेको ‘हेल्मेट्स नेपाल’

आपत्कालीन अवस्थाको विचार गरी विगत ८ वर्षदेखि हेल्मेटको ‘अनलाइन डेलिभरी’ सेवाबाट सुरु भएको ‘हेल्मेट्स नेपाल’ अहिले वार्षिक ४ करोड रुपैयाँको कारोबार मात्र गर्दैन, सडक सुरक्षाको पैरवी गर्छ 

मंसिर १८, २०८१

कान्तिपुर संवाददाता

'Helmets Nepal' opened after the helmet was lost

काठमाडौँ — व्यस्त सहरी क्षेत्रमा स्कुटर वा मोटरसाइकल हराउनु वा चोरी हुनु नियति नै हो भने यसका चालकका लागि सास्तीको विषय । पार्क गरेर राखेको सवारीसाधनको हेल्मेट फर्कंदा छैन भने त्यस्तोमा के गर्ने ? जगेडा हेल्मेट नै बोकेर हिँड्ने अभ्यास पनि हुँदैन ।

यस्तोमा नयाँ हेल्मेट किन्न जानका लागि सबै ठाउँमा उपलब्ध पनि नहुन सक्छ । हो, यस्तै समस्या आफैंले भोगिसकेपछि समाधानका लागि काठमाडौंका सजल जोशीले अनलाइनमार्फत ‘हेल्मेट्स डेलिभरी’ गर्न सुरु गरेका हुन् । 

पहिलो पटक सन् २०१६ मा अनलाइन मार्केटप्लेसबाट डेलिभरी दिन सुरु गरेको हेल्मेट्स नेपालले अहिले माइतीघर र नक्सालबाट भौतिक रूपमा पनि सेवा दिइरहेको छ । हेल्मेट्स नेपालले हेल्मेट मात्र नभई राइडरका लागि आवश्यक सम्पूर्ण ‘राइडिङ गिएर्स’ पनि बेच्ने गरेको छ । अनलाइन स्टोर हुँदै रिटेल स्टोरका रूपमा काठमाडौंमा विस्तार भएको हेल्मेट्स नेपालका सहसंस्थापक एवं सीईओ जोशीले बताए । ‘सुरुमा त पार्किङमा आफ्नै हेल्मेट हरायो, घर गएर अर्को हेल्मेट ल्याएर बल्ल बाइक चलाउन पाइयो, हराएकै ठाउँमा हेल्मेट किन्न पनि पाइएन,’ उनले थपे, ‘त्यसपछि यस्तै आकस्मिकताको ख्याल गरेर अनलाइन डेलिभरी दिने गरी सेवा सुरु गर्‍यौं । त्यहींबाटै जन्मेको हो, हेल्मेट्स नेपाल ।’ 

सामान्यतया ट्राफ्रिक प्रहरीबाट बच्नका लागि मात्रै दुईपांग्रे सवारी चलाउनेले हेल्मेट लगाउने गरेको उनको भनाइ छ । हेल्मेट लगाइरहेकै अवस्थामा पनि दुर्घटना हुँदा ज्यान गुमाउनुपरेको समेत देखिएको जोशीले बताए । ‘ट्राफिकबाट बच्नका लागि मात्रै हेल्मेट लगाउने गरेको भेटियो, आफ्नो सुरक्षाका लागि गुणस्तरीय हेल्मेट लगाउनुपर्छ भन्ने थिएन,’ उनले भने, ‘त्यसपछि सडक दुर्घटनाबाट बच्न पनि गुणस्तरीय हेल्मेट लगाउनुपर्छ भन्ने लबिइङतर्फ हामी लाग्यौं ।’ अहिले गुणस्तरीय हेल्मेटसँगै राइडिङ सेफ्टी गिएर्स पनि बेच्न थालेको उनले सुनाए ।

‘अहिले हेल्मेट्स नेपाल हेल्मेट डेलिभरी प्लाटफर्म मात्र नभई सडक सुरक्षाको एडभोकेसीतर्फ पनि बढेको छ,’ जोशीले भने, ‘हेल्मेट बिक्रीसँगै सडक सुरक्षाको पैरवी गर्ने गतिलो थलो पनि बनेका छौं ।’ जोशीले आफूलाई आइपरेको समस्या समाधान गर्न ५० हजार खर्चेर सुरु गरेको हेल्मेट्स नेपालले अहिले वार्षिक ४ करोड रुपैयाँको कारोबार गर्दै आएको बताए । ‘स्नातक पहिलो वर्ष पढ्दा आफूलाई परेको समस्या समाधान गर्न ५० हजार खर्चेर सुरु गरेका थियौं, अहिले वार्षिक ४ करोड कारोबार गरिररहेको छ,’ उनले भने । 

'Helmets Nepal' opened after the helmet was lost

हेल्मेट्स नेपालले माइतीघर, टेकु, अनामनगर र नागपोखरीमा ‘आउटलेट’ समेत राखेर भौतिक रूपमै बिक्रीवितरणसमेत गर्दै आएको थियो । जुन अहिले माइतीघर र नक्सालमा मात्रै रहेको हेल्मेट्स नेपालका जनरल म्यानेजर रइस महर्जनले बताए । ‘अहिले माइतीघर, नक्सालमा मात्रै स्टोर छ,’ उनले भने, ‘गत भदौदेखि नक्सालमा एसियाकै सबैभन्दा ठूलो अटोमोटिभ लाइफस्टाइल भनेर स्टोर खोलेका छौ‌ं ।’ हेल्मेट मात्र नभई राइडिङमा चाहिने सबै वस्तु पाइने ‘वान स्टप सोलुसन’ का रूपमा खोलेको समेत उनले बताए । टेकु, अनामनगर र नागपोखरीको स्टोरलाई मर्ज गरेर नक्सालमा एउटै स्टोर बनाइएको महर्जनले सुनाए । 

‘नक्सालको स्टोरमा हेल्मेट मात्र नभई सबै राइडिङ गिएर्स पाइन्छ, पहिलो पटक सर्भिस स्टेसन पनि राखेका छौं,’ उनले भने, ‘बाइक तथा स्कुटरको जनरल चेकअपदेखि जनरल सर्भिससम्म हुन्छ, यही बाइक एसोसेरिज किनेर फिटिङ गरिन्छ ।’ हेल्मेट्स नेपालले गुणस्तर चिह्न प्राप्त अन्तर्राष्ट्रिय ब्रान्डका हेल्मेटसँगै नेपालकै विभिन्न ब्रान्डसँग मिलेर विभिन्न राइडिङ गियरहरू पनि बजारमा ल्याएको महर्जनले बताए । ‘कवचसँग टाइअप गरेर हामीले राइडका लागि आवश्यक ज्याकेट, पाइन्टदेखि जर्सीहरू पनि ल्याएका छौं,’ उनले भने, ‘हाम्रो आवश्यक डिजाइनअनुसार कवचले आफ्नो ब्रान्डमा उत्पादन गरेर दिन्छ, हामी बेच्छौं ।’ हेल्मेट्स नेपालले ‘डोचा’ सँग मिलेर दैनिक लगाउन मिल्ने जुत्ता उत्पादन गरेर पनि बिक्री गर्न थालेको महर्जनले बताए । ‘भर्खरै डोचासँग मिलेर ‘यात्री’ ब्रान्ड भनेर जुत्ता ल्याएका छौं, जुन दिनकै लगान मिल्छ, सहज हुन्छ,’उनले भने ।

कान्तिपुर संवाददाता

Link copied successfully