युद्ध पत्रकारदेखि स्काइडाइभिङसम्म

२५ वर्षअघि नै पत्रकारिताका क्रममा इराकको बग्दाद पुगेकी सुजिताले त्यसपछि अफगानिस्तान, सिरियाको दक्षिण–पश्चिमी क्षेत्र गोलन हाइट्स, लेबनानको बेरुत, प्यालेस्टाइन र युक्रेनसम्म पुगी ‘वारजोन रिपोर्टिङ’ गरिन् ।

मंसिर २४, २०८१

नवीन पोखरेल

From war journalists to skydiving

लन्डन — हङकङबाट सन् १९९६ मा आमसञ्चारमा स्नातकोत्तर गरेपछि काठमाडौं, महाराजगन्जकी सुजिता शाहीले त्यहीं साउथ चाइना मर्निङ पोस्ट र स्टार टीभीमा इन्टर्नसिप गरिन् । त्यसताका विश्वकै सबैभन्दा लामो टिङकाउ ब्रीज बनिरहेको थियो ।

उक्त ब्रिज प्रोजेक्ट हेर्ने जर्मन म्यानेजरको अन्तर्वार्ता लिन ‘असाइन’ भयो । जर्मनीको स्टुटगार्टस्थित जुब्लिन एजी कम्पनी मुख्य कन्ट्र्याक्टर थियो । अन्तर्वार्ताकै क्रममा जुब्लिन एजीले बोलाएपछि सन् १९९८ मा जर्मनी लागिन् । 

जर्मनी पुगेपछि सुजिताले डी डब्लु टीभी र आरटीएल टीभीमा काम गर्न थालिन् । सधैं जोखिम लिन रुचाउने उनी सन् १९९९ मा इराकको बग्दाद जाने निधो गरिन्, ‘वार जोन’ मा रिपोर्टिङ गर्न । त्यसपछि पनि अफगानिस्तान, सिरियाको दक्षिण–पश्चिमी क्षेत्र गोलन हाइट्स, लेबनानको बेरुत, प्यालेस्टाइन, युक्रेनलगायत युद्धको अग्रपंक्तिमा होमिइन् रिपोर्टिङका लागि । अन्डर कभर जर्नालिस्टको भूमिका त्यति सहज थिएन । 

२०१३ अप्रिलमा अफगानिस्तानमा रिपोर्टिङका क्रममा विद्रोही तालिवानले उनको टिमलाई अपहरण गरेर लगे । ‘टाउकामा बन्दुक राखेर तर्साउँथे । त्यो बेला मर्छु भन्ने नै थियो,’ उनले विगत सम्झिइन् । पछि जर्मन चान्सलर एन्जेला मर्केल आएर ४ दिनमा छुटाएको उनले बताइन् । अफगानिस्तानमै अर्को दुःखद घटना सामना गरिन् सुजिताले । सन् २०१५ मा अफगानिस्तानको हेल्मान्डतिर अगाडि बढिरहँदा माइन विस्फोटमा अगाडि गुडिरहेको ५ जना ब्रिटिस आर्मी चढेको भ्यान पर्‍यो । सुजिताहरू तेस्रो भ्यानमा थिए । 

‘विस्फोटपछि बेहोस भएछु । होस खुल्दा अस्पतालको बेडमा थिएँ,’ उनले कान्तिपुरसँग भनिन्, ‘म त्यतिबेला साढे ५ महिना प्यारालाइज भएँ । डाक्टरले खुट्टा काट्नुपर्छ भनेका थिए, मैले बरु मर्छु तर अपांग भएर बाँच्दिन भनिदिएँ । जर्मनी फर्किएर थप उपचारपछि निको भएँ ।’ लगत्तै आमा सरस्वती मिर्गौला रोगबाट पीडित भएपछि प्रत्यारोपणका लागि भारत लैजाँदा झन्डै २० हजार अमेरिकी डलर चाहिने भयो । रकमको जोहो गर्नकै लागि उनी सन् २००८ मा कमान्डो फोर्समा आबद्ध हुन बाध्य भइन् । 

‘वार जोन’ मा जान्छु भन्दा अन्तर्वार्ताकारले ‘अनुभव छ ?’ भनी सोधेपछि उनले ‘तपाईंहरूले अवसर नदिए कसरी अनुभव हुन्छ, काम दिनु अनि मेरो परफर्मेन्स हेरेर पछि निर्णय गरे हुन्छ’ भनेपछि उनलाई बोलाइएको थियो । दुर्भाग्य, २०१० मेमा मातातीर्थ औंसीकै दिन आमा बितिन् । ‘मसँग पर्याप्त पैसा भएको भए आमा बच्नु हुन्थ्यो होला तर बचाउन सकिएन,’ उनी थकथकी मान्छिन् ।

हाल जर्मनीको नुरेमवर्ग बस्ने सुजिता सन् २००९ मा जर्मनीको स्पेसल कमान्डो फोर्सेसमा आबद्ध भइन् भने त्यसको तीन वर्ष पछिदेखि हालसम्म अस्ट्रियन कमान्डो फोर्सेसमा छिन् । जहाँ दुई जना मात्र महिला छन् । उनीहरू ‘रेस्क्यु मिसन’ मा घुमिरहनुपर्छ । बुबा दुर्गाबहादुर शाही ब्रिटिस आर्मीका जागिरे थिए । बुबाले आर्मी पोसाक लगाउँदा उनलाई पनि त्यस्तै लगाउन पाए हुन्थ्यो भन्ने भइरहन्थ्यो, बुबाका कारण पनि आफू यसतर्फ लाग्न प्रभावित भएको उनले बताइन् । 

कमान्डो ट्रेनिङका बेला ५ हजार फिटबाट प्यारा जम्प गरेकी सुजिता अहिले ‘क्वालिफाइड स्काइडाइभर’ पनि हुन् । यही २०२४ फेब्रुअरीदेखि स्काइडाइभ गर्न थालेकी उनले स्पेन, दुबई, अमेरिका, फ्रान्सजस्ता देशमा ५२ पटक जम्प गरिसकिन् । अब इजिप्टमा जम्प गर्ने योजनामा छिन् । सुजिताले गत अगस्टमा फ्रान्सको एक सैन्य तालिम केन्द्रमा जोन फिलिपसँग तालिम लिएर स्काइडाइभको लाइसेन्स लिएकी हुन् । 

गत नोभेम्बर १९ मा पनि उनले पोखरामा स्काइडाइभ गरेकी थिइन् । एभरेस्ट स्काइडाइभले पोखरामा आयोजना गरेको स्काइडाइभ खेलमा उनले तीन पटक १३ हजार फिटबाट ‘सोलो जम्प’ गरेको बताइन् । उनी आफूलाई सम्भवतः नेपालको पहिलो महिला ‘सोलो स्काइडाइभर’ हुन सक्ने ठान्छिन् ।

स्काइडाइभ गर्न अर्को वर्ष सगरमाथा र आउँदो अगस्टमा डेनमार्क जाने उनको योजना छ । ‘स्काइडाइभ गर्दा मुख्य कुरा दिमाग स्थिर हुनुपर्छ । उचाइ कतिमा पुगें ? अगाडि–पछाडि के छ भन्ने ध्यान दिन र ल्यान्डिङ एरिया कता छ, त्यो हेर्नुपर्छ,’ उनले भनिन् । आफू ‘स्काइडाइभर’ बन्नुमा आरोही निर्मल पुर्जा (निम्स दाइ) को ठूलो हात रहेको उनले खुलाइन् । पुर्जाले स्पेनमा ‘स्काइडाइभ कोर्स’ गराउँदा सुजिता पनि सहभागी थिइन् । 

सन् १९९३ मा नेपाल छाडेकी उनी भविष्यमा चाहिँ नेपाल फर्केर हवाई क्षेत्रमा समर्पित हुँदै प्रशिक्षण दिने योजनामा छिन् । भनिन्, ‘महिलाहरू उचाइबाट हाम फाल्न डराउँछन् तर आत्मबल बलियो बनाए असम्भव केही छैन । मेरो यही क्षेत्रमा सक्रिय हुने सोच छ ।’ उनले अहिलेसम्म अफ्रिकी देशबाहेक आधा विश्व घुमिसकेकी छन् । 

‘म मेरो जिन्दगीबाट खुसी छु, यहाँसम्म आइपुग्न दिदी अनिता शाही पोखरेलको पनि योगदान छ,’ उनले स्मरण गरिन् ।

‘युद्ध पत्रकारदेखि स्काइडाइभिङसम्म’ शीर्षकको फिचर सम्बन्धमा

‘युद्ध पत्रकारदेखि स्काइडाइभिङसम्म’ शीर्षकमा गत सोमबार प्रकाशित फिचरप्रति देखिएको सरोकारलाई कान्तिपुर सम्मान गर्दछ । सरोकार सम्बोधन गर्न कान्तिपुरले उक्त फिचरकी पात्र स्वयं सुजिता शाही, आफन्त र व्यावसायिक सहकर्मीहरूसँग सम्पर्क गरेको छ । यो सन्दर्भमा निम्न विषय स्पष्ट पार्न चाहन्छौं । 

१. सुजिता साहसी स्काइडाइभर भएको विषय उनले मात्र होइन, नेपालका स्थापित पर्यटन व्यवसायीहरूले पनि पुष्टि गरेका छन् । फिचर स्टोरीमा सुजिताले गत १९ नोभेम्बरमा पोखरामा ‘सोलोजम्प’ गरेको दाबी गरेकी छन् । पाटा नेपालका पूर्वअध्यक्ष तथा एभरेस्ट स्काइडाइभ कम्पनीका संस्थापक सुमन पाण्डेले 

पनि कान्तिपुरसँग भने, ‘उनले पहिले ट्यान्डम् (चालकको सहयोगमा) डाइभ गर्थिन्, तालिम गरेपछि यसपालि ‘सोलोजम्प’ गरेकी हुन् । २००८ देखि हामीले यो कम्पनी चलाएका 

छौं, हाम्रो कम्पनीबाट सोलो स्काइडाइभ गर्ने उनी पहिलो महिला हुन् । उनी आफूमात्र होइन, थुप्रै युरोपियनहरूलाई नेपाल लिएर आउँछिन् । आफू पनि रमाएकी छन्, नेपालको पयर्टन क्षेत्रलाई पनि गुन लगाएकी छन् ।’ सुजिताले आगामी वर्ष सगरमाथामा र डेनमार्कमा स्काइडाइभ गर्ने योजना रहेको दोहोर्‍याएकी छन् । पर्यटन बोर्डका अधिकारी तथा अन्य व्यवसायीले पनि सुजिताको प्रयास सराहनीय भएको भन्दै यसका लागि उनलाई हौसला दिनुपर्ने बताएका छन् । 

२. बाबु ब्रिटिस सेनामा भएकाले सुजिता पनि हङकङ गएको आफन्तले पुष्टि गरे । त्यतिबेला हङकङको भव्य टिङकाउ पुल बनिरहेको र त्यसको निर्माणको जिम्मा लिएको जर्मन कम्पनीका म्यानेजरसँग चिनजान, मित्रता र विवाहसँगै सुजिता जर्मनीमा बस्दै आएको उनीहरूको भनाइ छ । 

३. सुजिताले हङकङमा पत्रकारितामा स्नातकोत्तर गरेको, साउथ चाइना मर्निङ पोस्ट तथा स्टार टीभीमा प्रशिक्षार्थी तथा जर्मनीमा डीडब्लू र आरटीएल टीभीमा काम गरेको दाबी गरेकी थिइन् । पत्रकारिता अध्ययनका विषयमा उनको प्रस्टीकरण छ, ‘हो, मैले बाप्टिस्ट युनिभर्सिटीमा अध्ययन गरेकी हुँ ।’ कुनै पनि अन्तर्वार्ता गर्दा कुनै पात्रले मैले यति पढेको छु भनेपछि तपाईंको प्रमाणपत्र देखाउनुहोस् भन्ने अभ्यास हुँदैन । त्यस्तै ‘अन्डरकभर वार रिपोर्टर’ का रूपमा काम गरेको दाबी गरेकाले उनको बाइलाइन नभेटिने भनेर संवाददातालाई भनेकी थिइन् । तर पनि ‘वार रिपोर्टिङ’ को सन्दर्भ बुझाउने तस्बिरसहितका सामग्री माग्ने ठाउँ थियो जसले स्टोरीलाई अझ बलियो बनाउने थियो । त्यस्तै अफगानिस्तानमा अपहरणमा परेर छुटेको तथा अहिले कमान्डो फोर्समा रहेको दाबीमा पनि सार्वजनिक प्रश्न उठेपछि सन्दर्भ सामग्री माग्दा उनले व्यक्तिगत कारणले दिन नमिल्ने बताइन् । ‘अन्डरकभर जबका सामग्री न गुगलमा भेटिन्छन्, न तपाईंलाई दिन मिल्छ । तपार्इंसँग बोलेका र त्यसमा आएका टिप्पणीले नै मेरो जब संकटमा परिसकेको छ,’ उनको भनाइ छ । उनको भनाइ जे–जस्तो भए पनि स्वतन्त्र रूपमा पुष्टि हुन नसक्ने सन्दर्भ फिचरमा समावेश हुनु हुँदैनथ्यो भन्ने हाम्रो निष्कर्ष छ । 

४. सन् १९९० को दशकमा सुजिताले नेपालमा पत्रकारिता गरेको भने त्यो बेला प्रकाशित हुने रिभाइभल म्यागेजिनका प्रकाशक विकेश श्रेष्ठको भनाइ छ । ‘सुजिताको अंग्रेजी राम्रो थियो, मिहिनेती थिइन्, त्यसैले मैले कार्यकारी सम्पादकको जिम्मेवारी दिएको थिएँ । पछि उनी हङकङ गइन् । यता जनशक्ति जुटाउन सकिएन । म्यागेजिन बन्द भयो । तर, असल मान्छेका रूपमा उनलाई म अहिले पनि चिन्दछु ।’

५. कान्तिपुरको सम्पर्कमा आएका सबैजसो व्यक्तिहरूले सुजिता शाही व्यावसायिक, स्वावलम्बी र साहसी व्यक्ति हुन् भनी खुलेर प्रशंसा गरेका छन् । तर, निराशाले जकडिएको समाजमा सकारात्मक सन्देश दिने स्टोरी पस्कने क्रममा कतिपय स्वाभाविक जिज्ञासा सम्बोधन हुन नसकेको निष्कर्षसहित तथ्य परीक्षण प्रणालीलाई अझ सबल बनाउने प्रतिबद्धता व्यक्त गर्छौं । – प्रधानसम्पादक

नवीन पोखरेल

Link copied successfully