पाटनमा आदिवासी जनजाति महोत्सव

नेवार, मगर, शेर्पा, मिथिला समुदायका नृत्यदेखि घरेलु उत्पादनसम्म

मंसिर ३०, २०८१

प्रशान्त माली

Tribal festival in Patan

काठमाडौँ — नेवार समुदायको प्रायः हरेक घरमा रक्सी उत्पादन हुन्छ । पाहुना सत्कार नै रक्सी र अन्डा दिएर गर्ने चलन छ । तर, यस्ता रैथाने रक्सीको ब्रान्डिङ भने गर्ने गरिएको छैन । ललितपुर पाटनका कनक शाक्यले भने खेर गएका वाइनका सिसी जम्मा पारेर घरेलु रक्सीको ब्रान्डिङ गरेका छन् ।

 अहिले उनले ब्रान्डिङ गरेको रक्सी पाटन दरबार क्षेत्रमा चलिरहेको आदिवासी जनजाति सांस्कृतिक महोत्सवमा प्रदर्शनमा राखिएको छ । वैदेशिक रोजगारको सिलसिलामा ५ वर्ष मलेसिया बसेर केही महिनाअघि नेपाल फर्केका हुन्, कनक ।

परिवारसँग मिलेर पाटन कुम्भेश्वरमा घरेलु उद्योग खोले । रक्सीसँगै अचारको उत्पादन थाले । अहिले बिक्रीका लागि ट्रायल पेजमा रहेको उनी भन्छन्, ‘महोत्सवले ब्रान्डिङको प्रचार गर्न अवसर दियो । धेरैले अर्डर दिएर गएका छन् ।’

महोत्सवमा भाग लिन जनकपुर धनुषा धनौजी गाउँपालिका–२ बाट लक्ष्मण मण्डलको नेतृत्वमा ५ जना पाटन आएका छन् । उनीहरूले मिथिला आर्टको महत्त्व र संस्कृतिलाई व्यवसायीसँग जोड्न सकिन्छ भनी सन्देश दिन महोत्सवमा सहभागी भएको बताए ।

प्रदर्शनीमा मिथिला कला कुँदिएका गहना, चुरा राख्ने बाकस, ऐना, कलम राख्ने भाँडो, माटाका भाँडाकुँडा तथा अर्धनारी, सीताराम, कृष्ण, लक्ष्मी, सरस्वती प्रदर्शनीमा राखिएको छ । तराईको धान रोप्ने संस्कृति, त्यहाँको दैनिकी, विवाह गरिरहेको अनौठो चित्रकला पनि प्रदर्शनीमा छन् ।

ललितपुर महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरकी सविता महर्जनले महोत्सवमा गाँजा, केरा, सिस्नुको धागोका घरेलु तानबाट बुनेका कोट, पाइन्ट, सर्टलगायत महिला तथा पुरुषका लत्ता कपडा प्रदर्शन तथा बिक्रीका लागि राखेकी छन् ।

साथीभाइ, आफन्त प्रायः सबै विदेशिए पनि आफू भने नेपाली उत्पादन विदेश पठाउने र पुर्ख्यौली पेसा हस्तान्तरण गर्ने सोचमा स्वदेशमै संघर्ष गर्दै आइरहेको उनले बताइन् । सविताका अनुसार महोत्सवमा आउने प्रायःलाई स्वदेशी उत्पादनबारे जानकारी छैन ।

‘यस्तो महोत्सव ३/३ महिनामा आयोजना हुनुपर्छ,’ उनले भनिन् । प्राकृतिक रेशाबाट उत्पादित लत्ताकपडा अमेरिका, अस्ट्रेलिया, इटालीलगायत मुलुकमा जाने गरेको उनी बताउँछन् ।

पाटन स्वठ टोलकी सुहाग जोशीले भने खेर गइरहेको जिन्स र सुतीको लत्ताकपडाबाट घरमै बनाएको जुत्ता प्रदर्शनीमा राखेका छन् । जहाँ बिहे, भोजमा लगाउनेदेखि लिएर दैनिक लगाउन मिल्ने सादा खालका पनि छन् ।

उनले कसैले घरमै यस्तो जुत्ता उत्पादन गर्न चाहेमा प्रशिक्षण दिन सकिने बताइन् । उनी पनि ललितपुर महानगरपालिका–१६ को संयोजनमा पाटन दरबार क्षेत्रमा चलिरहेको आदिवासी जनजाति सांस्कृतिक महोत्सवमा सहभागी छन् । 

यहाँ घरेलु उत्पादनका सामान प्रदर्शनी तथा बिक्रीका लागि मात्रै ५५ वटा स्टल राखिएको छ । त्यसमा मुख्यगरी लत्ताकपडा छन् । शुक्रबारबाट सुरु महोत्सव तीन दिन चल्नेछ । महोत्सवमा आदिवासी जनजातिहरूको सांस्कृतिक नृत्य, नेवारी परिकारदेखि लिएर चित्रकला, काष्ठकला, मूर्तिकला, ताम्रकला, प्रस्थरकला पनि प्रदर्शनमा छन् ।

पाटन दरबार क्षेत्रको नासल चोकमा भने कात्तिक नाचका देवगणले लगाउने कलेवर पोसाक, दुर्लभ मुकुट, खिं, धाः, दमो खिं, मृदंग, नगदा, पोंगा, झ्यालीलगायत बाजा र नारायण जलशयणको झलक प्रदर्शनीमा राखिएको छ । 

पाटनको अस्टमात्रिका नाचका मुकुट तथा बाजागाजा पनि प्रदर्शनीमा राखिएको छ । भण्डारखाल बगैंचामा कालिगढले काष्ठकलाको नमुना प्रस्तुत गरेका थिए । दरबारको मूलचोक अगाडि ठूलो घण्टामुनि राखिएको आकाश भैरवको विशाल मुकुट अगाडि बसेर सेल्फी खिच्ने, टिकटक बनाउने तथा पूजाआजा गर्नेको भीड लागेको थियो ।

दुई जना एलिएनको भेषमा दरबार क्षेत्रमा ओहोरदोहोर गरिरहेका थिए । यसले सबैको ध्यान तानेको थियो । दरबारको केशव नारायण चोकमा राखिएको काष्ठकलाको विशाल बुद्ध मूर्ति, नेवारी वास्तुकला शैलीको झ्याल, मण्डला जस्ता बौद्ध सम्पदाले पनि महोत्सवमा सहभागीको ध्यान केन्द्रित गरेको थियो ।

महोत्सवमा बौद्ध विहार संघले ७० जना कलाकारको समूहले धाः र बाँसुरी बाजा, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले मगर समुदायको कौडा नृत्य, शेर्पा समुदायको स्याब्रु नृत्य प्रस्तुत गरेका थिए ।

पाटन संग्रहालयको ग्यालरीमा मठमन्दिरको दुर्लभ फोटो, नेवाः बौद्ध संस्कार संस्कृतिअनुसार जन्मदेखि मृत्युसम्म चाहिने सामग्री, बौद्ध युवा कमिटीले रञ्जना लिपिको महत्त्वबारेमा जानकारी दिन सहभागीलाई सोही लिपिमा नाम लेखेर दिएका थिए ।

दरबार स्क्वायर महिला समूहले योमरीलगायत नेवारी खाजाको स्टल राखेर उपस्थितलाई चखाएका थिए । त्यस्तै, महोत्सवमा आदिवासी जनजातिको संस्कृतिसम्बन्धी गोष्ठी तथा आदिवासी जनजातिसम्बन्धी लधु चलचित्र प्रदर्शनी गरिएको थियो ।

कुटुम्ब बान्डले आदिवासी जनजाति धुन, ज्येष्ठ नागरिक समाजले भजनकीर्तन प्रस्तुत गरेका थिए । अक्षयेश्वर महाविहार बौद्ध विश्व विद्यालयले पौभा चित्र, नेपाल भाषा मंका खलले राष्ट्रिय विभूति शंखधर साख्वाः र सत्यमोहन जोशीको सालिक प्रदर्शनीमा राखेको थियो ।

आइतबार भने पञ्चबुद्ध नाच, कुमारी नृत्य, कात्तिक नाच र न्युक जात्रा मतयाः व्यवस्थापन समितिको नेतृत्वमा १२ जनाले दमोखि र नगरा बाजा प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

ललितपुर–१६ का वडाध्यक्ष निर्मल रत्न शाक्यले मौलिक परम्पराको संरक्षण प्रवर्द्धन गर्ने र यसको महत्त्वबारेमा सबैलाई जानकारी दिन महोत्सव आयोजना गरिएको बताए । ‘युवा पुस्तालाई स्वदेशमै केही गर्न सकिन्छ भनेर सन्देश दिनु महोत्सवको मुख्य लक्ष्य हो,’ उनले भने ।

कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले कात्तिक नाचमा कृष्ण गण, महोदव कृष्ण युद्ध, देवी नाचलगायत नृत्य प्रस्तुत गर्ने बताए । ‘नाच पैसाका लागि प्रदर्शन गर्न खोजेको नभई संस्कृति संरक्षण र युवापुस्तालाई जागरुक बनाउनका लागि हो,’ उनले भने । कात्तिक नाच सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ नेपाल संवत् ७६१ मा सुरु गराएका थिए ।

महोत्सवमा नेपालको शिल्प सम्पदा, रातो मस्त्येन्द्रनाथ, बौद्ध सम्पदासम्बन्धी पुस्तक पनि प्रदर्शनीमा राखिएको छ । नेपाल शेर्पा संघका सल्लाहकार लाक्पा थिन्ले शेर्पाले आदिवासी जनजातिको भाषा, पहिचानलाई उत्थान गर्न महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

महोत्सव अवधिभर पाटन संग्रहालयमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । महोत्सवको आयोजकमा भने नेपाल हस्तकला महासंघ, नेपाल भाषा मंका खल, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ ललितपुर प्रदेश २ (ख) कमिटी, अष्टमात्रिका नाच प्रबन्ध समिति, पाटन पर्यटन विकास संस्था, न्येकु जात्रा मतया व्यवस्थापन केन्द्रीय समितिलगायत रहेका छन् ।

प्रशान्त माली

Link copied successfully