ट्रम्पतिर ढल्कँदै जकरबर्ग

जकरबर्गको पछिल्लो कदमले प्रविधि उद्योगमा राजनीतिक ध्रुवीकरण थप्न सक्ने जोखिम, कम्पनीहरू आफ्ना स्वार्थ सुरक्षित गर्न ट्रम्पजस्ता नेतालाई रिझाउनतिर लाग्नु प्रयोगकर्ताका लागि चिन्ताको विषय हुन सक्ने विज्ञहरूको भनाइ 

मंसिर २९, २०८१

सजना बराल

Zuckerberg leaning toward Trump

काठमाडौँ — मेटाका प्रमुख मार्क जकरबर्ग र अमेरिकी राष्ट्रपतिमा हालै निर्वाचित डोनाल्ड ट्रम्पबीच झन्डै–झन्डै कटुतापूर्ण रहेको सम्बन्ध अब भने सुधारोन्मुख भएको संकेत देखिएको छ । फेसबुक र इन्स्टाग्रामको स्वामित्व रहेको कम्पनी मेटाले अमेरिकाको ४७ औं राष्ट्रपति निर्वाचित ट्रम्पको उद्घाटन तयारी कोषमा १० लाख अमेरिकी डलर चन्दा दिएको छ ।

यो कदमलाई जकरबर्ग र ट्रम्पबीचको सुध्रिएको सम्बन्ध र सहजीकरणको प्रयासका रूपमा हेरिएको छ । यसले प्रविधि व्यवसाय उद्योगमै महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

मेटाले चन्दा दिएको विषयलाई विभिन्न सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् । जनवरी २० बाट ह्वाइट हाउस छिर्ने तयारीमा रहेका ट्रम्पसँग जकरबर्गले लामो समयदेखि तिक्ततापूर्ण रहेको सम्बन्ध सुधार्न खोजेको विज्ञहरूको राय छ । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा फेसबुककै कतिपय कमजोरीको फाइदा उठाउँदै जितेका ट्रम्पले २०१७ मा फेसबुकलाई ‘ट्रम्पविरोधी’ प्लाटफर्म भएको घोषणा गरेका थिए । 

सन् २०२४ को चुनावी अभियान सुरु गर्ने क्रममा पनि उनले फेसबुक जनताको सत्रु भएको र आफ्नो अभियानलाई प्रभावित गर्न खोजे जकरबर्गलाई आजीवन जेल हाल्ने धम्कीसमेत दिएको बीबीसीले उल्लेख गरेको थियो । झन्डै २ सय १८ अर्ब अमेरिकी डलरसहित विश्वकै चौथो धनी व्यक्तिका रूपमा रहेका ४० वर्षीय मेटाका मालिक जकरबर्ग आखिर किन ट्रम्पतर्फ ढल्किँदै गएका होलान् त ? 

सन् २०१६ देखि नै ट्रम्पका चुनावी अभियानलाई सघाउँदै आएका मेटाका बोर्ड सदस्य एवं ‘भेन्चर क्यापिटलिस्ट’ मार्क एन्डरसनका कारण पनि जकरबर्गले ट्रम्पसँगको सम्बन्ध सुधार्न थालेको अनुमान गरिएको छ । एन्डरसन ट्रम्पको पछिल्लो ह्वाइट हाउस प्रवेश तयारीका एक प्रमुख पात्र पनि हुन् । उनैले जकरबर्ग र ट्रम्पबीच मध्यस्थता गरेको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

ट्रम्पको चुनावी अभियानमा जकरबर्गले व्यक्तिगत रूपमा चन्दा दिएका थिएनन् । यसअघि निर्वाचित भएका ट्रम्प र जो बाइडेनको शपथग्रहणका लागि पनि उनले चन्दा दिएनन् । यस पटक उद्घाटन तयारीका लागि दिइएको चन्दा मेटाका तर्फबाट ट्रम्पलाई पहिलो ठूलो आर्थिक सहयोग हो । जकरबर्ग र ट्रम्पबीचको सम्बन्ध लामो समयसम्म तनावपूर्ण रह्यो । २०२१ जनवरी ६ मा अमेरिकी संसद् क्यापिटल हिलमा भएको हिंसात्मक दंगा र त्यसलाई भड्काउन ट्रम्पले फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोग गरेको भन्दै मेटाले आफ्ना सबै प्लाटफर्मबाट तत्कालीन राष्ट्रपति ट्रम्पलाई प्रतिबन्ध लगाइदिएको थियो । यो निर्णयलाई केहीले सर्वसाधारण र लोकतन्त्रको सुरक्षाका लागि आवश्यक कदम भनेका थिए भने कतिपयले यसलाई प्रविधि व्यावसायिक संस्थाले गरेको शक्ति दुरुपयोगका रूपमा आलोचना गरेका थिए । सन् २०२३ मा उक्त प्रतिबन्ध हटाइए पनि दुईबीचको सम्बन्धमा उल्लेख्य सुधार भने आउन सकेको थिएन । 

हालैको चन्दा रकमले जकरबर्गको राजनीतिक रणनीतिमा पनि परिवर्तनको छनक दिन्छ । उनले यसअघि उपराष्ट्रपति कमला ह्यारिसलगायत अन्य डेमोक्रेटिक नेताहरूलाई ठूलो राशिको चन्दा दिने गरेका थिए । सन् २०२० मा उनले कोभिड–१९ सम्बन्धी सार्वजनिक कामका लागि पत्नी प्रिसिलिया चानसँग मिलेर झन्डै ४० करोड डलर चन्दास्वरूप दिएका थिए । जकरबर्गको पछिल्लो प्रयासलाई सरकार जुनसुकै राजनीतिक दलको भए पनि मेटाका लागि अनुकूल सम्बन्ध सुनिश्चित गर्ने चाहनाका रूपमा बुझ्न सकिन्छ । 

गुगलका संस्थापक ल्यारी पेज र सेर्गेई ब्रिनले ट्रम्पलाई कहिले पनि राजनीतिक चन्दा दिएका छैनन् तर ब्रिनले पनि जकरबर्गले जस्तै ट्रम्पलाई उनको फ्लोरिडास्थित मार–ए–लागो बंगलामै गएर भेटेका थिए । यस्तै, दोस्रो धनाढ्य तथा अमेजनका मालिक जेफ बेजसले पनि ट्रम्पको उद्घाटन तयारीका लागि १० लाख डलर दिइसकेका छन् । उनले चुनावको मुखमा वासिङ्टन पोस्टलाई 

ह्यारिसको समर्थन गर्नबाट रोकेका थिए । ट्रम्पप्रति खुला समर्थन गर्दै उनको नयाँ सरकारमा मन्त्रीसमेत हुने तयारीमा रहेका विश्वकै धनाढ्य इलन मस्कले भने ट्रम्पको चुनावी अभियानमा मात्रै झन्डै २२ करोड ४० लाख अमेरिकी डलर खन्याएका थिए । योसँगै सन् २०२४ मा उनले रिपब्लिकन पार्टीका विभिन्न अभियानका लागि २८ करोड अमेरिकी डलरभन्दा बढीको चन्दा दिइसकेका छन् । 

कुनै बेला सिलिकन भ्यालीमा भेन्चर क्यापिटल व्यवसायी रहेका ट्रम्पका उपराष्ट्रपति जेडी भान्स र मस्क सिलिकन भ्यालीको नवनिर्वाचित राष्ट्रपतिसँग सम्बन्ध सुधारको प्रयासका सूत्रधार बनेका छन् । पेपलका सहसंस्थापक पिटर थिएलजस्ता खुला ट्रम्प समर्थक पनि नयाँ सरकारको प्रविधि कम्पनीहरूप्रतिको रवैया के हुन्छ भन्ने विषयमा निर्णायक बन्न सक्ने यो विषयलाई नजिकबाट नियालिरहेका एपीका विश्लेषक माइकल एल प्राइसलगायतको अनुमान छ ।

संघीय सरकारबाट थप नियमनको जोखिममा रहेका मेटाजस्तै ठूला प्रविधि कम्पनीहरू जकरबर्गले झैं ट्रम्प प्रशासनसँग निकट सम्बन्ध बनाउन लागिपरेको पोलिटिकोका माइकल म्याक्ग्राको ठहर छ । ट्रम्पलाई खुला समर्थन गर्दा मेटाजस्ता कम्पनीका प्रयोगकर्ता र कर्मचारीहरूमध्ये धेरैलाई असन्तुष्ट बनाउने सम्भावना पनि देखिन्छ । जकरबर्गको यो कदमले प्रविधि उद्योगमा राजनीतिक ध्रुवीकरण थप्न सक्ने जोखिम रहेको विज्ञले औंल्याएका छन् । कम्पनीहरू यसरी आ–आफ्ना स्वार्थ सुरक्षित गर्न धनीहरूको पक्षमा वकालत गर्ने ट्रम्पजस्ता नेतालाई रिझाउनतिर लाग्नु प्रयोगकर्ताका लागि चिन्ताको विषय हुन सक्ने उनीहरूको ठहर छ । 

ट्रम्पको चुनावी अभियानले सबैखाले डिजिटल प्रचारका लागि झन्डै ४३ करोड अमेरिकी डलर विज्ञापनमा खर्च गरेको थियो । यसमध्ये लगभग ३ करोड डलर फेसबुक र इन्स्टाग्राममार्फत हुने प्रचारका लागि खर्चेको थियो । पछिल्ला दिनमा पराजित उम्मेदवार ह्यारिसलाई ५ करोड डलर चन्दा दिएका बिल गेट्सबाहेक सबैजसो टेक धनाढ्यहरूको ध्यान नयाँ प्रशासनसँग सम्बन्ध सुधार्नेतर्फ केन्द्रित देखिन्छ ।

(एजेन्सीको सहयोगमा)

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully