नेपालीको ‘अल्ट्राकेयर’ लाई चीनमा अवार्ड

गर्भावस्थामा देखिने जटिलताहरू समयमै पहिचान गरी उपचारमा सघाउने एआई प्रविधिमा आधारित उपकरण अवधारणामा ‘अल्ट्राकेयर’ परियोजना बनाएका नेपाली ६ विद्यार्थीको टोलीले १९ देशका ३ सय प्रतिस्पर्धीलाई उछिन्दै ‘पिपल्स च्वाइस अवार्ड’ जिते।

पुस १३, २०८१

सजना बराल

Nepali's ”Ultracare” awarded in China

काठमाडौँ — गर्भावस्थामा देखिने जटिलताहरू समयमै पहिचान गर्न सघाउने ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) मा आधारित उपकरणको अवधारणा प्रस्तुत गरेर नेपालको एक विद्यार्थी समूहले चीनमा आयोजित प्रतियोगितामा अवार्ड जितेको छ ।

सेन्जेन सहरमा भएको ‘टेक फर गुड’ प्रतियोगितामा नेपाली विद्यार्थीको समूहले ‘पिपल्स च्वाइस अवार्ड’ पाएको हो । उक्त प्रतियोगिता १९ देशका ३ सयभन्दा धेरै प्रतिस्पर्धीबीच भएको थियो । गत शनिबार काठमाडौंस्थित हुवावे नेपालले एक कार्यक्रम गरी विजेताहरूलाई अवार्ड हस्तान्तरण गर्‍यो ।

नेपाली विद्यार्थीको टोलीले प्रस्तुत गरेको ‘अल्ट्राकेयर’ नामक परियोजनाले अवार्ड जितेको हो । हात्तीसारस्थित हुवावे टावरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘टिम अल्ट्राकेयर’ का नामबाट सेन्जेनमा लोकप्रिय बनेको टोलीलाई अवार्ड हस्तान्तरण गरेका थिए ।

विजेता विद्यार्थीहरूको समूहमा काठमाडौं विश्वविद्यालय र पुल्चोक इन्जिनियरिङ क्याम्पसमा कम्प्युटर साइन्स, इलेक्ट्रोनिक इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङलगायत विषयमा स्नातक तहमा अध्ययनरत प्रियांशु शर्मा, एन्जलिना घिमिरे, समृद्धि कार्की, साधना पन्थी, आशिष कार्की, समीप अर्याल संलग्न छन् । 

नेपाली समूहले गर्भावस्थामा हुने जटिलताको यथाशीघ्र पहिचान गर्ने एआईमा आधारित ‘अल्ट्राकेयर डिभाइस’ बारे प्रतियोगितामा आइडिया सुनाउँदा धेरैले प्रशंसा गरेका थिए । एआई प्रविधिमा आधारित एक ठाउँबाट अर्को ठाउँमा लिएर हिँड्न मिल्ने ‘पोर्टेबल अल्ट्रासाउन्ड’ उपकरण सोलार पावरबाट सञ्चालन हुने गरी उनीहरूले डिजाइन गरेका छन् ।

यसले स्थानीय भाषा पनि बुझ्ने भएकाले चलाउन सजिलो हुने काठमाडौं विश्वविद्यालयमा कम्प्युटर साइन्समा स्नातक चौथो तहमा अध्ययनरत एन्जलिनाले बताइन् । ‘ग्रामीण भेगको सामाजिक समस्यालाई सम्बोधन गर्ने डिभाइस भएकाले हामीले अवार्ड जितेका हौं भन्ने लाग्छ,’ एन्जलिनाले भनिन्, ‘अवार्ड जित्नुभन्दा पनि ठूलो उपलब्धिचाहिँ त्यहाँ पाएको एक्स्पोजर थियो ।’ 

Nepali's ”Ultracare” awarded in China

ग्रामीण भेगको सामाजिक समस्या समाधान गर्ने क्षमताका कारण आफूहरूको परियोजनाले अन्तर्राष्ट्रिय स्तरमा रुचि र समर्थन पाएको ‘टिम अल्ट्राकेयर’ का अर्का सदस्य आशिषको पनि बुझाइ छ ।

‘यो परियोजनालाई व्यावसायिक उत्पादनमा बदल्न धेरै लगानी आवश्यक छ, अहिले हामी विद्यार्थीको हैसियतले यस्तो परियोजना अघि बढाउन सम्भव नभए पनि भविष्यमा यसलाई साकार बनाउने योजना छ,’ उनले भने । आशिषका अनुसार प्रतियोगितामा प्रस्तुत आइडियाहरूमध्ये १९ देशका ३ सय सहभागीहरूको भोटिङबाट विजेता छनोट गरिएको थियो । 

अल्ट्राकेयरकी अर्की सदस्य प्रियांशुका अनुसार यो उपकरणले गर्भवती महिलाहरूको स्वास्थ्य जटिलता समयमै पत्ता लगाएर तुरुन्तै उपचार गर्न सघाउँछ । ‘हाम्रै ग्रामीण क्षेत्रमा ‘अल्ट्रासाउन्ड’ उपकरणको पहुँच न्यून छ, जहाँ उपकरण उपलब्ध छन्, त्यहाँ पनि विशेषज्ञहरूको अभावले जटिल समस्याको समयमै पहिचान नहुँदा कैयौं गर्भवती महिलाले ज्यान गुमाउनुपरेको छ,’ उनले थपिन्, ‘त्यो समस्या न्यूनीकरणका लागि हामीले डिजाइन गरेको यो डिभाइस उपयोगी हुन्छ ।’ 

चीनको नानिङ, सेन्जेनजस्ता सहरका सूचना प्रविधि कम्पनी र इलेक्ट्रोनिक बजार भ्रमण गरेपछि नेपालमा पनि प्रविधिको प्रयोगमार्फत समाज रूपान्तरण गर्न सकिने अनुभव भएको प्रियांशुले बताइन् ।

‘एउटा कार्यशालामा एक जनाले ४० वर्षअघिको ग्वाङझाउको फोटो देखाउनुभएको थियो, त्यो ठाउँ ठ्याक्कै अहिलेको हाम्रो रुकुमजस्तै देखिन्थ्यो,’ उनले भनिन्, ‘अहिले ग्वाङझाउ धेरै विकसित भइसक्यो । सूचना प्रविधिको उन्नत रूप देखिन्छ । हाम्रो सरकारले पनि स्थानीय इन्नोभेसन र जनशक्तिमा लगानी गर्नुपर्छ ।’ चीनमा गुगल नचले पनि स्थानीय ‘बाइडु’ जस्तो स्थानीय प्रविधि बनाएको देख्दा नेपालले यसबाट पाठ सिक्नुपर्ने प्रियांशुको धारणा छ ।

‘दक्ष जनशक्ति विदेश पलायन भइरहेका छन्, उनीहरूलाई यहाँ बस भनेर मात्रै हुँदैन,’ प्रियांशुले भनिन्, ‘ब्रेन ड्रेन रोक्न नेपालमा नयाँ इन्नोभेसनलाई प्रवर्द्धन गर्नुपर्छ । युवालाई काम गर्ने वातावरण तयार गरिदिनुपर्छ । युवामा लगानी गर्नुपर्छ ।’ 

Nepali's ”Ultracare” awarded in China

एन्जलिनाले पनि सूचना प्रविधिमा चीन धेरै अगाडि पुगिसकेको अनुभव सुनाइन् । त्यहाँको सार्वजनिक विद्युतीय सवारी, बुलेट ट्रेन, इलेक्ट्रिक बजार, हुवावेको ‘आर एन्ड डी’ कार्यालयहरू आफूलाई अद्भुत लागेको उनले बताइन् ।

हुवावे टेक्नोलोजिजले सन् २०१९ देखि नेपालमा ‘सिड  फर द फ्युरच’ कार्यक्रम आयोजना गर्दै आएको छ । युवा विद्यार्थीलाई प्रविधि क्षेत्रमा प्रोत्साहन गर्न कार्यक्रम गरिएको कम्पनीले जनाएको छ । यस कार्यक्रमअन्तर्गत विभिन्न देशका विद्यार्थीलाई आईसीटी, नवप्रवर्तन र नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिइन्छ ।

यसमा छनोट हुने विद्यार्थीमध्ये केहीलाई ‘टेक फर गुड’ प्रतियोगितामा पठाउने र त्यहाँ विजयी हुनेले ‘ग्लोबल टेक फर गुड’ मा भाग लिन पाउनेछन् । सो प्रतियोगितामा सहभागी विद्यार्थीहरूले सामाजिक समस्याहरू समाधान गर्ने प्रविधिमूलक परियोजना तयार गर्नुपर्छ ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully