‘पहिला घरदेश अनि परदेश’ को नारासहित कन्दराले ‘घरदेश’ बाट गण्डकी, कोशी र वाग्मतीमा कन्सर्ट सकेर शनिबारदेखि लन्डनबाट ‘परदेश कन्सर्ट’ थाल्दै छ ।
लन्डन — सन् ९० को दशकमा पोखरेली ब्यान्ड ‘कन्दरा’ का गीत नसुन्ने विरलै भेटिन्छन् । कन्दराका पप गीत सुन्दै हुर्केको पुस्ता पनि ठूलो मात्रामा उनीहरूको जबर्जस्त फ्यान छन् । ‘हङकङ पोखरा’ सहित ‘तिमी पारि’, ‘चञ्चले कान्छी’, ‘लेककी हे माया’, ‘तगारोमा रुमाल राखी’ जस्ता लोक स्वादका हिट पप गीत दिएको कन्दरा ब्यान्ड दर्शक–श्रोताको मन जित्न सफल छ ।
चर्चा र प्रसिद्धिको शिखरमा छँदै ब्यान्डका सदस्य छिन्नभिन्न भएर सेलाएको कन्दरा ३२ वर्षको अन्तरालपछि पुनः जुर्मुराएको छ । गत कात्तिक २४ मा कन्दराले काठमाडौंको एक क्लबमा आफ्नो सांगीतिक प्रस्तुति दिएर ‘कमब्याक’ जनाएको छ ।
अब भने कन्दरा ब्यान्ड कन्सर्टमा केन्द्रित भएको छ । ‘पहिला घरदेश अनि परदेश’ को नारासहित कन्सर्ट थालनी गरेको यस ब्यान्डले देशका विभिन्न सहरमा पुगेर ‘कन्सर्ट कल्चर’ लाई जगाइरहेको छ । आन्तरिक र बाह्य पर्यटनलाई बढावा दिने उद्देश्यका साथ कन्दराले देश घुम्न, देश बुझ्न भन्दै ‘घरदेश’ अन्तर्गत गण्डकी, कोशी र वाग्मती प्रदेशमा आफ्ना प्रस्तुति दिइसकेको छ ।
कन्दराले कन्सर्टमार्फत गरेको सांगीतिक ‘कमब्याक’ लाई श्रोता, दर्शकले पनि न्यायो साथ दिइरहेका छन् । सन् २०२४ सम्म ‘घरदेश’ मा कन्सर्ट गरेको कन्दरा अंग्रेजी नयाँ वर्षसँगै विदेश यात्रामा निस्कने छ । कन्दराले आउँदो शनिबार (जनवरी ४) लन्डनस्थित विश्व प्रतिष्ठित भेन्यु ‘इन्डिगो एट द ओटु’ लाई गुल्जार बनाउने तयारीमा छ ।
उक्त भेन्युमा यसअघि विश्व चर्चित कलाकारहरू जस्टिन बिबर, इड सिरन, रक ब्यान्ड कोल्ड प्लेलगायतले समेत प्रस्तुति दिइसकेका छन् । कन्दराले ब्यान्ड गठनको ३२ औं वर्षगाँठ पनि त्यहीं मनाउने छ । ‘पहिला आफ्नै घरदेश चिनौं अनि परदेशमा आफ्नो पहिचान बोकौं, आफ्नो देशको सुगन्ध फैलाऔं,’ कन्दराका गायक विवेक श्रेष्ठले भनेका छन् । कन्दराको विश्व टुरअन्तर्गत लन्डन शो परदेशमा पहिलो प्रस्तुति हुनेछ ।
बेलायतको मामाघर इन्टरटेनमेन्टले गायक श्रेष्ठसहित कन्दरा ब्यान्डलाई ‘इन्डिगो एट द ओटु’ मा उतार्न लागेको हो । मामाघरले कन्दरासहित गायक स्वप्न सुमन र उनको ब्यान्ड ‘द आस्टर्स’ लाई पनि सँगै प्रस्तुत गर्न लागेको हो । जसमा कन्दरा र द आस्टर्स ब्यान्डका ७/७ जना कलाकारहरू यही बिहीबार लन्डन आउँदै छन् ।
गायक स्वप्न सुमन अहिलेको छिमलका चर्चित गायकमा पर्छन् । ‘नढाक न मुहार शृंगारले’, ‘वाचा भयो’, ‘जे छौ तिमी’ जस्ता कैयौं हिट गीत दिइसकेका उनी अहिलेको युवामाझ निकै लोकप्रिय छन् ।
‘म आफैं पनि कन्दराको फ्यान हुँ, उनीहरूले परदेशमा सांगीतिक कार्यक्रम गर्ने सुनेपछि लन्डन कन्सर्टका लागि कुराकानी अघि बढायौं,’ मामाघर इन्टरटेनमेन्टका निर्देशक विमल तिमिल्सेनाले भने, ‘परदेशको पहिलो कन्सर्ट नै लन्डनबाट सुरु गर्ने गरी सम्झौता फाइनल भयो ।
त्यसपछि ३२ वर्षपछि फर्किएको कन्दराको कन्सर्टलाई ग्रान्ड बनाउनुपर्छ भन्ने लागेरै ओटुमै गर्ने निर्णय गरेका हौं ।’ निर्देशक तिमिल्सेनाले गएको दसैंमा नै कन्दरालाई लन्डन ल्याउने योजना बनाए पनि त्यसबेला सम्भव नभएको पनि सुनाए । भने, ‘त्यो बेला मिलेन तर अब नयाँ वर्षमा यसलाई थप बृहत् बनाउन पाएका छौं ।’
लन्डन कन्सर्टका लागि कन्दरा र द आस्टर्स ब्यान्डले लाइभ म्युजिक कन्सर्टको अवधारणामा सबै सदस्यसहित बिहीबार लन्डन आउन लागेको हो । नेपालबाटै दुई ब्यान्डका सदस्यसहितको जम्बो टोलीलाई लन्डन उतार्न लागेका निर्देशक तिमिल्सेनाले इभेन्ट खर्चालु हुने भए पनि ऐतिहासिक बन्नेमा आशावादी रहेको बताए । आयोजकले उक्त कन्सर्टमा झन्डै ८० हजार पाउन्ड खर्च हुने अनुमान गरेको छ ।
लन्डन कन्सर्टलाई स्वप्न सुमनको ब्यान्डले सुरुवात गर्दै एक घण्टा माहोल तताएपछि कन्दराको प्रस्तुति रहने आयोजकले बताएको छ । कन्सर्टमा कुनै औपचारिक कार्यक्रम नभए पनि कन्दराको ३२ वर्षको ‘सेलेब्रेसन’ भने विशेष गरिने मामाघर इन्टरटेनमेन्टले जनाएको छ ।
कन्सर्ट हेर्न युरोप, स्कटल्यान्डदेखि इंग्ल्यान्डको मिडल्यान्ड, वेल्सलगायत सहरबाट समेत दर्शक आउने बताइएको छ । २ हजार ७ सय ५० दर्शक क्षमता रहेको इन्डिगो एट द ओटुमा भीआईपी किंग्स रोमा २ सय १८, बाल्कोनीमा ५ सय ५९ र स्ट्यान्डिङ १८ सय दर्शक अट्छन् ।
कन्दराले लन्डन टुर लगत्तै दुबईमा प्रस्तुति दिने बताइएको छ । त्यसपछि मार्च–अप्रिलमा अस्ट्रेलिया र न्युजिल्यान्ड, मेमा अमेरिका, जुनमा क्यानडा र जुलाई–अगस्टमा युरोपका विभिन्न देशपछि अगस्ट–सेप्टेम्बरमा जापानमा आफ्नो सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय भइसकेको ब्यान्डले जनाएको छ । साथै, कतार र सिंगापुरमा पनि सांगीतिक प्रस्तुति दिने योजना बनिरहेको बताइएको छ ।
नयाँ वर्षमा नयाँ गीत ल्याउँदै
परदेश कन्सर्ट थाल्नुअघि कन्दरा सांगीतिक समूहले अंग्रेजी नयाँ वर्षको पहिलो दिनमा नै बुधबार नयाँ गीत ‘हुनेछ : द सङ अफ होप’ सार्वजनिक गर्ने भएको छ । गीतको शब्द तथा संगीत ब्यान्डका ड्रम वादक सुनील थापाले तयार पारेका हुन् । उक्त गीतलाई आशा र प्रेरणा दिने सन्देशका रूपमा प्रस्तुत गर्न लागिएको कन्दराले जनाएको छ ।
‘देशमा सकारात्मक परिवर्तन ल्याउन प्रत्येक व्यक्तिले आफ्नो सोच, व्यवहार र आचरणमा सुधार गर्नुपर्ने विचारलाई यो गीतले जोड दिन खोजेको छ,’ कन्दराका मुख्य गायक विवेक श्रेष्ठले बताए । उनले नयाँ गीतले कन्दराको पछिल्लो सांगीतिक यात्रामा सुनौलो अध्याय थप्ने अपेक्षा गरिएको बताए ।
पश्चिमा शैलीको पप गीतमा नेपाली लोकलय मिसाउँदै गीत सिर्जना गर्ने यो ब्यान्डले आफ्नो मौलिकता कायम राख्दै श्रोतामाझ विशिष्ट स्थान बनाउन सफल भएको मानिन्छ । कन्दरा सांगीतिक समूहमा हाल भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनील थापा, लिड गितारमा देव लामा, बास गितारमा पंकज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन् ।
ड्रम्समा रहेका सुनील ब्यान्डका स्थापना कालदेखिका सदस्य हुन् । त्यसैगरी प्रमुख भोकलिस्ट विवेक पनि १४ वर्ष विदेशमा रहेर पछिल्लो समय पुनः ब्यान्डमा फर्किएपछि कन्दराले नयाँ जीवन पाएको हो ।
