काठमाडौँ — भुटानी नेपाली समुदायको सांस्कृतिक पृष्ठभूमिमा आधारित प्रेमकथामार्फत पहिचान, संघर्ष र प्रेमका गहिरा भावनाहरूलाई प्रस्तुत गरिएको गीत ‘सानुमाया’ को भिडियो सार्वजनिक गरिएको छ ।
भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको उक्त म्युजिक भिडियोले नेपाली मूलका भुटानी समुदायको सांस्कृतिक महत्त्व र समाजलाई प्रस्तुत गरेको छ ।
पहिचानको अभाव, प्रेम र करियरबीचको द्वन्द्व र सामाजिक संघर्ष गरिरहेका भुटानीको भावनालाई उजागर गरिएको ‘सानुमाया’ को निर्देशन तथा कथा लेखन विवेक रसाइलीको हो । भिडियोमा अभिनेत्री मिरुना मगरसहित कलाकार दीपक रसाइली र प्रेम सुब्बाले अभिनय गरेका छन् ।
भिडियोमा मिरुनाले प्रेम र करियरबीचको संघर्षमा सामाजिक पहिचानको संकट बोकेकी एक युवतीको भूमिका निर्वाह गरेकी छन् । विजय बस्याल कार्यकारी निर्माता रहेको यस भिडियोलाई उज्ज्वल जोशीले खिचेका हुन् ।
