फरक पहिचान, फरक चुनौती

समाजमा फरक पहिचान बोकेका एरोन, छेसाङ र निशा घरभित्रै सीमित छैनन्, आफूलाई स्वीकार गर्दै बलियो आत्मविश्वाससहित समाजमा अघि बढिरहेका छन्, तैपनि घर, समाजको विवाह, सन्तानजस्ता परम्परागत मान्यताका कारण अझै अवस्था चुनौतीपूर्ण रहेको उनीहरू बताउँछन्

पुस २०, २०८१

सुजाता मुखिया

Different identities, different challenges

काठमाडौँ — मेकअप आर्टिस्ट र डान्सरको परिचय बनाउन एरोन तण्डुकारले निकै कठिन यात्रा तय गरेका छन् । स्कुल पढ्दाका दिनहरू त झन् उनका लागि दुःस्वप्नजस्तै थिए । केटासाथीहरूले बुली गर्ने, बिनाकारण कुटपिट गर्ने र कहिलेकाहीं त कुटाइले बिरामीसमेत पर्ने उनी ।

 त्यतिबेला न शिक्षकहरूको सहयोग थियो, न त अभिभावकहरूसँग यी पीडाहरू बाँड्ने साहस नै । शिक्षकहरूले समेत छेउमा आएर प्राइभेट अंगमा छुने प्रयास गर्ने गरेको बाल्यकालको त्यो दुःखद् अनुभवले उनको पढाइमा गम्भीर असर पारेको थियो ।

प्लस टु पढ्दासम्म आफूलाई गुम्साएर राखेका एरोन पछि भने विभिन्न संघसंस्थामा आबद्ध भए । त्यहीँबाट उनले आफ्नो लैंगिक पहिचानलाई चिन्न थाले । ‘म फरक छु भनेर मैले महसुस गरेँ । म मात्रै होइन, मजस्ता धेरै रहेछन् भन्ने पनि थाहा पाए,’ एरोन अहिले आफ्नो पहिचानप्रति गर्व गर्दै भन्छन् । मेकअप र ड्रेसअपले यतिबेला उनलाई स्वतन्त्रता प्रदान गरेको छ ।

छेसाङ घिसिङ पाटन मल्टिपल कलेजबाट स्नातक अध्ययन गरिरहेका छन् । विद्यार्थीसँगै उनी क्वेयर युथ ग्रुपको प्रोग्राम अफिसर पनि हुन् । स्कुले दिनहरूमा छेसाङलाई आफ्नो पहिचानप्रति नै अन्योल थियो । केटाहरूको समूहमा सहज महसुस भए पनि समाजले केटीको भूमिकामा राख्ने प्रयास गर्दा उनी अप्ठ्यारो महसुस गर्थिन् ।

‘त्यो समयमा इन्टरनेटको पहुँच नभएकाले पर्याप्त जानकारी लिन सकिँदैन थियो,’ उनी भन्छिन् । कक्षा १० को पढाइ सकिएपछि उनले आफ्नो केस छोटो गरेर आफूलाई पहिचान गर्ने निर्णय गरिन् । अचेल छेसाङ एलजीबीटीक्यूप्लस समुदायका लागि सशक्त अभियन्ताका रूपमा चिनिन्छिन् ।

पद्मकन्या क्याम्पसबाट स्नातक तहमा अध्ययनरत निशा चौहान आफ्नो पहिचानलाई पहिले त ‘मानिस’ का रूपमा देख्छिन् । किशोरावस्थामा आफूलाई केटा मनपर्ने ठाने पनि समयसँगै उनले आफू बाइसेक्सुअल भएको महसुस गरिन् ।

‘म प्रेमलाई लिंगसँग जोड्न चाहन्नँ,’ उनी भन्छिन्, ‘आफ्नो जीवनसाथी केटा वा केटी यही नै हुनु पर्दछ भन्ने सोच राख्दिनँ ।’ उनी अहिले प्रेमलाई व्यक्तिका गुण र भावनाअनुसार हेर्छिन् । एरोनले आफ्नो पहिचानलाई सहज रूपमा स्विकारे ।

‘म यो हो वा त्यो हो भनेर भन्न परेन । मेरो व्यवहारले नै सबैले थाहा पाए,’ उनी सुनाउँछन्, ‘आफन्त बहिनीलाई भने सबै कुरा खुलेर सेयर गर्थें ।’ एक दिन एरोनका बुबाले उनको मोबाइलमा राखेको भिडियो देखेपछि ‘यो गे भनेको के हो ?’ भनी सोधे ।

यही मौकामा एरोनले आफ्नो बाल्यकाल र विद्यालयमा आफूले भोगेका सबै कथा सेयर गरे । परिवारलाई सबै कुरा बताएपछि उनका बुबाले मात्र एउटा प्रश्न गरे, ‘तिमी विवाह गर्छौ कि गर्दैनौ ?’ एरोनले तत्काल विवाहप्रति चासो नभएको बताए । तर परिवारमा ‘वंश अगाडि बढाउनुपर्ने’ कुरा बारम्बार उठ्ने गर्छ । ‘ड्याडी ममीलाई नातिनातिनी खेलाउन मन छ, तर म यो कुरा कसरी बुझाउने ?’ उनी भन्छन् ।

छेसाङले कक्षा १० को पढाइ सकिएपछि केस छोटो बनाउन जिद्दी गरिन् । ‘ममीलाई धेरै समय कन्भिन्स गरेपछि पैसा दिनुभयो । म केस काट्न गएँ । केस काट्दै गर्दा मेरो आँखा अनायासै रसाए । आफैंलाई स्वीकार गर्नु पनि गाह्रो हुने रहेछ,’ उनी सम्झिन्छन् ।

हाम्रो समाज ‘एक छोरा र एक छोरी’ भएकोलाई सुखी परिवारको रूपमा हेर्छ । आफ्नो पहिचानले त्यो ‘सुखी परिवार’ को छवि तोड्ने हो कि भन्ने डर उनीभित्र भइरहन्थ्यो । तर, जब छेसाङले आफ्ना कुरा आमाबाबुसँग सेयर गरिन्, परिवारले उनलाई खुलेर समर्थन गर्‍यो ।

निशा भने आफ्नो पहिचानलाई आत्मविश्वासका रूपमा लिन्छिन् । भन्छिन्, ‘अरूले जे सोच्छन्, त्यसबारे मलाई चासो छैन ।’ उनका अभिभावकले पनि उनलाई पूर्ण साथ त दिएका छन् तर विवाह र सन्तानप्रतिको प्रश्न भने बारम्बार उठ्छ ।

‘विवाह त गर्छौ होला नि ?, बच्चा त पाउँछौ होला नि ?, परिवारको वंश त अगाडि बढाउँछौ होला नि ?’ भन्ने प्रश्न अभिभावकबाट उनलाई बरोबर आइरहन्छ । उनी भन्छिन्, ‘समलैंगिक विवाहप्रतिको आपत्ति यसै कारणले हो जस्तो लाग्छ, किनकि उनीहरूलाई बच्चा हुँदैन भन्ने लाग्छ ।’

एरोन, छेसाङ र निशालगायतका अनुभवले हाम्रो समाजमा यौनिकता र लिंग पहिचानप्रतिको दृष्टिकोण बदल्न योगदान पुर्‍याएको छ । फरक पहिचानलाई स्विकार्नुपर्ने चुनौती र समाजको दृष्टिकोण बदल्ने आवश्यकता प्रस्ट पार्छ ।

एरोनलाई स्कुलदेखि नै समाजका नकारात्मक दृष्टिकोणले सताइरहन्थ्यो । मानिसहरूले होच्याएको शब्द प्रयोग गरेर बोलाउँदा नराम्रो लाग्थ्यो । ‘राति एक्लोपनले झन् गहिरोसँग सताउँथ्यो,’ उनी सम्झन्छन्, ‘म किन यस्तो भएँ ?, स्ट्रेट भएको भए ममी–ड्याडीलाई गर्व महसुस गराउन सक्थेँ, उहाँहरूले शिर झुकाएर हिँड्न पर्दैनथ्यो भन्ने लागिरहन्छ ।’

एक दिन छेसाङ हिँडिरहेको बेला ‘केटा हो कि केटी हो ?’ भन्ने टिप्पणीले गहिरो चोट दिएको अझै सम्झन्छन् । ‘त्यो प्रश्नले मलाई केही समयसम्म फस्ट्रेसन र बेचैनी गरायो,’ उनी भन्छन् । यही कारण पनि एलजीबीटीक्यूप्लस समुदायमा डिप्रेसन र एन्जाइटीका समस्या व्यापक देखिने गरेको उनी सुनाउँछन् ।

‘हाम्रो समुदायमा प्रेम सम्बन्ध बनाउनु र जीवनसाथी पाउनु निकै चुनौतीपूर्ण हुन्छ । त्यसैले हामीले आत्मविकास (सेल्फग्रोथ) लाई प्राथमिकता दिनुपर्छ,’ उनी सुझाउँछन् । उनका अनुसार, स्ट्रेट मानिसहरूले परिवार बनाउने र जीवन सजिलै अघि बढाउने मौका पाउँछन्, तर लैंगिक अल्पसंख्यक समुदायलाई यस्तो बाटो सहज छैन ।

निशालाई समाजका हेयपूर्ण शब्दहरूले मन दुखाउँछ । ‘त्यसरी बोलाउँदा हामीलाई कस्तो महसुस हुन्छ होला भनेर सोचिदिने कोही हुँदैनन्,’ उनी भन्छिन् । समाजमा बस्दा अरूले के भन्छन् भनेर तनाव लिइरहनुपर्ने कारणले गर्दा पनि मानसिक समस्या हुने गरेको उनी औंल्याउँछिन् । ‘समलैंगिक विवाह कानुनी रूपमा मान्य भएपछि खुसी त छु, तर हाम्रो समाज ढिलो भएकोले अझै चुनौती छ,’ उनी बताउँछिन् ।

एरोन, छेसाङ र निशाका अनुभवहरूले एलजीबीटीक्यूप्लस समुदायमा मानसिक स्वास्थ्यको चुनौती सामाजिक दृष्टिकोण र पूर्वाग्रहले पनि बढाइएको छ । समाजले उनीहरूको पहिचानलाई सहज रूपमा स्वीकार गर्दै समान अवसर र सम्मान प्रदान गर्न सक्यो भने यी समस्या कम हुन सक्छन् । मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आत्मविकास र सकारात्मक समर्थनको वातावरण सिर्जना गर्न आवश्यक रहेको उनीहरू बताउँछन् ।

युवा ग्यालरी

सुजाता मुखिया कान्तिपुरको नारी मासिकमा कार्यरत पत्रकार हुन् ।

Link copied successfully