२०५५ मा धर्मश्री उपाधि जितेका जीवन नेपालमा ‘स्ट्रेन्थ लिफ्टिङ’ खेललाई लोकप्रिय बनाउन सक्रिय छन्
कपिलवस्तु — कपिलवस्तु नगरपालिका–५, सागरटोलका ५० वर्षे जीवन गिरी २०४५/४६ सालतिरै सदरमुकाम तौलिहवास्थित गौढी चोकमा रहेको कभर्ड हलमा सितोरियो कराँते खेल्थे । उनका साथी भने त्यहीं ‘वेट लिफ्टिङ’ गर्थे । त्यसपछि उनी पनि त्यतै आकर्षित भए । तर, साधन स्रोत नहुँदा उनलाई निकै समस्या भयो ।
राम्ररी अभ्यास गर्न नपाउँदा केही गर्न सकिँदैन कि जस्तो लाग्यो । जुक्ति निकाले, १०, २० र ३० किलोका दुई/दुई वटा गिट्टी र बालुवामा सिमेन्ट राखेर डम्बेल बनाए । त्यसैबाट अभ्यास गर्न थाले । निरन्तरको लगन र मिहिनेतले शारीरिक सुगठनको राष्ट्रियदेखि स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियन बने ।
अहिले उनले खेलबाट धेरै गर्न सकिन्छ भन्ने देखाएका छन् । उनले स्ट्रेन्थ लिफ्टिङबाट देशकै नाम विश्वमाझ चिनाउन पाउँदा खुसी लागेको बताउँछन् । उनी नेपालमा शारीरिक सुगठनको ओलम्पिक मानिने धर्मश्री उपाधि विजेतादेखि स्ट्रेन्थ लिफ्टिङमा अन्तर्राष्ट्रिय च्याम्पियनसमेत हुन् । उनी वर्ल्ड स्ट्रेन्थ लिफ्टिङ फेडेरेसनद्वारा भारतको हैदराबादमा सन् २०२३ मा आयोजित १० औं वर्ल्ड च्याम्पियनसिप प्रतियोगितामा
१ सय १५ किलोभन्दा बढी तौल समूहमा अमेरिकन खेलाडीलाई पराजित गरेर च्याम्पियन बनेका थिए । प्रतियोगितामा १९ देशका खेलाडी सहभागी थिए । स्ट्रेन्थ लिफ्टिङको राम्रो र उत्कृष्ट खेलाडी हुँदा उनी स्ट्रेन्थ लिफ्टिङको अन्तर्राष्ट्रिय जज (रेफ्री) को मान्यता पनि पाएका छन् । २०२४ मा कजाकस्तानमा भएको ११ औं वर्ल्ड च्याम्पियनसिप प्रतियोगितामा उनी रेफ्री थिए ।
सुरुमा जीवनले ०५१ मा भैरहवामा आयोजित शारीरिक सुगठनको मिस्टर लुम्बिनीमा भाग लिएका थिए । उनी प्रथम भए । ०५५ मा उनले शारीरिक सुगठनको महत्त्वपूर्ण प्रतियोगितामा धर्मश्री उपाधि जितेका थिए । उनले ‘ओलम्पियन जिम क्लब’ बाट २०५२ मा लुम्बिनी अञ्चलस्तरीय मिस्टर लुम्बिनी र २०५४ मा पश्चिमाञ्चल विकास क्षेत्रस्तरीय मिस्टर पश्चिमाञ्चल प्रतियोगिता गराएका थिए ।
सन् १९९९ मा भारतको नासिकमा आयोजित प्रथम दक्षिण एसियाली बडीबिल्डिङ प्रतियोगितामा गिरीसहित ३ जनाले देशका लागि पदक दिएका थिए । बडीबिल्डिङको दक्षिण एसियालीस्तरको पहिलो पदक उनीसहितको टोलीले भित्र्याएको थियो ।
धर्मश्रीसहित विभिन्न उपाधि जित्दै गएपछि उनी जिम कोच बनेर साउदी अरब गए । त्यहाँबाट बहराइन पुगे । सन् २००० देखि १५ वर्षसम्म विदेशमा काम गरेर नेपाल फर्के । त्यसपछि फेरि जिममा लागे । सन् २०१९ मा बुद्धस्थल तिलौराकोटको प्रचारप्रसार गर्न कपिलवस्तु श्री राष्ट्रिय प्रतियोगिता आयोजना गरे ।
खेलाडीले नै खेल र नवप्रतिभालाई बढी प्रोत्साहन गर्ने भन्दै उनी नेतृत्वदायी भूमिकामा पनि उत्तिकै सक्रिय छन् । शारीरिक सुगठन कपिलवस्तु जिल्ला अध्यक्ष हुँदै उनी २०२० मा ‘वर्ल्ड पावर लिफ्टिङ फेडरेसन’ (डब्लूपीएफ) एसियाका उपाध्यक्षसमेत भए । अहिले उनी ‘वर्ल्ड स्ट्रेन्थ लिफ्टिङ एसोसिएसन’ को कार्यकारी समितिका सदस्य छन् ।
उनी नेपाल स्ट्रेन्थ लिफ्टिङ एसोसिएसनका संस्थापक महासचिव पनि हुन् । जीवनकै पहलमा सन् २०२३ मा काठमाडौंमा स्ट्रेन्थ लिफ्टिङको अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता भएको थिए । नेपालसहित भारत, पाकिस्तान, ताजकिस्तान र किर्गिस्तानका खेलाडी सहभागी थिए ।
भारतको हरियाणामा यसै सातादेखि सुरु ३४ औं राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा जीवन निर्णायक हुन् । सुन्दर मुहार, आकर्षक शरीर र गठिलो जीउडाल बनाएका उनलाई पछिल्लो समय फिल्म खेल्नसमेत आग्रह आइरहेको छ । राजेन्द्र खड्गीले निर्माण गर्न लागेको फिल्म ‘सेभेन भिलेन’ मा उनी देखिने भएका छन् । लुम्बिनी प्रदेश सरकारले उनलाई खेल क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ०७९ मा प्रदेश रत्न विभूषण पनि प्रदान गरेको थियो ।
